खेलकुद

यू-१९ क्रिकेट विश्वकप

के नेपालले भोलि पाकिस्तानविरुद्ध एसिया कपमा हारेको बदला लिन सक्ला ?

सञ्जीव शाह |
माघ ९, २०८० मंगलबार १३:४५ बजे

तस्बिरः एसीसी

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार पाकिस्तानको सामना गर्नेछ । समूह 'डी' मा रहेका नेपाल र पाकिस्तानबीचको खेल इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयअनुसार दिउँसो १:४५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा नेपाल र पाकिस्तानले दुवैले आ-आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि पहिलो खेलमा नेपालले न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जित हात पारेको थियो ।


सुपर सिक्सको सम्भावना कायम राख्न बुधबारको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्नुपर्ने छ । अर्कोतर्फ नेपाललाई पराजित गरेको खण्डमा पाकिस्तान भने सुपर सिक्समा पुग्नेछ ।

१६ टिम सहभागी प्रतियोगिताको सबै चार समूहबाट समान ३-३ टिम सुपर सिक्समा पुग्ने तालिका रहेको छ ।

त्यसैले बुधबारको पाकिस्तानलाई पराजित गर्न सकेन नेपालको सुपर सिक्सको सम्भावना कायम रहने छ ।

त्यतिमात्र नभएर गत डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको एसीसी एसिया कपको समूह चरणमा भोगेको पराजयको बदला समेत नेपालले लिन सक्छ ।

खासमा यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जित हात पारेको इतिहास छ ।

सन् २००० मा श्रीलंकामा भएको यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीचको खेल पूरा हुन सकेन । पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय ९५ रन बनाएको थियो । जवाफमा नेपालले १२ ओभरमा २४ रन बनाएर ४ विकेट गुमाउँदा खेल हुन सकेन ।

त्यसको दुई वर्षपछि नेपाल र पाकिस्तानबीच पुनः विश्वकपमा भेट भयो । सन् २००२ मा न्यूजिल्यान्डमा भएको विश्वकपमा भने नेपालले समूह चरणमै पाकिस्तानलाई ३० रनले पराजित गर्यो ।

विनोद दासको कप्तानीमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा बर्दान चालिसेले नेपालका लागि सर्वाधिक ४२ रन जोडे भने शक्ति गौचन र संजम रेग्मीले समान ३-३ विकेट हात पारेका थिए ।

तर, सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपअन्तर्गत पाँचौँ स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा पाकिस्तानले नेपाललाई १ सय २२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

पाकिस्तानले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४३ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३६ मात्र बनाउन सक्यो । नेपालका लागि प्रेम तामाङले सर्वाधिक ६५ रनको योगदान गरेका थिए ।

पाकिस्तानका लागि भने हसन मोहसिनले १ सय १७ रन बनाएका थिए भने सैफ बाबरले ८८ रन जोडेका थिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ तथा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट र सुशिल कँडेलले १ विकेट हात पारेका थिए ।

यता गत डिसेम्बर मै युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको एसीसी यू-१९ एसिया कपको समूह चरणमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गर्‍यो ।

एसिया कपमा पहिले ब्याटिङ गर्दै नेपालले ४७ ओभर २ बलमै सबै विकेट गुमाएर १ सय ५२ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ तथा दिपेश कँडेलले ३१ रन बनाएका थिए । पाकिस्तानी बलर मोहम्मद जिसनले सर्वाधिक ६ विकेट हात पार्न सफल भए ।

पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गर्दा अजान अवाइसले ५६ रन तथा कप्तान साद बेगले ५० रन बनाएका थिए ।

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको पहिलो खेलमा भने पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गरेको थियो । उक्त खेलमा ओपनर सहजेब खानले १ सय ६ रन तथा कप्तान साद बेगले ५५ रन बनाए ।

त्यसैगरी, एसिया कपमा नेपालविरुद्ध ६ विकेट हात पारेका मोहम्मद जिसनले विश्वकपमा अफगानिस्तानविरुद्ध २ विकेट लिए । खलिल अहमदले ४ विकेट हात पारे ।

अर्कोतर्फ नेपालले भने पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध ६४ रनको पराजय भोग्यो । ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन बनायो ।

अर्जुन कुमालले ९० रन बनाए पनि उनले नेपाललाई जित दिलाउन सकेनन् । त्यसैगरी, न्यूजिल्यान्डविरुद्ध सुवाश भण्डारीले ३ तथा गुल्सन झाले २ विकेट हात पारे ।

तर एसिया कपमा पाकिस्तानविरुद्ध २१ रन बनाएका अर्जुन कुमालबाट विश्वकपमा पनि पाकिस्तानसँगको खेलमा उत्कृष्ट खेलको अपेक्षा हुनेछ । त्यसैगरी, न्यूजिल्यान्डविरुद्ध ३३ रन बनाएका सुवाश भण्डारीको पनि अलराउन्ड प्रदर्शनको अपेक्षा रहने छ ।

यता एसिया कपमा पाकिस्तानविरुद्ध २ विकेट तथा विश्वकपमा न्यूजिल्यान्डविरुद्ध पनि २ विकेट हात पारेका गुल्सन झाबाट पाकिस्तानविरुद्ध विश्वकपमा पनि अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ । पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध ३६ रन बनाएका कप्तान देव खनालको योगदान महत्वपूर्ण हुनेछ ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x