क्रिकेट

लोकेशले शतक हिर्काउँदा पनि आयरल्यान्ड उल्भ्ससँग नेपाल 'ए' पराजित

इकागज |
चैत १६, २०८० शुक्रबार १६:३८ बजे

काठमाडौँ- घरेलु टोली नेपाल 'ए' ले आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा पराजय भोगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई २१ रनले पराजित गरेको हो ।


२ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल 'ए' ले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय १ रन बनायो ।

नेपाल 'ए' का लागि लोकेश बमले ५६ बलमा ९ चौका र ८ छक्काको मदतमा १ सय ६ रन जोडे पनि जितका लागि पर्याप्त भएन । आरिफ शेखले ४९ रनको योगदान गरे ।

आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु हमफ्रिसले ३, फियोन ह्यानले ३, म्याथ्यु फोस्टरले २ तथा थोमस मयस र गाभिन होएले १-१ विकेट हात पारे ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको हो ।

आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले ४९, केड कार्मीकायलले ३८ तथा स्टेफेन डोहेनीले ३४ रन बनाए । कप्तान निल रकले ३८ रन तथा गारेथ डिलानीले ३० रनको योगदान गरे ।

नेपाल 'ए' का लागि कमल ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले १-१ विकेट हात पारे ।

यी दुई टोलीबीचको दोस्रो खेल शनिबार तथा तेस्रो खेल सोमबार हुने तालिका रहेको छ ।


Author

थप समाचार
x