बैंक-वित्त

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

इकागज |
चैत १५, २०८० बिहीबार १४:२४ बजे

काठमाडौँ- गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।


व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा स्थापना कालदेखि कार्यरत रहेका छन् । उनी विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् । 

यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुँदै छ ।

बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x