विश्व

हरियाणा सरकारले किन १० हजार मानिसलाई इजरायलमा कामका लागि पठाउँदैछ ?

सञ्जीव शाह |
पुस २, २०८० सोमबार १५:२२ बजे

काठमाडौँ- भारतको हरियाणा सरकारले युद्धग्रस्त इजरायलमा १० हजार मानिसलाई काममा पठाउनका लागि दरखास्त आह्वान गरेको छ ।

हरियाणा राज्य सरकारको मातहतमा रहेको कम्पनी हरियाणा कौशल रोजगार निगमले १० हजारलाई इजरायलमा काम गर्ने अवसर प्रदान गरिरहेको बीबीसी हिन्दीले जनाएको छ ।


हरियाणा सरकारले पहिलोपटक मानिसहरूलाई विदेशमा काम गर्ने अवसर प्रदान गरेको हो ।

हरियाणा कौशल रोजगार निगमले इजरायलमा निर्माण क्षेत्रमा काम गर्नका लागि १० हजार मानिसका लागि दरखास्त आह्वान गरेको भारतीय संचारमाध्यम अमरउजालाले पनि उल्लेख गरेको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण जारी राखेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार युद्धका कारण गाजामा १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यता, इजरायलको रक्षा विभागले जनाएअनुसार युद्धमा कम्तीमा १ हजार २ सय इजरायलीको मृत्यु भइसकेको छ ।

युद्ध चलिरहँदा इजरायलले ९० हजार प्यालेस्टिनी कामदारको वर्क 'परमिट' रद्द गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । जसका कारण इजरायलमा कामदारको चरम अभाव सुरु भएको छ ।

कामदारको अभाव पूरा गर्नका लागि इजरायलले भारतबाट कामदार ल्याउने उद्देश्य लिएको बीबीसीले जनाएको छ ।

इजरायलको कामदारको माग पूरा गर्नका लागि हरियाणा कौशल रोजगार निगमले निर्माण कार्यमा अनुभव भएकालाई इजरायल पठाउने उद्देश्यले दरखास्त आह्वान गरेको हो ।

गर्नुपर्ने काम र चाहिने अनुभव

खासमा फ्रेमवर्क, सटरिङ कार्पेन्टर, आइरन बेन्डिङ, सेरामिक टायल र प्लास्टरिङजस्ता कामका लागि कामदारको माग गरिएको छ । तर ती कामका लागि दरखास्त दिनेसँग कम्तीमा पनि ३ वर्षको अनुभव हुनुका साथै उनीहरूले १० कक्षासम्मको पढाइ पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ ।

साथै कामदारको उमेर २५ देखि ५४ वर्षसम्म हुनुपर्नेछ भने छनोट भएका व्यक्तिले इजरायलमा पाँच वर्षसम्म मात्र काम गर्न पाउनेछन् ।

काम गर्ने समय र पारिश्रमिक

हरियाणा कौशल रोजगार निगमले जनाएअनुसार कामदारको चयन अन्तर्वार्ताको आधारमा गरिनेछ र इजरायलमा काम गर्नका लागि छनोट हुनेले महिनामा २६ दिन तथा प्रत्येक दिन ९ घण्टा काम गर्नुपर्नेछ ।

कामदारले मासिक ६ हजार १ सय इजरायली रूपैयाँ पाउनेछन् जुन १ लाख ३८ हजार भारतीय रूपैयाँ बराबर हो । कामदारलाई स्वास्थ्य वीमा र आवासको सुविधा प्रदान गरिएपनि त्यसका लागि कामदारले नै रकम तिर्नुपर्ने हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको कामदारले पाउने पारिश्रमिक प्रत्येक महिना उसको बैँक खातामा राखिने छ र सम्झौता टुंगिएपछि कामदारले इजरायल छाड्ने निश्चित भएपछि ब्याजसहित एकमुस्ट उक्त रकम प्रदान गरिनेछ ।

यसको अर्थ इजरायलमा काम गर्नेले प्रत्येक महिना पारिश्रमिक पाउने छैनन् र उनीहरूले आफ्नो खाना तथा अन्य कुराका लागि आफैले प्रबन्ध गर्नुपर्ने हुन्छ ।

हरियाणाकै मानिसहरूलाई किन यो रोजगारी ?

खासमा हरियाणा कौशल रोजगार निगमको सहयोगमा राज्य सरकारले बेरोजगारी कम गर्ने प्रयास गरिरहेको छ ।

भारत सरकारले २०२३ को जनवरी र मार्चको बीचमा गरेको एक अध्ययनअनुसार भारतमा अहिले बेरोजगारी दर ६.८ प्रतिशत छ र हरियाणाको बेरोजगारी दर ८.८ प्रतिशत छ ।

हरियाणा सरकारले जनाएअनुसार २०२३ को जुलाई ३१ सम्म १ लाख ५० हजारभन्दा बढी शिक्षित युवाले रोजगारीका लागि आफ्नो नाम दर्ता गराएका थिए ।

(एजेन्सी सहयोगमा)


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x