क्रिकेट

यू-१९ एसिया कप : बाबर आजमको कप्तानीमा पाकिस्तानले नेपाललाई पराजित गरेको त्यो खेल

सञ्जीव शाह |
मंसिर २२, २०८० शुक्रबार १०:४३ बजे

तस्बिर : एसीसी

काठमाडौँ- पाकिस्तानसँग खेल्दै नेपालले आज एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सुरुवात गर्दैछ । समूह 'ए' मा रहेका नेपाल र टेस्ट राष्ट्र पाकिस्तानबीचको खेल आज बिहान ११:१५ बजेबाट सुरु हुनेछ । यस समूहमा अन्य दुई टेस्ट राष्ट्रहरू भारत र अफगानिस्तान पनि रहेका छन् ।

नेपालले अफगानिस्तानसँग आगामी आइतबार तथा भारतसँग मंगलबार खेल्ने तालिका रहेको छ ।


खासमा एसिया कपमा नेपालले पाकिस्तानसँग खासै खेल्ने अवसर पाएको छैन । इतिहास हेर्दा यू-१९ एसिया कपमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म केवल दुई खेलमात्र भएको छ ।

यू-१९ एसिया कपमा नेपालले पहिलोपटक पाकिस्तानसँग सन् २०१२ को एसिया कपमा खेल्ने अवसर पाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगिताअन्तर्गत पाकिस्तानले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

त्यसपछि सन् २०१३/१४ मा यूएईमा भएको खेलमा पाकिस्तानसँग नेपाल १ सय ३२ रनको पराजय भोगेको थियो ।

तर सन् २०१३/१४ पछि नेपाल र पाकिस्तानबीच यू-१९ एसिया कपमा प्रतिस्पर्धा हुन सकेको छैन । सन् २०१३/१४ पछि नेपालले यू-१९ एसिया कपमा पहिलो पटक पाकिस्तानको सामना गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो भेट   

सन् २०१२ मा मलेसियामा भएको यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ८ विकेटले पराजित गर्दा पाकिस्तानको कप्तानी बाबर आजमले गरेका थिए ।

गत नोभेम्बरमा भारतमा सम्पन्न भएको आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको कप्तानी उनै बाबर आजमले गरेका थिए ।

अर्कोतर्फ नेपालको कप्तान भने पृथु बास्कोट थिए । पृथु भने अहिले नेपालको राष्ट्रिय क्रिकेट टोलीमा छैनन् । जबकी बाबर आजम अहिले पाकिस्तानको मुख्य खेलाडीको रुपमा उभिएका छन् ।

पाकिस्तान र नेपालबीचको उक्त खेलमा पाकिस्तानले टस जित्दै नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो ।

तर ४६ ओभर १ बलमा नेपालले सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि नरेश बुढाऐरले सर्वाधिक ३४ रन बनाउँदा कप्तान पृथु बास्कोटाले २८, राजेश पुलामी २३, प्रदिप ऐरी १८ तथा सागर पुन ७ रनमा आउट भएका थिए ।

कृष्ण कार्कीले ८ रनमा नटआउट रहँदा सुवास खकुरेलले ६ रन, अभिनाश कर्णले २ तथा सौरभ खनालले १ रन बनाएका थिए । भुवन कार्की भने शून्य रनमै पभेलियन फर्किएका थिए ।

पाकिस्तानी बलर मोहम्मद नवाज र अजिजुल्लाहले २-२ विकेट हात पार्दा जिया-उल-हक, एहसान आदिल र उस्मार कादिरले १-१ विकेट लिएका थिए ।

१ सय ५७ रनको लक्ष्य भने पाकिस्तानले ३७ ओभर ३ बलमा केवल २ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जितमा सामी सामी अस्लमले अविजित ८२ रन बनाउँदा कप्तान बाबर आजमले ४८ रनको योगदान गरेका थिए । उमार वाहिदले १० तथा इमाम-उल-हकले ८ रन जोडे ।

नेपालको तर्फबाट सागर पुन र राहुल विश्वकर्माले १-१ विकेट हात पारेका थिए ।

नेपाललाई पराजित गरेसँगै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलमा पाकिस्तान र भारतले समान २ सय ८२ रन बनाएपछि ट्रफी दुवै टिमले बाँडेका थिए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x