खेलकुद

युरोपियन फुटबल राउन्डअप

बार्सिलोना रोकियो, रियल र बार्यन शीर्षस्थानमा फर्किए

एजेन्सी |
कात्तिक १६, २०७७ आइतबार १५:१३ बजे

ला-लिगा 
ला-लिगामा बार्सिलोनाको तनावपूर्ण साता अलाभेससँगको ०-० बराबरीसँगै अन्त्य भएको छ । शनिबार दस जनामा सिमित अलाभेसलाई हराउन नसकेको बार्सिलोनालाई आउँदो साता थप चुनौतिपूर्ण हुने देखिएको छ ।

अलाभेसको मैदानमा भएको खेलमा लुइस रिओजाले पहिलो हाफको ३१ औ मिनेटमा गोल गर्दै घरेलु टीमलाई अग्रता दिलाए । दोस्रो हाफमा अलाभेस दस जनामा सिमित हुदाँ एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । 


लगातारको विवाद र आर्थिक समस्याबाट गु्रजरिहेको क्याटलन क्लबका अध्यक्ष जोसेप मारिया र्बातोमेउले यसै सातामात्रै राजीनामा दिएका थिए । मैदान बाहिरको समस्याले बार्सिलोनालाई स्पेनिस प्रेसमा लगातार हेडलाइन बनाइरहदा उसले जारी सिजनमा कुमनको नेतृत्वमा अपेक्षित नतिजा निकाल्न सकिरहेको छैन । 
 
यसैबीच, बार्सिलोनाको आगामी निर्वाचनका लागि अध्यक्षमा उठ्न तयारी गरिरहेका भिक्टर फन्टले पेप गर्डिओलालाई प्रशिक्षकका रुपमा फर्काउने उद्घोष गरेपछि कुमनको भविष्य अन्योलमा परेको छ । अलाभेससँगको बराबरीपछि पूर्वबार्सिलोना खेलाडी कुमन थप दबाबमा परेका छन् ।  

उता, बार्सिलोनाको प्रतिद्वन्द्वी रियल म्याड्रिडले हुएस्कालाई ४-१ ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जिनेदिन जिदानको टोलीको जितमा करिम बेन्जेमाले दुई गोल गरे भने एडन हाजार्ड र फेडेरिको भालभार्डेले एक-एक गोल थपे । हाजार्डको गोल रियलका लागि एक वर्षपछिको पहिलो थियो ।  रियलको ला-लिगामा सात खेलबाट १६ अंक छ भने दोस्रो स्थानमा रहेको रियल सोसिडाडले एक खेल कम खेल्दै १४ अंक बनाएको छ । 

स्पेनिस लिगमै एथलेटिको म्याड्रिडको अपराजित यात्रा भने कायमै छ । उसले लगातार तेस्रो जित निकाल्ने क्रममा शनिबार ओसासुनालाई ३-१ गेलअन्तरले हरायो । सो खेल जोआवो फेलिक्सका लागि यादगार रह्यो । उनले दुई गोल गरे भने एउटा पेनाल्टीमा चुके । एथलेटिकोका लागि अर्को गोल यसै सिजन आर्सनलबाट आएका लुकास टोरेराले गरे । 

बुन्डेसलिगा 
शनिबार नै जर्मन बुन्डेसलिगामा लिग च्याम्पियनमा बार्यन म्युनिख एफसी कोलोनमाथि २–१ को जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा फर्किएको छ । बार्यनको जितमा थोमस मुलर र सर्ज गनाब्रीले एक-एक गोलको योगदान गरे । जितसँगै बार्यनको ६ खेलबाट १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरूसिया डर्टमन्डको पनि समान खेलबाट १५ अंक नै छ । 

डर्टमन्डले बार्यनसँग अंक बराबर गर्न अर्मिनिया बिलफिल्डलाई २-० ले हरायो । खेलमा दुबै गोल माट ह्युमल्सले गरे । सोही लिगमा बोरुसिया मन्चुनग्लाडबागले आरबी लाइपजिगलाई १-० ले पराजत गर्‍यो । हारका बाबजुत लाइपजिग लिगको तेस्रो स्थानमा छ भने मन्चुनग्लाडबाग चौथो स्थानमा छ । 

सिरी ए 
लुइस मुरिएलले दुई गोल गरेपछि एटलान्टाले शनिबार सिरी ए मा क्रोटोनलाई २-१ ले हरायो । जितपछि एटलान्टा अंक तालिकाको दास्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १२ अंक भएको छ । एक खेल कम खेलेको एसी मिलानको १३ अंक छ । 

उता इन्टरमिलान भने पार्मासँग २-२ ले रोकियो । पार्माका लागि आर्सनलका पूर्वफर्वाड जर्भिन्होले दुई गोल गरे भने इन्टरका लागि मार्सेलो ब्रोजोभिच र इभान पेरिसिचले गोल फर्काए । अंक तालिकामा पाँचौ स्थानमा रहेको इन्टरको ६ खेलबाट ११ अंक छ । पार्मा भने छ खेलबाट पाँच अंक बटुल्दै सोर्हौ स्थानमा छ ।
 


Author

थप समाचार
x