क्रिकेट

अर्जुन र रिजनलाई हटाएर क्यानले किन अनिल र देवलाई टिममा राख्यो ?

सञ्जीव शाह |
फागुन २, २०८० बुधबार ११:५४ बजे

तस्बिरः क्यान

काठमाडौँ- बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को पहिलो चरणको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ टिमको घोषणा गरेको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित सिरिजका लागि क्यानले गत फेब्रुअरी ४ मा नै १५ सदस्यीय टिमको घोषणा गरेको थियो ।


उक्त टिममा  कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, आरिफ शेख, पवन सर्राफ, भिम सार्की, रिजन ढकाल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङलाई समेटेको थियो ।

उक्त टिमका लागि अनिल साह, देव खनाल, प्रतिश जिसी र बिबेक यादव रिजर्भमा रहेका थिए ।

तर क्यानले बुधबार घोषणा गरेको नयाँ टिममा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भिम सार्की, देव खनाल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

नयाँ टिममा अर्जुन साउद र रिजन ढकाल भने अटाएका छैनन् ।

खासमा लिग-२ को तयारी स्वरुप नेपालले त्रिवि क्रिकेट मैदानमा क्यानाडाविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

नेपालले क्यानाडाविरुद्धको सिरिज 'क्लिन स्विप' गर्दा अनिल साहले अन्तिम खेलमा शतक पूरा गरे । उनले १ सय १२ रनको योगदान गरे । दोस्रो खेलमा नेपालले क्यानाडालाई ४ विकेटले हराउँदा अनिलले १९ बलमै अर्धशतक पूरा गरेका थिए ।

त्यसअघि भएको पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशबाट खेलेका अनिल प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले एक शतक र दुई अर्धशतकको मदतमा ९ खेलमा ३ सय ८६ रन समेत बनाएका थिए ।

यता क्यानाडाविरुद्धको सिरिजको पहिलो खेल गुमाएका देव खनालले दोस्रो खेलमा क्यानाडाविरुद्ध ७६ रन बनाएका थिए । उनले कप्तान रोहित पौडेल (८७ रन) सँग १ सय ५० रनको साझेदारी समेत गरेका थिउ । देवले अन्तिम खेलमा भने ब्याटिङ गर्न पाएनन् ।

देवकै कप्तानीमा नेपाली यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी यू-१९ क्रिकेट टिमलाई सुपर सिक्ससम्मको यात्रा तय गरेको थियो ।

यू-१९ क्रिकेट विश्वकपमा नेपालले समूह चरणमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दा देवले ५८ रनको योगदान समेत गरेका थिए । देवले भारतविरुद्ध पनि ३३ रन बनाएका थिए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x