समाज

संस्कृतिविद् ग्वंगःले नदेखेको ध्रुवेश्वरीको कथा

सृजना खड्का |
फागुन २५, २०७८ बुधबार ८:५ बजे

काठमाडौँ- ध्रुवेश्वरी ग्वंगःको बिहे २३ वर्षको उमेरमा भयो । यो उमेरपछि मात्र उनी कामधन्दा, परिवारको स्याहारसुसारमा जोतिएकी हैनन्, माइतीमा पनि उनी आफू भएर कम, परिवारको सदस्यको सहयोगी भएर बढी बाँचिन् । 

बिहेपछि श्रीमान्को घर आइन् । जहाँ उनलाई पर्खिरहेका थिए, श्रीमान्को परिवार । उनी लागिन्, परिवार सम्हाल्न । श्रीमती गुमाइसकेका एकल ससुराको स्याहार उनैले गरिन् । आमा गुमाइसकेका ससाना देवर–नन्दको रेखदेख पनि उनैले गरिन् । खुसीसाथ गरिन् । आफ्ना तीन जना छोराछोरीको स्याहार उनैले गरिन्, यो त भन्नैपरेन । नेपाली समाजमा आमाको भूमिका र बाबुको भूमिकामा कति फरक व्यावहारिक कानुन छ, यो ध्रुवेश्वरीलाई लागू नहुने कुरै छैन । 


राणाकालमा जन्मेकी ध्रुवेश्वरी ग्वंगः ८० पुग्दैछिन्, यो उमेरसम्म उनको संसार भनेकै जहानियाँ अर्थात् जहान–परिवार वरिपरि नै घुमिरह्यो । उनी आफ्नो इच्छामा होइन, परिवारको इसारामा बाँचिन् । भलै उनले ‘इसारा’लाई वा परिवार–आफन्तकै खुसीलाई आफ्नो इच्छा भनेर नअथ्र्याऊन् ! ध्रवेश्वरी अपवाद हैनन्, नेपाली समाजका आमा–हजुरआमाको औसत जीवन यसरी नै बाँच्यो, जसले खुसीलाई वैयक्तिक हैन, पारिवारिक ठान्यो । 

ध्रुवेश्वरी भक्तपुरको नासमना टोलमा जन्मिइन् । उनी पाँच कक्षा पढ्दा दिदीको बिहे भयो । दिदीको बिहेपछि घरमा काम गर्ने मान्छे कोही भएन । स्कुलमा ध्रुवेश्वरीको नाम काटियो । ‘दिदीको बिहे भएपछि अब बहिनीले पढ्नु हुँदैन भनेर स्कुलमा नाम काटिदिनुभयो,’ उनले सुनाइन्, ‘त्यो बेला छोरी मान्छेले स्कुल छाडेर भए पनि घरको काम सिक्नुपर्थ्यो ।’

स्कुल छुटेको दिनदेखि घरको कामले उनलाई कहिल्यै फुर्सद मिलेन । तैपनि, आमालाई सघाउँदै स्वेटर बुन्ने र लुगा सिलाउने काम पनि गर्न थालिन् । २३ वर्षको हुँदा उनको पनि बिहे भयो । ध्रुवेश्वरीसँग बिहे हुँदा तेजेश्वरबाबु ग्वंगः साहित्यकारका नामले चिनिने भइसकेका थिए । ऊ बेलै उनले एमए गरिसकेका थिए । सपना देख्न स्वतन्त्र थिए, उनी । ध्रुवेश्वरी घरमा भित्रिएपछि तेजेश्वरबाबु झनै स्वतन्त्र भए । आफ्नो भागको भारीसमेत श्रीमतीलाई बोकाएर उनी देश–विदेश निस्किए । 

ऊ बेला चिउरा कुट्ने मेसिन थिएन, सबै हातैले गर्नुपर्थ्यो । सिमेन्टेड घर थिएनन्, लिपपोत गर्नुपर्थ्यो । महिनैपिच्छे चाडपर्व आउने, पकाइतुल्याईमा जहिल्यै व्यस्त । श्रीमान्को खटाइ जस्तै खटाइ उनको पनि थियो । तर, श्रीमान् पढाइ लेखाइमा खटिन्थे । उनी परिवार र आफन्त रिझाउन खटिन्थिन् । 

बिहान देवर र श्रीमान्लाई अफिस पठाउने तयारी गर्नुपर्थ्यो । दिनभरि ससुराको स्याहारमा हाजिर हुनुपर्थ्यो । ‘ससुरा हुँदा घर नजिकैको माइत पनि जान पाइनँ,’ उनले भनिन्, ‘जान्छु भन्यो भने मलाई कसले चिया पकाएर खुवाउँछ ? भन्नुहुन्थ्यो । त्यसो भनेपछि माया लाग्थ्यो, कतै जान मन लाग्दैनथ्यो । मेरै स्याहारमा उहाँ ९९ वर्षको उमेरमा बित्नुभयो ।’

सानैमा सिकेको हुनाले ध्रुवेश्वरीलाई सिलाइ–बुनाइको काम आउँथ्यो । घरधन्दाबाट फुर्सद मिल्नासाथ उनी स्वेटर बुन्ने, लुगा सिलाउने गर्थिन् । आम्दानी पनि राम्रै हुन्थ्यो । एक समय उनलाई आफूले सिकेको सीप अरुलाई सिकाउने धोको पलायो । पाँचओटा सिलाइ मेसिन किनिन् । अरुलाई पनि सिलाइको तालिम दिन थालिन् । तर, केही वर्षपछि ती मेसिन थन्किए । सिलाइ मेसिन थन्क्याएर उनी परिवारका सदस्यको खुसी सिलाउन–टाल्न अभ्यस्त भइन् । सिलाइको कामलाई व्यावसायिक हिसाबमा लैजान सकेको भए ध्रुवेश्वरी अहिले महिला उद्यमीका रूपले चिनिन्थिन् । ‘त्यसलाई ठूलो गरेर, बोर्ड राखेर गर्न सकेको भए अहिले धेरै राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘तर, उहाँ आफू मात्र अगाडि बढ्न खोज्नुभयो । मलाई घरको काम गर, सबैको हेरविचार गर मात्रै भन्नुभयो ।’

अफिसबाट फर्किदा तेजेश्वरबाबु तीन–चार जना साथी लिएर आउँथे । ध्रुवेश्वरी घरमा भएको मीठो–पिठो बनाएर खुवाउँथिन् । ‘उहाँका साथीहरू भाउजूले बनाएको साह्रै मीठो भन्दै खान्थे,’ उनले भनिन्, ‘सानैदेखि आमाले घरमा आएका पाहुनालाई खुसी बनाउनुपर्छ भनेर सिकाउनुभयो । अहिले पनि घरमा कोही आयो भने सबै ध्यान उनीहरूलाई कसरी खुसी बनाउने भन्नेमै जान्छ ।’

तेजेश्वरबाबु अमेरिका, जापान, कोरियालगायत दर्जन बढी देश घुमिसके । तर, ध्रुवेश्वरी मुस्किलैले नेपालका दर्जन जिल्ला पुगेकी छिन् । तीन दशक उमेर कटेपछि बल्ल उनले पहिलो पटक उपत्यका छाडेकी थिइन् । काठमाडौँ, ललितपुर र भक्तपुरपछि उनले पहिलोपटक पाइला राखेको जिल्ला झापा हो । त्यहाँ उनलाई तेजेश्वरबाबुले लिएर गएका थिए । बाँकी केही जिल्ला बुढेसकाल लागेपछि साथीभाइसँग तीर्थ जाँदा उनी पुगेकी छिन् । 

ध्रेुवेश्वरीलाई घरबाट कतै बाहिर निस्किनुपर्दा मुटु काम्छ । हातखुट्टा लल्याक्लुलुक हुन्छ । ‘बाहिर कतै जानुप¥यो भने पिर लाग्छ,’ उनले भनिन्, ‘भोलिपल्ट बाहिर जानु छ भने अघिल्लो दिन डरले निद्रै लाग्दैन । उहाँजस्तो बोल्न सक्ने टाठोबाठो छैन । बाहिर निस्किँदा केही होला कि भनेर जानुभन्दा महिना दिन अगाडिदेखि थरथर काम्छु ।’

उमेर हुँदा उनलाई ससुराको स्याहार गर्नुपर्ने दायित्वले पछ्याइरह्यो । घर छाडेर बाहिर निस्किन मन मानेन । ससुरा बितेपछि छोराछोरीलाई छाडेर निस्किन मन लागेन । अहिले ८७ वर्षका श्रीमान्लाई छाडेर हिँड्ने कुरै भएन । ‘अहिले त झन् उहाँलाई एकछिन पनि छाड्न मिल्दैन,’ उनले भनिन्, ‘लडेर चोट लाग्ला भनेर दिनभरि उहाँ जता–जता जानुहुन्छ, त्यतै–त्यतै जानुपर्छ ।’

तेजेश्वरबाबुलाई एकदमै सफासुग्घर चाहिन्छ । एक ठाउँमा राख्नुपर्ने सामान अर्को ठाउँमा भयो भने पनि उनी कराउँछन्, रिसाउँछन् । ‘भुइँमा एउटा सानो टुक्रा खस्यो भने पनि गाली गर्ने बानी छ,’ ध्रुवेश्वरीले भनिन्, ‘जतिसक्दो उहाँलाई खुसी बनाउने कोसिस गर्छु तर जति गर्दा पनि कतै न कतै चुकिहालिन्छ । गाली खाइहालिन्छ ।’

ध्रुवेश्वरी र तेजेश्वरबाबुकाका तीन सन्तान सबैले पढेका छन् । तर, ध्रुवेश्वरीको पढाइ छुटेको छुट्यै भयो । राजधानी उपत्यकामै घर–माइती भएर होस् वा श्रीमान्–परिवार पढाइको महत्व बुझ्नेछन् भन्दैमा महिलाका लागि अक्षर साथी हुन पाउँदैन । 

तेजेश्वरबाबु प्रायःजसो ध्रुवेश्वरीलाई ‘तिमी पढेकी छैनौ’ भन्छन् । यसो भन्दा ध्रुवेश्वरीलाई हेपेको महसुस हुन्छ । असाध्यै चित्त दुख्छ । ‘चित्त दुखे पनि के गर्नु माइती जान आमाबुवा छैनन्,’ उनले गुनासो पोखिन्, ‘मेरो जिन्दगी उहाँलाई खुसी पारौँ, सजिलो पारौँ भन्दैमा गयो । तर, फेरि पनि चित्त उहाँले नै दुखाउनु हुन्छ । पढेको भए पो सबै थाहा हुन्छ भनेर होच्याउनु हुन्छ ।’

श्रीमान्ले जहिल्यै पढेको छैन भनेरै पनि उनले कहिल्यै केही बन्ने सपना देखिनन् । उद्यमी बन्ने आँट गरिनन् । ‘मलाई जहिल्यै पनि पढेको छैन, म केही गर्न सक्दिनँ भन्ने लागिरह्यो,’ उनले सुनाइन्, ‘घरमा आउने सबैले कति पढ्नुभएको छ भनेर सोध्दा मनमा चसक्क बिझ्छ । पढाइ नभएपछि के गर्नु ? काम गर्ने, अरुलाई खुसी बनाउने ।’
अहिलेको पुस्ता आफ्नो खुट्टामा उभिएको देखेर ध्रुवेश्वरीलाई खुसी लाग्छ । ‘मैले पनि पढ्न पाएको भए उनीहरूजस्तै गाडी, मोटरसाइकल हाँक्न सक्थेँ होला,’ उनले भनिन्, ‘उहाँको नामबाट त मलाई धेरैले चिन्छन् । पढ्न पाएको भए म पनि आफ्नै नामले चिनिन्थेँ होला ।’

उनी पत्रिकाका नेपाली अक्षर पढ्न सक्छिन् । तर, तेजेश्वरबाबु जसरी पत्रिका पढ्ने फुर्सद उनलाई कहाँ हुनु ? अहिले पनि पढ्नेभन्दा बढी उनको ध्यान घरको काममै जान्छ । ध्रुवेश्वरीलाई मन नपर्ने घरको काम केही छैन । घरमा मान्छे आए र पकाएर खुवाउन पाइयो भने उनी खुसी हुन्छिन् । तेजेश्वरबाबु भने भान्सामा खासै जाँदैनन् । गए भने पनि पकाउन होइन, यसरी पकायो भने मीठो हुन्छ भनेर अह्राउन जान्छन् । 

अझै पनि दिनहुँजसो मानिस उनीहरूको घर आउँछन् । ध्रुवेश्वरीले पकाएको खान्छन् । उनीहरूलाई तेजेश्वरबाबु देश–विदेशका अनुभव दिनभरि ब्रेक नलगाई सुनाइरहन्छन् । तेजेश्वरबाबुले सुनाउन नभ्याएका धेरै कुरा बाँकी छन् । जसलाई उनी एउटा रेकर्डर किनेर रेकर्ड गर्ने विचारमा छन् । किनभने, आउने पुस्तालाई उनले आफ्नो विद्वता र स्वतन्त्रताको भरपुर कथा सुनाउनु छ ।
भनिन्छ, ‘इतिहास जसको लेखिन्छ, उसैको पढिन्छ ।’

तेजेश्वर किताबमा होस् वा अखबारमा बरोबर आइरहने नाम हो । उनी संस्कृतिविद् हुन् । उनी आफ्नो लेखक व्यक्तित्वमा श्रीमतीको ठूलो हात छ भन्ने स्वीकार्छन् । तर, उनको स्वीकारोक्तिमा यति पुरुषवादी सोच देखिन्छ कि उनले श्रीमतीको खुसी के थियो भन्नेमा कहिल्यै सोचेनन् । बरु उनी श्रीमतीले घरपरिवार सम्हालिदिएर आफू फुक्काफाल लेखक हुन पाएकामा दंग छन् । भन्छन्, ‘उनले घर 

हेरिदिएको भएर म संसार डुल्न सकेँ । उनले नहेरेको भए डुल्न सक्निथेँ । मलाई पासो लाग्थ्यो । तर, मेरो भागको पासो पनि उनैले लियो ।’संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःसँग जोडिएको जीवककथा भएकाले मात्र यहाँ उनको प्रसंग आयो तर तेजेश्वर नेपाली समाजका अपवाद हैन, प्रतिनिधि पति हुन् । तर, पढेलेखेको व्यक्तिबाट अझ लेखक भएर चिनिएको व्यक्तिबाट समाजले केही न केही त अपेक्षा गर्छ नै, तर पत्नीको अपेक्षासमेत उनले यो कुराकानीका क्रममा पहिलोपल्ट सुने । रमाइलो त के छ भने, यो कुराकानीका् बीचमा उनी ‘ल तपाईंहरु कुरा गर्दै गर्नुस् है’ भनेर अर्कोतिर लागे । 

तेजेश्वरबाबुलाई ‘व्यक्ति’बाट ‘विद्’ बन्न प्रशस्त स्वतन्त्र वातावरण दिने ध्रुवेश्वरी इतिहासको पानामा कतै छैनन् । ध्रुवेश्वरीका भोगाइ न सुनिएका छन्, न त रेर्कड नै भएर आर्काइभमा छन् । 
ध्रुवेश्वरी जीवनभर कामै कामको लामो शृंखला हो तर, नामैनामको शृंखलामा ध्रुवेश्वरी र ध्रवेश्वरीहरू मौन छन्, गयल छन् र गुमनाम छन् । 
 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x