वार्ता

वार्ता

बालकविता लेख्दा प्रतिभाको दुरुपयोग हुन्छ भन्‍नेहरू सामन्त जस्ता हुन्

माधव घिमिरे | बैशाख ८, २०७९

आजभोलि पाठ्यपुस्तकमा बालकलाई भाषा सिकाउने व्यवस्था आयो तर साहित्य सिकाउने व्यवस्था हराएर गयो । बालकलाई शुष्कनीरस भाषा कोच्याउने हैन, शिष्टमिष्ठ भाषा पियाउने हो । यसको निम्ति नै बालसाहित्यको आवश्यकता पर्छ । यो औँसीबार गाईतिहार भैलो– जस्ता लोकगीतबाट त बालकहरू भाषा र साहित्य मात्र हैन, संस्कृति पनि आत्मसात् गर्छन् ।

कविज्यू, तपाईं कस्तोलाई बालसाहित्य भन्‍नुहुन्छ ?
बालकको बोलीमा बालकभित्रका भावनालाई विस्तार र परिष्कार गर्ने साहित्यलाई म बालसाहित्य भन्छु । नेपाली लोकसाहित्यभित्र बाल–साहित्यको विपुल भण्डार छ । त्यहाँ बालकहरू खेल्दा गाउने गीत छन्, सुन्दर प्रकृतिसित मितेरी लाउने कविता छन्, उत्सुकता र उत्साह जगाउने दन्त्यकथा छन्, बालकलाई चतुर बनाउने नीतिकथा छन्, गम खान पर्ने (गाउँखाने) कथा छन् ।

के बालकविता लेख्‍न अलमलिनेहरूले प्रौढ कविता लेख्नतिर नलागेर प्रतिभाको दुरुपयोग त गरिरहेका छैनन् ?
कविको प्रतिभाको दुरुपयोग त कविले आफैँलाई ढाँट्नु र आफैँलाई चित्त नबुझ्ने विषयमा लेख्नुमा हुन्छ । बालकविता लेख्दा प्रतिभाको दुरुपयोग हुन्छ भन्‍नेहरू ती सामन्तजस्ता हुन्– जो आमाको बैंस ढल्छ भनेर बालकलाई दूध खुवाउन धाईआमा राख्छन् ।

बालकहरूका निम्ति उपन्यास, खण्डकाव्य र महाकाव्य किन लेखिन्‍न ?
बालसाहित्य छोटो–मीठो हुनुपर्छ । बालकलाई खण्डकाव्य हैन, ससाना गीतिकविता दिनुपर्छ । उपन्यास हैन, लघुकथा र जीवनी दिनुपर्छ । म त गीतिकवि हुँ– प्रौढहरूको निम्ति पनि साना कविता लेख्छु । बालकका निम्ति पनि महाकाव्य लेखिन्छ भन्‍ने कुरा कल्पनै गर्न सक्तिनँ । बालसाहित्य त बालकका सँगसँगै खेल्ने दिदी र दाजुले गाउने गीतजस्तो र ज्यामाले हाल्ने कथाजस्तो हुनुपर्छ– सरल, सहज र जीवन्त ।

बालबालिकाको लागि विज्ञान साहित्य कत्तिको आवश्यक छ ?
पानी किन पर्छ, कुकुरले पुच्छर किन हल्लाउँछ ? जस्ता जिज्ञासालाई विज्ञानले र मनोविज्ञानले सही समाधान दिन सक्छन् । विज्ञानको भाषा तथ्यको भाषा हो, यसलाई काव्यको भाषा र शैली दिन हाम्रा बालप्रिय लोककथाबाट ठूलो सहायता मिल्न सक्छ । तर यसो गर्दा कथाको साहित्यिकतामा कमी आउन हुन्‍न । वैज्ञानिकताको धुनमा बालकभित्रको सुकुमार सौन्दर्यचेत मारिन हुन्‍न ।

पुतलीलाई लघार्दै दौडने उल्लास, जून देखेर खिल्ने आँखा र अकारणै ओठमा निस्कने दूधे हाँसोको गीत हामी कसलाई लेख्छौँ ? किन लेख्छौँ ? हामी कुकुरका रिस र खुसी पुच्छर पछिल्तिर हल्लिदा थाह पाउछौं, तर बालकहरू त्यसको आँखाको स्निग्धरेखामा स्नेह पग्लिरहेको पनि देख्न सक्छन् । हामी मानिस मात्र हाँस्छन् भन्छौँ तर बालकहरू कुकुर पनि कान पछिल्तिर तानिँदै, अनुहार सोहोरिँदै हाँसिरहेको पनि देख्छन् ।

तपाईंको बालककाल कस्तो रह्यो ?
म आमाको टुहुरो थिएँ । बालककाल गाई चराउँदै बित्यो । निर्जन वनपाखामा गाई चराएर हिँड्दा नरमाइलो लाग्थ्यो र सुन्दर प्रकृतिमा रम्दा बिस्तारै रमाइलो पनि लाग्दै गयो । बालककाल बिताएर पढाइका निम्ति लेक छोडेर हिँड्दा म देशको दाजुभाइको दुःख बुझ्ने भइसकेको थिएँ ।

म परदुःखले काँतर बन्थें, तर केही गर्न सक्तैनथें र सान्त्वना र शान्तिको निम्ति प्रकृतिमा फर्कन्थें । प्रकृति र मनुष्य दुवैले मलाई मधुर बनाए– विरह र सौन्दर्यभावना ममा एकाकार बने ।

बालसाहित्यको विकासका निम्ति के के उपाय अवलम्बन गर्नुपर्ला ?
बालसाहित्यको विकासका निम्ति वातावरण तयार पार्नु पनि एक सुन्दर उपाय हो । यसका निम्ति बालसाहित्यका सफल लेखकका पुस्तकहरूलाई पाठ्यपुस्तकका रूपमा स्वीकृत गर्नुपर्छ । आजभोलि पाठ्यपुस्तकमा बालकलाई भाषा सिकाउने व्यवस्था आयो तर साहित्य सिकाउने व्यवस्था हराएर गयो ।

बालकलाई शुष्कनीरस भाषा कोच्याउने हैन, शिष्टमिष्ठ भाषा पियाउने हो । यसको निम्ति नै बालसाहित्यको आवश्यकता पर्छ । यो औँसीबार गाईतिहार भैलो– जस्ता लोकगीतबाट त बालकहरू भाषा र साहित्य मात्र हैन, संस्कृति पनि आत्मसात् गर्छन् ।
(स्रोत : ‘काँचो माटो’ पत्रिका, २०४२)
 

हाम्रा जनप्रतिनिधिले आकर्षक ठानेर नारा त दिए, तर 'स्मार्ट सिटी' के हो भन्ने बुझेकै छैनन्

इकागज | बैशाख ४, २०७९

स्थानीय निर्वाचन नजिकिदैं गर्दा उम्मेदवारहरूले पुनः स्मार्ट सिटीको नारा दिन थालेका छन् । नेपाली जनजिब्रोम...

आलोचनाले अर्थ राख्दैन, म काम गरेर देखाउँछु

सुर्खेत : चौतर्फी विवाद र आलोचना चुलिँदा पनि माओवादी केन्द्रबाट सिफारिस हुम्लाका कार्चेन लामा कर्णाली प्र...

'विप्लव–प्रकाण्ड पछाडि फर्किनु भएन भने हामी अघि बढ्नुपर्ने हुन्छ'

विनोद देवकोटा | चैत २६, २०७८

स्थानीय तहको निर्वाचनबारे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा चर्को मत...

व्यवस्थापन अभ्यासका विश्वव्यापी 'स्ट्यान्डर्ड' अनुसरणमा नेपाल पछाडि रहँदैन

इकागज | चैत २६, २०७८

नेपाल व्यवस्थापन संघ (म्यान) मा नयाँ नेतृत्वका लागि आज हुने निर्वाचनमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल...

दृष्टिकोण परिर्वतन गरेपछि मात्रै कर्णाली समृद्ध बनाउन सकिन्छ

संघीयता कार्यान्वयनमा स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । स्थानीय तह र संघीय ...