विश्व

मोदी र गान्धीलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा नोटिस

इकागज |
बैशाख १३, २०८१ बिहीबार १७:० बजे

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा नोटिस जारी गरेको छ । निर्वाचन आयोगले अप्रिल २९ गते बिहान ११ बजेसम्म दुवै दलसँग जवाफ मागेको हो ।

भाजपा र कंग्रेस दुवै पार्टीले एकअर्काका नेताहरूविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए र उनीहरूलाई धर्म, जात, सम्प्रदाय र भाषाको नाममा जनतामा घृणा फैलाउने र पृथकतावादलाई बढावा दिएको आरोप लगाएका थिए ।


आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ को अधिकार प्रयोग गर्दै स्टार प्रचारकको आचरणमा पार्टी अध्यक्षलाई जिम्मेवार ठहर गर्दै दुवै दलका अध्यक्षलाई नोटिस जारी गरेको छ ।

प्रधानमन्त्री मोदीले केही दिनअघि राजस्थानको एक र्यालीमा कंग्रेस सत्तामा आयो भने अल्पसंख्याकहरूलाई जनताको सम्पत्ति बाँड्ने बताएका थिए । यस मामिलामा कंग्रेसले निर्वाचन आयोगलाई मोदीको बयान विभाजनकारी र द्वेषपूर्ण र यो आचारसंहिताको स्पष्ट उल्लंघन भएको अपिल गरेको थियो । 

भाजपाले अप्रिल २२ मा कंग्रेस नेता राहुल गान्धीविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दायर गरेको थियो । भाजपाले गान्धीले देशमा गरिबी बढाउने झूटा वाचा गरिरहेको बताएको थियो । भाजपाले राहुल गान्धीले भाषा र क्षेत्रका आधारमा देशमा विभाजन र चुनावी वातावरण बिगार्ने प्रयास गरेको आरोप लगाएको थियो ।


Author

थप समाचार
x