शिक्षा

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

इकागज |
असोज २, २०८० मंगलबार १२:२४ बजे

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा विरोध जनाउँदै महासंघले घोषणा गरेको आन्दोलन रोक्नका लागि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आवह्वान गरेको थियो ।

 तर, उक्त वार्तामा नजाने निर्णय भएको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले इकागजलाई जानकारी दिइन् । ‘मन्त्रालयले बोलाएको वार्तामा हामी सहभागि हुँदैनौँ,’ नेपाल शिक्षक महासंघका अध्यक्ष तुलाधरले भनिन्, ‘हाम्रो तय भएको आन्दोलन रोकिदैन् । हामी कुनै पनि वार्तामा बस्न तयार छैनौँ ।’ 



महासंघले वार्तामा बस्नु परेमा सरकार प्रमुख, विषय समितिको सभापति र सबै दलका प्रमुख सचेतक सहितको टोलीसँग मात्रै वार्ता गर्ने उनले बताइन् । ‘वार्तामा बस्नु परेमा हामी सरकार प्रमुख, विषय समितिको सभापति र सबै दलका प्रमुख सचेतक सहितको टोलीसँग मात्रै बस्छौँ,’ उनले भनिन्, ‘धेरै पटक जाल झेलमा परिसक्यौँ । अब वार्ताका नाममा झुक्किदैनौँ ।’

महासंघले देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरूलाई माइतिघरमा  आन्दोलनमा उत्रनका लागि आवह्वान गरेको छ । सरकारले ल्याएको विधेयकमा रहेका विभिन्न प्रावधानमा असहमति जनाउँदै महासंघले १८ वटा माग राखेर आन्दोलनको घोषणा गरेको हो ।  उक्त आन्दोलन रोक्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार वार्ताका आह्वान गरेको थियो ।
 


Author

थप समाचार
x