क्रिकेट

एसीसी प्रिमियर कपः नेपालले भोलि साउदी अरेबियाविरुद्ध खेल्ने

इकागज |
बैशाख ४, २०८१ मंगलबार १७:३८ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले भोलि साउदी अरेबियाको सामना गर्ने भएको छ ।

समूह 'ए' अन्तर्गतको नेपाल र साउदी अरेबियाबीचको खेल अल अमेरातमा नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यस समूहअन्तर्गत नेपालले खेलेका अघिल्ला तीनवटै खेलमा जित हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा कतारलाई ३२ रनले निराश तुल्यायो । नेपालले तेस्रो खेलमा हङकङलाई ८ विकेटले पाखा लगायो ।

साउदी अरेबियाले भने ३ मध्ये एक खेलमा जित हात पार्दा दुई खेलमा पराजय भोगेको छ । सेमिफाइनलमा प्रवेश गर्न साउदी अरेबियाले नेपाललाई पराजित गर्नुका साथै मलेसिया र हङकङबीचको खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

अर्कोतर्फ ४ मध्ये २ खेलमा जित हात पारेको कतारको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।


Author

थप समाचार
x