क्रिकेट

२०७९ लाई फर्केर हेर्दा

लिग-२, नेपाली क्रिकेट र मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’

सञ्जीव शाह |
चैत २७, २०७९ सोमबार १०:४३ बजे

काठमाडौँ- कठिन समयमा माघको अन्त्यतिर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै गर्दा मोन्टी देसाईले सबैभन्दा बढी चर्चा गरेको विषय थियो, ‘ह्याप्पी ड्रेसिङ रुम’ बनाउनु ।

अर्कोतर्फ कठिन समयमा आएर नेपालको प्रशिक्षण सम्हाल्नु भनेको देसाईका लागि फलामको चिउरा चपाउनु सरह नै थियो, सो चुनौतीलाई सहजै स्वीकारेका देसाईले आफूलाई अब्बल प्रमाणित गर्न भ्याए ।


वर्षको अन्त्य हुन नपाउँदै देसाईको ह्याप्पी ड्रेसिङ रुमले साच्चै चमत्कार नै गर्‍यो वा भनौ नेपालले अप्रत्यासित रूपमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको १२ मध्ये ११ एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्यो ।

त्यही ११ जितले आगामी ४ वर्षका लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामात्र जोगाएन, जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने २०२३ क्रिकेट विश्वकप छनोटमा स्थान समेत सुरक्षित गर्‍यो ।

देसाईको प्रशिक्षणमा नेपालले १२ मध्ये ११ खेल जित्दा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) माथि कीर्तिमानी १ सय ७७ रन पराजित गर्दा नेपालले युएईलाई ७१ रनमै समेटेको थियो । त्यसैगरी, पपुवा न्यूगिनी (पीएनजी) लाई ९ विकेटले पराजित गर्दा ९५ रनमै समेटेको थियो ।

नेपालले पीएनजीविरुद्धको एक खेलमा २ सय ९७ रन बनायो, जुन नेपालका लागि एकदिवसीयमा सर्वाधिक रन थियो । सोही खेलमा आशिफ शेखले १ सय १० रन बनाए ।

त्यसैगरी, नामिबियाविरुद्ध कीर्तिमानी २ सय ८६ रनको लक्ष्य पूरा गर्दा कुशल भुर्तेलले १ सय १५ रन बनाए । करण केसीले भने कीर्तिमानी ५ विकेट हात पारे ।

नेपालको पछिल्ला प्रदर्शनलाई लिएर टिमका सदस्यले त्यसमा मुख्य प्रशिक्षक देसाईको मूख्य भूमिका रहेको तथा उनले ल्याएको ह्याप्पी ड्रेसिङ रुमको योगदान रहेको बताइरहेका छन् ।

नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित्दा प्रत्येक खेलमा नयाँ नयाँ ‘म्याच विनर’ अर्थात प्रत्येक खेल जित्दा छुट्टा छुट्टै खेलाडी नायकको रूपमा उभिएका छन् ।

देसाईको आगमनसँगै नेपाली बलर र ब्याटर निकै धैर्यताका साथै आफ्नो भूमिकालाई निर्वाह गरिरहेका देखिन्छन् ।

विगतमा लिग-२ जस्तो महत्वपूर्ण प्रतियोगितामा लगातार खेल जित्नु नेपालका लागि कल्पना बाहिरको कुरा भइसकेको थियो । तर प्रशिक्षक देसाई आएपछि नेपाली टिममा चामत्कारिक परिवर्तन आएको छ ।

नेपाली टिमका कप्तान रोहित पौडेलले देसाई प्रशिक्षकको रूपमा आएदेखि टिमको वातावरण एकदमै राम्रो रहेको र सबैजना उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि खेलाडीहरूमा परिपक्वता बढिरहेको र यसले खेल जिताउन सक्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए ।

मोन्टीकै प्रशिक्षणमा नेपालले काठमाडौँमा बैशाखमा आयोजना हुन लागेको एसीसी प्रिमियर कपमा सहभागिता जनाउँदैछ । प्रिमियर कप जित्न सके नेपालले एसिया कपमा टेस्ट राष्ट्रहरू भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका समेत पाउनेछ ।

त्यसैगरी, विश्वकप छनोटमा पनि श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वेजस्ता देशसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने मौका पाउने भएको छ ।

मोन्टीको प्रशिक्षणमा नेपाली टिमले देखाइरहेको आत्मविश्वास कायम राख्न सके नेपालले विश्वकप छनोट तथा प्रिमियर कपमा अप्रत्याशित नतिजा निकाल्न सक्ने अपेक्षा समेत राख्न सकिन्छ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x