पर्यटन

पर्यटकले ‘हाउसफुल’ सिक्लेस र घान्द्रुक

धनबहादुर गुरुङ |
मंसिर ३, २०८० आइतबार २१:३१ बजे

पोखरा- पर्यटकीय गाउँ घान्द्रुकमा दसैँतिहार सकिए लगत्तै पर्यटकको चाप ह्वात्तै बढेको छ । गएको तीन दिनमा थेगीनसक्नु पाहुना त्यहाँ पुगे । पर्यटन व्यवसायीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । एक दिनमै दुई हजारको हाराहारीमा पर्यटक घान्द्रुक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

उनका अनुसार घान्द्रुक पुगेका केही पाहुनाहरू फर्कनुपरेको थियो । ‘गएको ३ दिन थेगीनसक्नु पाहुना आएका थिए । केही फर्किए पनि,’ उनले भने, ‘घान्द्रुकमा एकदमै राम्रो छ अहिले चाडबाड सकिएकाले पनि होला ।’ घान्द्रुक हाउसफुल पाहुना व्यवस्थापनमा हम्मे हम्मे परेको अध्यक्ष गुरुङको भनाइ थियो । ‘घुम्न आएका पाहुनाहरूलाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छौं,’ अध्यक्ष विक्रमले भने, ‘पाहुनाहरूको सुविधाका लागि उहाँहरू आफैले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’


घान्द्रुकले एक रातमा २ हजार देखि २२ सय पर्यटक राख्ने सक्ने उनले बताए । यसका लागि ५५ वटा होटल र २२ होमस्टे छन् । यदि पाहुना बढी भएको अवस्थामा गाउँको घरहरूमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए ।

कास्कीकै अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप उस्तै बढेको छ । दसैँतिहार सकिएसँगै सिक्लेसमा दैनिक ५ देखि ६ सयको हाराहारीमा पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

सिक्लेस र ताङतिङ गाउँ हुँदै क्हपुचें हिमताल, कोरी डाँडा जाने पर्यटकका कारण पनि सिक्लेसमा पर्यटकको चाप बढेको वडाध्यक्ष गुरुङले बताए । गाउँमा भन्दा पनि कोरी र क्हपुचें जाने पर्यटक धेरै हुँदा व्यवस्थापनमा समस्या पर्ने उनको भनाइ थियो । ‘सिक्लेस आउने पर्यटकहरू सिक्लेस बास बसेर खाना खाएर कोरी र क्हपुचें उक्लन्छन् । यसले गर्दा पनि पाहुनाको चहलपहल बढेको छ,’ उनले भने, ‘गाउँमा त जसो तसो राखिन्छ माथि डाँडातिर धेरै गइदिंदा व्यवस्थापनमा समस्या हुन्छ ।’

वडाध्यक्ष गुरुङका अनुसार कोरी जानेहरू पासा भन्ने ठाउँमा बस्छन् । जहाँ २ वटा होटल छन् । जहाँ एक रातमा १ सय पाहुना राख्न सकिने उनले बताए । तर, १ सय भन्दा बढी पाहुना जाने गरेको उनले सुनाए । यस्तै क्हपुचें जाँदा हुगुगोठ र सिधै क्हपुचें पुग्नुपर्छ । त्यहाँ भने धेरै संरचना बनेकाले समस्या नरहेको उनले बताए ।
पछिल्लो समय कोरी र क्हपुचें ट्रेक राम्रो चलेकाले सिक्लेसले पाहुना भरिपूर्ण पाएको वडाध्यक्ष गुरुङले बताए । सिक्लेसमा ३० वटा होमस्टे सोही संख्यामा होटलहरू छन् । यसबाहेक अहिले अन्य घरहरूले एउटा कोठा पाहुनाका लागि छुट्याएर राख्ने गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले आफ्नो फेसबुक मार्फत पर्यटक व्यवस्थापनमा गाह्रो भएकाले जानकारी दिएर आउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटकहरू गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ । तसर्थ गाउँमा आउनु भन्दा अगावै बस्न चाहनुभएको होटल÷होमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ । साथै, क्हपुचें र कोरी ट्रेकको लागि सम्बन्धित होटल सञ्चालकहरूसँग सम्पर्क भएर मात्र आउनुहुन आग्रह गर्दछु ।’

कास्कीको घान्द्रुक र सिक्लेससँगै ताङतिङ, ल्वाङ, घलेल, पुम्दीकोटलगायत गाउँमा पर्यटकको चहलपहल राम्रै छ । त्यस्तै अन्नपूर्ण बेसक्याक्प, मर्दी हिमाल, खुमाई डाँडा ट्रेकिङ जाने पर्यटकहरू पनि उति कै संख्यामा रहेका छन् ।


Author

थप समाचार
x