छिमेक

मुफ्तीको रिहाईमा विपक्षी कांग्रेसको स्वागत

इकागज | असोज ३०, २०७७

काठमाडौं : छिमेकी भारतको जम्मु-कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पीडीपी पार्टीकी अध्यक्ष महबुबा मुफ्तीले फरक-फरक स्थानमा बन्दी बनाइएका मानिसहरुलाई रिहा गर्न माग गरेकी छन् । जम्मु कश्मीर प्रशासनले उनलाई १४ महिनादेखि थुनामा राखेको थियो ।

जम्मु कश्मीर प्रशासनले रिहा भएको जानकारी दिए लगत्तै उनले आफ्ना समर्थकलाई सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश पनि शेयर गरिन् ।

गत वर्ष भारतले असंवैधानिक, अलोकतान्त्रिक, अवैधानिक तरिकाले जम्मु-कश्मीरको स्वतन्त्रता खोसेको आरोप उनले लगाएकी छिन् । महबुबाको विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा दायर भएको र अदालतले कुन आदेशमा सरकारले उनलाई कति समयका लागि बन्दी बनाउन खोजेको जवाफ मागेको थियो । बिहीबार यो मामिलामा सुनुवाइ हुनुभन्दा पहिला नै सरकारले उनलाई रिहा गरेको हो ।

उनको रिहाइलाई विपक्षी दल भारतीय कांग्रेसले स्वागत गरेको छ । कांग्रेसका नेताहरुले उनलाई एक वर्षभन्दा लामो समयसम्म हिरासतमा राखिनु शक्तिको दुरुपयोग र लोकतन्त्रको उपहास भएको बताएका छन् ।