खेलकुद

‘मैदान फर्कन हतार गर्दिनँ’

प्रविणबिक्रम कट्‍वाल |
चैत ४, २०७७ बुधबार ६:३३ बजे

काठमाडौँ : नेपाली फुटबललाई पूर्ण व्यवसायिक बन्‍न योगदान गर्ने भन्दै घोषणा गरिएको नेपाल सुपर लिग (एनएसएल) को मार्की खेलाडीको सूचीमा १२ घरेलु स्टार छन् । ती मध्ये विशाल राई र अन्जन बिष्ट क्रमशः धनगढी फुटबल क्लब र ललितपुर एफसीसँग आवद्व भइसके ।

एनएसएलका सात क्लबका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेणी ए, बी र सी गरी अन्य खेलाडीको सूची पनि उपलब्ध गराउने बताएको छ । मार्कीको वर्गिकरणमा परेका खेलाडी राष्ट्रिय टोलीको पहिलो रोजाइका सदस्यहरू हुन् । त्यस्तै श्रेणी ए मा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका र शहिद स्मारक ए डिभिजन लिग तथा उमेर समूहका अन्तराष्ट्रिय प्रतियोगितामा नाम बनाएकाहरु पर्ने अनुमान गर्न सकिन्छ । मार्की खेलाडीहरूको सूची केलाउँदा र श्रेणी ए मा पर्नसक्ने खेलाडीहरूको अनुमान गरिरहँदा छुट्ने नाम हो, विमल घर्ती मगर ।


एन्टेरियर क्रुसेट लिगामेन्ट (एसीएल) चोट बोकेका विमल हाल उपचारका लागि कतारी राजधानी दोहामा छन् । एन्फा कम्पलेक्सको मैदानमा भएको राष्ट्रिय टोलीको अभ्यास दौरान माघ ३ गते उनले घुँडाको चोट बोके । राष्ट्रिय टिमको क्याम्पमा करिब एक वर्षपछि फर्किएका विमल उत्साहित थिए । तर, उनको उत्साह निराशामा परिणत हुन धेरै समय लागेन । राष्ट्रिय टिमको अभ्यास सुरु भएको केही दिनपछि नै विमल नराम्रोसँग घाइते भए । 

‘बल मैदानमा झरिसकेको थिएन । मैले बायाँ खुट्टाले नियन्त्रणमा लिन खोजे । तर सकिन । ल्यान्ड हुँदा मेरो दायाँ खुट्टा मात्रै मैदानमा थियो । अनि बायाँ चाँहि विशाल दाई (राष्ट्रिय टोलीकै मिडफिल्डर विशाल राई) को काँधमा,’ २३ वर्षिय विमल आफू घाइते हुँदाको क्षण सम्झिन्छन् ।

विमल राष्ट्रिय टिममा पुनरागमन गर्ने धेयमा थिए । काठमाडौँमा आयोजित १० औँ साफ च्याम्पियनसिपबाट नेपालको सिनियर टिमका लागिका डेब्यु गरेका विमल कार्तिकको अन्तिम साता मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगेको नेपाली टिममा थिएनन् । उनले त्यसअघि खेलिएका कुवेतविरुद्वको खेल पनि गुमाएका थिए । नेपाली टिमको भविष्य मानिएका विमल पुनः एकपटक आफ्नो प्रतिभा प्रमाणित गर्ने लक्ष्यमा होमिएका बेला चोट भिलेन बनिदियो । विमलको लक्ष्यमा अवरोध गरिदियो । कमसेकम अहिलेका लागि ।

रिह्याबिलिटेसन
विमलको उपचार विश्वकै प्रख्यात अस्पटार अर्थोपेडिक एण्ड स्पोटर्स हस्पिटलमा भइरहेको छ । जहाँ राष्ट्रिय टिमकै अर्का सदस्य विक्रम लामाको पनि एक महिनाअघि शल्यक्रिया भएको थियो । विक्रम रिह्याबिलिटेसनमा व्यस्त रहँदा विमलको शल्यक्रिया एक साता अघि मात्रै भयो । चोट निको पार्न शल्यक्रियाको मद्दत लिन दोहा पुगेका विमल त्यसअघि ‘प्रि-रिहाब’ मा व्यस्त भए । सर्जरी गर्नु अघि उनलाई शारीरिकरुपमा बलियो बनाउन ‘प्रि-रिहाब’ को आवश्यकता थियो । अनि उनलाई हेरिरहेका सर्जन बिदामा घर गएपछि सर्जरीको मिति केही दिन पर धकेलियो । जे होस उनको मैदान फर्कने यात्राको पहिलो खुड्किलो पार भएको छ । उनी शल्यक्रियापछि ‘बेड रेस्ट’ मा छन् ।

पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग खेल्ने मौका नजुर्दा स्वभाविक रुपमा निराशा छ । यद्यपि मेरो निराशा खुसी भन्दा ठूलो छैन । म अर्को सिजन खेल्न पाउँछु होला । मुख्य कुरा नयाँ लिग सुरु हुने भयो, यो महत्वपूर्ण हो ।’ 

अब विमलले दोस्रो खुड्किलो पार गर्नुछ । त्यो भनेको सर्जरी पछिको रिह्याबिलिटेसन । जुन बुधबार देखि सुरु हुने तालिका छ । ‘सर्जरी पछिको एक साता म पूर्णरुपमा बेड रेस्टमा रहे । मलाई दाँया खुट्टा नटेक्नु भनिएकाले हिडँडुल खासै भएन । बेडमै बसेर सामान्य अभ्यास गरे । अब बुधबार देखि रिह्याबिलिटेसन सुरु हुन्छ । जुन मेरा लागि महत्वपूर्ण छ । रिह्याबिलिटेसनमा जति राम्रो गर्‍यो, मैदान फर्कने मिति त्यति नै नजिकिन्छ,’ दोहाबाट विमलले भने ।  

त्यसो त विमल मैदान फर्कन हतारिएका छैनन् । एसीएलबाट पूर्ण रुपमा ‘रिकोभर’ हुन थोरै समयले पुग्दैन । विमल यसबारे जानकार छन् । उनलाई चिकित्सक र फिजियोले रिकभरीमा पर्याप्त समय दिन र मैदान फर्कन हतार नर्गन सुझाव दिएका छन् । ‘म त केही दिनपछि नै खेल्नसक्छु जस्तो लाग्छ,’ विमलले हाँस्दै भने, ‘तर आफूले चाहेर मात्रै हुँदैन । म चिकित्सक र फिजियोको सुझाव अनुसार चल्नुपर्छ । बनाइएको तालिका अनुसार अगाडि बढ्नु पर्छ । ता की भविष्यमा फेरि समस्या नआओस ।’ 

नेपाली फुटबलमा एसीएलबाट पीडित भएका खेलाडी विमल पहिलो होइनन् । यसअघि रोहित चन्द पनि लामो समय एसीएलका कारण मैदान बाहिर रहे । विमल उनै रोहितबाट प्रेरणा लिँदै एसीएलबाट मुक्ति पाउने धेयमा छन् । ‘रोहित दाई एसीएल पछि पनि उक्तिकै बलियो हुनुहन्छ । उहाँको रिह्याबिलिटेसन राम्रो भयो । म पनि उहाँले जसरी नै रिह्याबिलिटेसनमा ध्यान दिएर मैदान फर्कन चाहन्छु । म दोहामै रिह्याबिलिटेसन सकेर नेपाल जाने सोचमा छु । त्यसका लागि मैले एन्फासँग पनि कुरा गरेको छु । सायद यही पूर्णरुपमा फिट भएपछि मात्रै घर फर्कन्छु,’ विमलले भने ।

एनएसएल र भविष्यको योजना 
विमल अर्को महिनाबाट हुन लागेको एनएसएल खेलाडीका लागि ठूलो मौका भएको मान्छन् । छोटो लिग हुने नेपालमा एनएसएलले खेलाडीलाई खेल्ने बाहेक कमाइ गर्ने मौका पनि दिने उनको भनाइ थियो । उनी आफैँ चाहिँ एनएसएलले प्रदान गरेको मौका गुमाउँदा कत्तिको निराश छन् ? ‘म खुसी पनि छु । अनि थोरै निराश पनि । एनएसएल नेपाली फुटबल विकासका लागि महत्वपूर्ण सावित हुनसक्छ । त्यसकारण म खुशी छु,’ विमल भन्छन्, ‘पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग खेल्ने मौका नर्जुदा स्वभाविक रुपमा निराशा छ । यद्यपि मेरो निराशा खुसी भन्दा ठूलो छैन । म अर्को सिजन खेल्न पाउँछु होला । मुख्य कुरा नयाँ लिग सुरु हुने भयो, यो महत्वपूर्ण हो ।’ 

विदेशी लिगको सपना देखे पनि चोटमुक्त विमलको माग नेपाली फुटबलमा पनि हुने नै छ । ए डिभिजन लिग र एनएसएलको दोस्रो संस्करण दुवैमा । जता खेले पनि उनको अगाडि एउटा बलियो चुनौति उभिएको हुनेछ । सानै उमेरमा नेपाली फुटबललाई देखाएको प्रतिभालाई निरन्तरता दिने । आफूसँग भएको कौशललाई निखार्दै राष्ट्रिय टोलीका लागि योगदान गर्ने र जुनसुकै क्लबको जर्सीमा खेले पनि उपाधि जित्‍ने ।

नेपाली फुटबलको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान राखेका विमलले भारतदेखि माल्दिभ्ससम्मको लिग खेलेका छन् । युरोप पुगी ट्रायल दिएका छन् । सानै उमेरमा पाएको ठूलो उचाइको महत्व विमललाई थाहा नभएको होइन । अनि करियरमा आइपरेका उतारचढाब आफ्ना लागि सिकाई भएको पनि उनले बुझेका छन् । विमलको जीवनमा एसीएल नआएको भए उनी सायद हाल माल्दिभ्समा हुन्थे । घाइते हुनुअघि उनी माल्दिभ्सको पहिलो श्रेणीमा खेल्ने क्लब इगल्ससँग कुराकानीमा थिए । विमलसँग यसअघि पनि माल्दिभ्समा खेलेको अनुभव छ । गोलरक्षक किरण चेम्जोङले खेलेकै टिसी स्पोटर्समा विमलले केही महिना बिताएका थिए । 

एसीएलबाट मुक्त भएपछि विमलको योजना के हो ? उनी भन्छन्, विदेशी लिग नै । ‘प्रयास त विदेशी लिग खेल्ने नै हुनेछ । कता भन्‍ने चाँहि थाहा छैन । पहिले त चोटमुक्त हुनुपर्‍यो । अनि सबैतिरका लागि प्रयास गर्छु । युरोपका क्लबका लागि ट्रायल दिने सोच पनि छ । अनि दक्षिण एसियाका लिग त छदैँछन् ।’  

विदेशी लिगको सपना देखे पनि चोटमुक्त विमलको माग नेपाली फुटबलमा पनि हुने नै छ । ए डिभिजन लिग र एनएसएलको दोस्रो संस्करण दुवैमा । जता खेले पनि उनको अगाडि एउटा बलियो चुनौती उभिएको हुनेछ । सानै उमेरमा नेपाली फुटबललाई देखाएको प्रतिभालाई निरन्तरता दिने । आफूसँग भएको कौशललाई निर्खादै राष्ट्रिय टोलीका लागि योगदान गर्ने र जुनसुकै क्लबको जर्सीमा खेले पनि उपाधि जित्‍ने ।


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x