वार्ता

इसंर्वार्ता

राप्रपा नेपाल सूर्य चिह्न लिएर चुनावमा जानेछ

अतिन आचार्य |
चैत ३०, २०७८ बुधबार ९:४९ बजे

कहिले हलो त कहिले गाई चिह्न लिएर चुनावी मैदानमा होमिने कमल थापालाई यसपालि निर्वाचन आयोगले ‘तीर’ चिह्न दिएको छ । तर, उनी एमालेको सूर्य चिह्न लिएर मतदाता कहाँ जाँदैछन् । उनको पार्टीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गर्न खोज्दै छ । चुनावी तालमेल र कुन चिन्ह लिएर निर्वाचनमा सहभागी हुनु हुँदै छ भन्‍ने सिलसिलामा राप्रपा नेपालका अध्यक्ष थापासँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी : 

स्थानीय निर्वाचन नजिकिएसँगै तपाईंको पार्टी राप्रपा नेपालको एमालेसँग गठबन्धन वार्ता चलिरहेको छ । चुनावी तालमेल वार्ता कहाँ पुग्यो ?
एमालेसँग चुनावी तालमेल गरेर जाने भनेर सैद्धान्तिक सहमति भइसकेको छ । प्रभावकारी रुपमा गृहकार्य गर्न अझै बाँकी छ । 


नयाँ दलका रुपमा चुनावी मैदानमा जानु हुँदै छ । एमालेसँग कुन-कुन जिल्लामा तालमेल गर्ने तयारीमा हुनुहुन्छ ?
देशभरको ७७ जिल्लामा चुनावी तालमेलका लागि बाटो खुला गरेका छौँ । हामी सकेसम्म बढी स्थानमा सहकार्य गर्ने प्रयासमा छौँ । जहाँ सहकार्य हुँदैन त्यहाँ राप्रपा नेपालले विवाद गर्दैन । त्यस्ता ठाउँमा एमालेलाई सहयोग गर्छौँ ।

तपाईंको दल निर्वाचनमा भर्खरै दर्ता भएको छ, कसरी तालमेल गर्ने आधार बन्यो ? 
नेकपा एमालेलाई यसका लागि धन्यवाद दिन चाहन्छु । सानो दल तुलनात्मक रुपमा हामी जस्तो दललाई विश्वास र सहकार्य गर्न खोज्‍नु हाम्रो लागि ठूलो कुरा हो । त्यसलाई मैले कुन रुपमा लिएको छु भने राप्रपा नेपालले राजसंस्थाको एजेन्डालाई छाडेर लोकतान्त्रिक प्रणालीलाई स्वीकारेको हुनाले हामीलाई प्रोत्साहन गर्न खोजेको रुपमा लिएको छु । यो चुनावमा हाम्रो ठूलो महत्वाकांक्षा पनि छैन । एमालेसँग सहकार्य गरेर हामी सीमित ठाउँमा मात्र चुनाव लड्छौँ । ७७ जिल्लामा हाम्रो मतदाता रहेकाले बाँकी स्थानमा भने एमालेलाई सहयोग गर्छौं ।

एमालेसँग तालमेल गरेर स्थानीय निर्वाचनमा सहभागी हुन लाग्नुभएको छ, जनता माझ जान मुख्य एजेन्डा के रहन्छ ?
स्थानीय सरकारको अवधारणाअनुसार स्थानीय पूर्वाधारको विकास, स्वास्थ्य र शिक्षा सेवाको अभिवृद्धि कसरी गर्न सकिन्छ त्यसलाई प्राथमिकतामा राखिएको छ । स्थानीय निकायको माध्यमबाट रोजगारी सिर्जना गर्ने मुख्य प्राथमिकतामा रहन्छन् । 

चुनावी तालमेल भएपछि कुन चिन्ह लिएर निर्वाचनमा सहभागी हुनुहुँदैछ ?
नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गरेसँगै राप्रपा नेपालले साझा चिन्हका रुपमा सूर्य चिन्ह लिएर चुनावमा जानेछ ।

सूर्य चिन्ह लिएर जाँदा मतदाताले मत दिन्छन् त त्यसो भए ? 
हाम्रो पार्टी स्थापना भएको डेढ महिना भयो । एक महिना पछाडि चुनाव हुँदै छ । हामीले धेरै अपेक्षा राखेका छैनौँ । सम्मानजनक स्थिति हामीले हासिल गर्छौं भन्‍ने लागेको छ ।

केही समयअघि राजसंस्थाको कारणले पार्टीको अधिवेशनमा हारियो भनी खुलेआम रुपमा भनिरहनु भएको थियो । फेरि विभिन्‍न सार्वजनिक कार्यक्रममा राजसंस्थाप्रति सम्मान छ भनिरहनु हुन्छ कस्तो खालको सम्मान होला ?
अबको सम्मान भनेको सैद्धान्तिक र व्यक्तिगत सम्मान मात्र हो । राजसंस्थाको पुनःस्थापना हाम्रो पार्टीको कार्यविधि हुँदैन । व्यक्तिगत रुपमा सैद्धान्तिक, सम्मान र आस्था निरन्तर रुपमा रहन्छ ।

राजसंस्था र हिन्दू राष्ट्र तपाईंका लागि छनौट गर्ने अवसर प्राप्त गर्नुभएमा केलाई प्राथमिकतामा राख्नुहुन्छ ?
हामीले राजसंस्थाको एजेन्डा छोडिसकेका छौँ । हाम्रा लागि छनौटको विषय रहेन । अबको एजेन्डा भनेको लोकतन्त्र, हिन्दू राष्ट्र, समृद्धि र सुशासन हो । हाम्रो पार्टीको मुख्य एजेन्डा जनताको भावनाअनुसार नै हो ।

म राजसंस्थाको एजेन्डा छाडेर लोकतान्त्रिक मान्यतामा अगाडि बढेपछि राजसंस्था पक्षधरहरूले मेराबारेमा नकारात्मक कुरा गरेका छन् ।

तपाईंको जीवनकालमा यसअघि दुईवटा चुनाव चिन्ह गाई र हलो थियो । भर्खरै निर्वाचन आयोगले ‘तीर’ चिन्ह प्रदान गरेको छ । यसलाई केका प्रतीकको रुपमा लिनु भएको छ ?
हामीले गाई लिन खोजेको थियौँ । तर, निर्वाचन आयोगले गाई नदिने निर्णय गरेको छ । स्थानीय निर्वाचन नजिक आएकाले ‘तीर’ चिन्ह लिएका छौँ । यो चिन्ह शक्ति, बहादुरी र लगनशीलताको प्रतीक हो । यसलाई प्राचीन, पौराणिक र धार्मिक मान्यताअनुसार ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीकका रुपमा लिइन्छ ।

धर्म परिवर्तनका कुरालाई लिएर चर्को विरोध गरिरहनु हुन्छ । जनजाति, दलित र आदिवासीहरू बढी मात्रामा धर्म परिवर्तनमा लागेको भन्‍नुहुन्छ । यसमा उहाँहरूको इच्छा होला यसमा विरोध गर्न मिल्छ र ?
धर्म परिवर्तनका विभिन्‍न कारण हुन्छन् । धर्म परिवर्तनका आधार आर्थिक विपन्‍नता र सामाजिक चेतनाको अभाव पनि हो । गरिबीहरूलाई शोषण गरेर र भ्रम सिर्जना गरेर धर्म परिवर्तन गराउने काम गरिएको छ ।

यसमा जनजाति, दलित र आदिवासीहरू बढी भए तापनि अन्य समुदायहरूको संख्या पनि बढ्दै गइरहेको छ । क्षत्री-बाहुनहरूमा पनि धर्म परिवर्तनको रोग सल्किरहेको छ । यो धर्म परिवर्तन एकदमै चिन्ताको विषय पनि हो ।

कानुनले धर्म परिवर्तनलाई दण्डनीय तुल्याएको छ । कानुन सशक्त रूपमा कार्यान्वयन हुनुपर्छ । सरकार र सम्बद्ध संस्थाले पनि धर्म परिवर्तनको मूलकारण के हो पत्ता लगाएर समाधान गर्ने प्रयास गर्नुपर्छ । सामाजिक तथा धार्मिक संस्थाहरू क्रियाशील रहनुपर्छ । राज्यको तर्फबाट गरिबी हटाउन सशक्त रुपमा लाग्दा धर्म परिवर्तन रोक्न सकिन्छ । यस विभेदले पनि धर्म परिवर्तनलाई प्रोत्साहन गरिरहेको छ । सामाजिक, सांस्कृतिक र अन्धविश्वास जस्ता प्रथाहरूको अन्त्य गर्नतर्फ लाग्‍नुपर्छ ।

तपाईं नेता बन्‍नुभयो तर, केही समयअघिको तपाईंको व्यवहारले नेतृत्व पुस्ता हस्तान्तरण गर्न नसकेको देखिएको छ । यसलाई राजनीतिमा अपरिपक्वता जस्तो भएको देखिएन र ?
स्वभाविक हो । क्रिया भएपछि त्यसको प्रतिक्रिया पनि आउँछ । मैले राजसंस्थाको एजेन्डा छाडेर लोकतान्त्रिक मान्यतामा अगाडि बढेपछि राजसंस्था पक्षधरहरूले मेराबारेमा नकारात्मक कुरा गरेका छन्, तर तिनलाई मैले नराम्रो सोचेको पनि छैन । त्यो पनि धेरै समय रहँदैन भन्‍ने लाग्छ । आरोप-प्रत्यारोप केही समय रहला, त्यसपछि आफैँ हट्दै जानेछ त्यसलाई चिन्ताको विषय सम्झेर बसेको छैन ।

नेपाली राजनीतिमा सबैभन्दा बढी पदको मोह रहेको नेताका रुपमा तपाईंलाई लिन्छन्, यसलाई के भन्‍नुहुन्छ ?
आरोप छ । प्रकारान्तरले पनि त्यस्तो देखिन्छ । तर, मैले पटक-पटक भन्दै आएको छु । यो चुनावमा हार-जीतसँग सम्बन्धित छैन । मेरो सैद्धान्तिक मान्यतामा जुन किसिमको आघात भयो त्यसपछि नयाँ कदम उठाउन बाध्य भएको हुँ ।

म रहेको राप्रपामा सैद्धान्तिक विचलन देखियो र गलत प्रवृत्तिहरू हाबी हुन थाले । पार्टीभित्र बसेर त्यस्ता गलत प्रवृत्तिको हरसम्भव प्रयास गर्दा पनि हटाउन सकिएन । केही सम्भव नभएपछि आफूले प्रतिपादन गरेको विचारको रक्षा निमित्त र मप्रति आस्था र विश्वास गर्ने कार्यकर्ताको संरक्षण गर्न बाध्य भएर नयाँ कदम चालेको हुँ । पदप्रति कुनै पनि आशक्ति छैन र आगामी दिनमा त्यस्ता कुराहरू प्रस्ट भइहाल्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x