क्रिकेट

टी-ट्वान्टी विश्वकप : नेपालका लागि बंगलादेशलाई पराजित गर्ने अर्को सुनौलो अवसर

सञ्जीव शाह |
पुस २२, २०८० आइतबार १३:४ बजे

तस्बिरः क्यान र क्रिकइन्फो

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजले आगामी जुनमा संयुक्त रुपमा आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप आयोजना गर्दैछ । जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाल समूह 'डी' मा परेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् ।

समूह 'ए' मा भारत, पाकिस्तान, अमेरिका, क्यानाडा र आयरल्यान्ड छन् । समूह 'बी' मा भने इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान तथा समूह 'सी'मा न्यूजिल्यान्ड, अफगानिस्तान, युगान्डा, पपुवा न्यूगिनी र वेस्ट इन्डिज छन् ।


समूह चरणअन्तर्गत नेपालले दुई खेल अमेरिका र दुई खेल वेस्ट इन्डिजमा खेल्ने तालिका रहेको छ । नेपालले पहिलो खेल अमेरिकामा नेदरल्यान्ड्सविरुद्ध जुन ४ तथा दोस्रो खेल श्रीलंकाविरुद्ध जुन ११ मा खेल्नेछ ।

त्यसपछि वेस्ट इन्डिजमा तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन १४ तथा समूह चरणको अन्तिम तथा चौँथोँ खेल बंगलादेशविरुद्ध जुन १६ मा खेल्ने तालिका रहेको छ ।

खासमा नेपाल रहेको समूहमा तीन टेस्ट राष्ट्रहरू दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । तीमध्ये बंगलादेश र श्रीलंका भने दक्षिण एसियाली मुलुक हुन् । तर नेपालले श्रीलंकासँग खेल्ने अवसर पाएको छैन । नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भने दक्षिण अफ्रिकाविरुद्ध पनि खेलेको इतिहास छैन ।

नेपालले केवल एकपटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा बंगलादेशसँग खेल्ने अवसर पाएको छ । सन् २०१४ मा नेपालले पहिलोपटक आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागिता जनाउँदा आयोजकको रुपमा रहेको बंगलादेशको सामना गरेको थियो ।

तर उक्त खेलमा बंगलादेशले नेपाललाई ८ विकेटले निराश तुल्याएको थियो । नेपाल क्रिकेट संघ (क्यान) का वर्तमान सचिव पारस खड्काको कप्तानीमा रहेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन जोडेपनि बंगलादेशले १ सय २७ रनको लक्ष्य १५ ओभर ३ बलमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो ।

उक्त खेलमा नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन तथा शरद भेषावकरले ४० रन बनाएका थिए ।

तर सन् २०१४ मा बंगलादेशविरुद्ध खेलेको नेपाली टिमका केवल एक सदस्यले मात्र यसपटक विश्वकप खेल्ने र बंगलादेशविरुद्ध पुनः मैदानमा उत्रने अवसर पाउने सम्भावना रहेको छ । सन् २०१४ मा बंगलादेशविरुद्ध खेलेका सोमपाल कामीले मात्र यस वर्षको विश्वकप खेल्ने सम्भावना रहेको छ ।

सन् २०१४ मा नेपालले विश्वकपमा बंगलादेशको सामना गर्दा नेपालसामू ठूला देशविरुद्ध खेल्ने खासै अनुभव थिएन ।

तर अहिलेको अवस्था भने फरक रहेको छ । नेपालले टी-ट्वान्टी तथा एकदिवसीयमा विश्वका ठूला तथा अनुभवी टिमसँग खेल्ने अवसर पाउँदै आएको छ भने खेलाडीहरूले क्षमता पनि विकास गरिरहेका छन् ।

चीनमा गत अक्टोबरमा भएको १९औँ एसियन गेम्समा पनि नेपालले भारतविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थियो र भारतलाई पराजित गर्ने अवस्थासम्म पुगेको थियो ।

क्वार्टरफाइनल खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाउँदा केवल २३ रनले पछि परेको थियो ।

भारतविरुद्ध दिपेन्द्र सिंह ऐरीले १५ बलमै ३२ रन तथा सन्दीप जोराले १२ बलमै २९ रन बनाएका थिए । दिपेन्द्रले ४ छक्का हिर्काउँदा सन्दीपले १ चौका र ३ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले भारतविरुद्ध २ विकेटसमेत हात पारेका थिए ।

गत वर्ष नै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै शीर्ष वरियताका टिमसँग अनुभव साट्ने अवसर पनि पाएको थियो । त्यसअघि पनि वेस्ट इन्डिज, जिम्बाब्वे र आयरल्यान्ड जस्ता टिमसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो ।

पछिल्लो समय पाएको अवसर र अनुभवका कारण यस वर्षको विश्वकपमा नेपालले अप्रत्याशित नतिजा निकाल्ने सम्भावना पनि प्रवल छ । र बंगलादेशसँग यसअघि पनि खेलिसकेका कारण बंगलादेशलाई नेपालले स्तब्ध तुल्याउन सक्ने सम्भावना पनि बलियो छ ।

अर्कोतर्फ बंगलादेशले भने पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन । सन् २०२१ को टी-ट्वान्टी विश्वकपमै एसोसियट राष्ट्र स्कटल्यान्डले बंगलादेशलाई ६ रनले पराजित गरेको थियो ।

१९औँ एसियन गेम्सको क्वार्टरफाइनल खेलमा लगभग हारिसकेको अवस्थालाई उल्टाउँदै बंगलादेशले एसोसियट राष्ट्र मलेसियालाई २ रनको झिनो अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी गत वर्ष नै भारतमा भएको एकदिवसीय क्रिकेट विश्वकपमा एसोसियट राष्ट्र नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले पाखा लगाएको थियो ।

जसका कारण मैदानमा उत्रदा बंगलादेशले भने नेपाललाई कमजोर आँक्ने छैन ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि विश्वकपमा नेपाल र बंगलादेशबीचको खेल महत्वपूर्ण हुने उल्लेख गरेको छ ।

आईसीसीले उल्लेख गरेअनुसार पछिल्लो समय नेपाल र बंगलादेशबीचको स्तरमा खासै अन्तर नरहेको तथा  नेपालको युवा खेलाडीहरूसँग बंगलादेशलाई स्तब्ध तुल्याउने अवसर रहेको छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x