वार्ता
बालकविता लेख्दा प्रतिभाको दुरुपयोग हुन्छ भन्नेहरू सामन्त जस्ता हुन्
आजभोलि पाठ्यपुस्तकमा बालकलाई भाषा सिकाउने व्यवस्था आयो तर साहित्य सिकाउने व्यवस्था हराएर गयो । बालकलाई शुष्कनीरस भाषा कोच्याउने हैन, शिष्टमिष्ठ भाषा पियाउने हो । यसको निम्ति नै बालसाहित्यको आवश्यकता पर्छ । यो औँसीबार गाईतिहार भैलो– जस्ता लोकगीतबाट त बालकहरू भाषा र साहित्य मात्र हैन, संस्कृति पनि आत्मसात् गर्छन् ।
कविज्यू, तपाईं कस्तोलाई बालसाहित्य भन्नुहुन्छ ?
बालकको बोलीमा बालकभित्रका भावनालाई विस्तार र परिष्कार गर्ने साहित्यलाई म बालसाहित्य भन्छु । नेपाली लोकसाहित्यभित्र बाल–साहित्यको विपुल भण्डार छ । त्यहाँ बालकहरू खेल्दा गाउने गीत छन्, सुन्दर प्रकृतिसित मितेरी लाउने कविता छन्, उत्सुकता र उत्साह जगाउने दन्त्यकथा छन्, बालकलाई चतुर बनाउने नीतिकथा छन्, गम खान पर्ने (गाउँखाने) कथा छन् ।
के बालकविता लेख्न अलमलिनेहरूले प्रौढ कविता लेख्नतिर नलागेर प्रतिभाको दुरुपयोग त गरिरहेका छैनन् ?
कविको प्रतिभाको दुरुपयोग त कविले आफैँलाई ढाँट्नु र आफैँलाई चित्त नबुझ्ने विषयमा लेख्नुमा हुन्छ । बालकविता लेख्दा प्रतिभाको दुरुपयोग हुन्छ भन्नेहरू ती सामन्तजस्ता हुन्– जो आमाको बैंस ढल्छ भनेर बालकलाई दूध खुवाउन धाईआमा राख्छन् ।
बालकहरूका निम्ति उपन्यास, खण्डकाव्य र महाकाव्य किन लेखिन्न ?
बालसाहित्य छोटो–मीठो हुनुपर्छ । बालकलाई खण्डकाव्य हैन, ससाना गीतिकविता दिनुपर्छ । उपन्यास हैन, लघुकथा र जीवनी दिनुपर्छ । म त गीतिकवि हुँ– प्रौढहरूको निम्ति पनि साना कविता लेख्छु । बालकका निम्ति पनि महाकाव्य लेखिन्छ भन्ने कुरा कल्पनै गर्न सक्तिनँ । बालसाहित्य त बालकका सँगसँगै खेल्ने दिदी र दाजुले गाउने गीतजस्तो र ज्यामाले हाल्ने कथाजस्तो हुनुपर्छ– सरल, सहज र जीवन्त ।
बालबालिकाको लागि विज्ञान साहित्य कत्तिको आवश्यक छ ?
पानी किन पर्छ, कुकुरले पुच्छर किन हल्लाउँछ ? जस्ता जिज्ञासालाई विज्ञानले र मनोविज्ञानले सही समाधान दिन सक्छन् । विज्ञानको भाषा तथ्यको भाषा हो, यसलाई काव्यको भाषा र शैली दिन हाम्रा बालप्रिय लोककथाबाट ठूलो सहायता मिल्न सक्छ । तर यसो गर्दा कथाको साहित्यिकतामा कमी आउन हुन्न । वैज्ञानिकताको धुनमा बालकभित्रको सुकुमार सौन्दर्यचेत मारिन हुन्न ।
पुतलीलाई लघार्दै दौडने उल्लास, जून देखेर खिल्ने आँखा र अकारणै ओठमा निस्कने दूधे हाँसोको गीत हामी कसलाई लेख्छौँ ? किन लेख्छौँ ? हामी कुकुरका रिस र खुसी पुच्छर पछिल्तिर हल्लिदा थाह पाउछौं, तर बालकहरू त्यसको आँखाको स्निग्धरेखामा स्नेह पग्लिरहेको पनि देख्न सक्छन् । हामी मानिस मात्र हाँस्छन् भन्छौँ तर बालकहरू कुकुर पनि कान पछिल्तिर तानिँदै, अनुहार सोहोरिँदै हाँसिरहेको पनि देख्छन् ।
तपाईंको बालककाल कस्तो रह्यो ?
म आमाको टुहुरो थिएँ । बालककाल गाई चराउँदै बित्यो । निर्जन वनपाखामा गाई चराएर हिँड्दा नरमाइलो लाग्थ्यो र सुन्दर प्रकृतिमा रम्दा बिस्तारै रमाइलो पनि लाग्दै गयो । बालककाल बिताएर पढाइका निम्ति लेक छोडेर हिँड्दा म देशको दाजुभाइको दुःख बुझ्ने भइसकेको थिएँ ।
म परदुःखले काँतर बन्थें, तर केही गर्न सक्तैनथें र सान्त्वना र शान्तिको निम्ति प्रकृतिमा फर्कन्थें । प्रकृति र मनुष्य दुवैले मलाई मधुर बनाए– विरह र सौन्दर्यभावना ममा एकाकार बने ।
बालसाहित्यको विकासका निम्ति के के उपाय अवलम्बन गर्नुपर्ला ?
बालसाहित्यको विकासका निम्ति वातावरण तयार पार्नु पनि एक सुन्दर उपाय हो । यसका निम्ति बालसाहित्यका सफल लेखकका पुस्तकहरूलाई पाठ्यपुस्तकका रूपमा स्वीकृत गर्नुपर्छ । आजभोलि पाठ्यपुस्तकमा बालकलाई भाषा सिकाउने व्यवस्था आयो तर साहित्य सिकाउने व्यवस्था हराएर गयो ।
बालकलाई शुष्कनीरस भाषा कोच्याउने हैन, शिष्टमिष्ठ भाषा पियाउने हो । यसको निम्ति नै बालसाहित्यको आवश्यकता पर्छ । यो औँसीबार गाईतिहार भैलो– जस्ता लोकगीतबाट त बालकहरू भाषा र साहित्य मात्र हैन, संस्कृति पनि आत्मसात् गर्छन् ।
(स्रोत : ‘काँचो माटो’ पत्रिका, २०४२)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया