समाज

छाला चाउरियोस्, मन पो चाउरिनु भएन

'फरक मान्छे'लाई समाजले के दिन्छ ? एउटा दृष्टान्त

सृजना खड्का |
माघ १६, २०७७ शुक्रबार १८:४९ बजे

काठमाडौँ : उनी निर्धक्क थिइन् । स्वतन्त्र थिइन् । फुलबुट्टे घाङ्गर लगाएर निष्फिक्रीरुपमा गाउँ चाहर्थिन् । न सलले अनुहार ढाक्थिन्, न कोही नयाँ मान्छे अघि पर्दा संकोच मान्थिन् । उनको बाल्यकाल यसरी नै बित्यो । 

अहिले ती क्षणहरू सम्झिँदा अचम्ममा पर्छिन्, उनी । वास्तवमा संकोच भनेको के हो ? उनलाई थाहा थिएन । सुन्दर के हो ? कुरुप के हो ? उनलाई थाहै थिएन । तर, समाजले उनलाई सुन्दर र कुरुपको परिभाषा सिकायो।


उनी अर्थात सिन्धुपाल्चोक, बरम्चीकी मुना सुनुवार (३३) लाई आफ्नो बाल्यकाल जीवनको सबैभन्दा सुनौलो क्षण लाग्छ । जुनबेला उनलाई आफूमा ‘भास्कुलर मालफर्मेसन’ भएको ज्ञान थिएन । समाजले भन्ने गरेको सुन्दरताको बारेमा जानकारी थिएन । भविष्यमा के–कस्ता अन्टसन्ट प्रश्न र प्रतिक्रियाको सामना गर्नुपर्ने हो भन्ने पनि उनले कल्पना गरेकी थिइनन् ।

‘भास्कुलर मालफर्मेसन’ले गर्दा उनको अनुहार र शरीरमा रगत जमेको जस्तो देखिने दागहरू छन् । ती दाग उनले जन्मिँदै लिएर आएकी हुन् । त्यो उनको जन्म चिनो हो । तर, जब उमेर बढ्दै गयो फक्रिँदै जानुपर्ने मुना बिस्तारै ओइल्याउँदै गइन् ।

समाज र सलको साहारा

उनको अनुहारलाई लिएर प्रश्न र प्रतिक्रियाका तीर चल्न थाले । समाजले भन्न थाल्यो, ‘यस्तो अनुहार परेकीले कसरी घर गरी खाली ?’ साथीभाइले ठोकुवा गर्न थाले, ‘तेरो बिहे हुँदै हुँदैन ।’

आठ वर्षको उमेरसम्म मुना सिन्धुपाल्चोकमै बसिन् । नौ वर्ष लाग्दै गर्दा घरको आर्थिक अवस्थाले उनलाई काठमाडौँ डोर्‍यायो, अरुको घरमा काम गर्ने र स्कुल पढाउने वाचासहित काठमाडौँ ल्याइएकी मुना पढ्न नपाएपछि घरै फर्किइन् । तर, १२ वर्षको उमेरमा उनी फेरि काठमाडौँ आइन् । त्यसपटक उनले काम गर्नुपर्ने थियो, होटलमा । 

त्यहीँबाट हो, उनको जीवनले अर्को मोड लिएको । उनको स्वतन्त्रता बन्दी भएको । अरुले देख्लान् भनेर आधा अनुहार सलले ढाक्न थालेको । त्यो दिन उनको मानस्पटलमा अझै ताजै छ । जुन दिन होटलकी साहुनीले उनलाई भनेकी थिइन्, ‘नानी दाग भएको जति भागलाई सलले छोप्ने गर । तँ ओठभन्दा माथि साह्रै नै राम्री छेस् ।’

अहिले मुनालाई लाग्छ साहुनीले त्यसदिन उनलाई फुक्र्याउन होइन । उनको अनुहार देखेर ग्राहक फर्केलान् भनेर त्यसो भनेकी थिइन् । त्यो बेला पेटको सवाल थियो । साहुनीले भनेको कुरा मुनालाई ठीकै लाग्यो । कुनै प्रतिवाद नगरी त्यो कुरालाई उनले सहर्ष स्विकारिन् ।

त्यस दिनदेखि मुना बाहिर निस्किँदा ओठभन्दा मुनिको भाग सधैँ सलले बेरेर हिँड्न थालिन् । एक्लै हुँदा मात्रै उनी खुला भएर बस्थिन् नत्र उही सलको साहारा ।

स्विट सिक्सटिन’को त्यो नमिठो निर्णय

अरुले आफ्नोबारे विभिन्न धारणा बनाउन थालेपछि एक समय उनले जीवनदेखि नै हरेस खाइन् । स्विट सिक्सटिनको मीठो उमेरमा नमिठो निर्णय लिने सोच गरिन् । उनले आत्महत्याको कोशिस गरिन् । किनभने, उनलाई आफ्नै अनुहारदेखि डर लाग्न थालेको थियो । त्यसमाथि अरुले नुनचुक छर्किदिँदा उनलाई जीवनदेखि नै दिक्दार लाग्न थालेको थियो ।  ‘यस्तो अनुहार लिएर बाँच्नुभन्दा मर्नु नै बेस भनेर झुण्डिएर आत्महत्या गर्ने कोसिस गरेँ तर गर्न भने सकिँन,’ मुनाले विगत सम्झिइन् ।

तर, उनको यो सोचलाई शक्तिमा बदल्यो सुष्मा कोइराला मेमोरियल अस्पतालले ।

विशेषगरि गर्मी महिनामा मुनालाई निकै सकस हुन्थ्यो । सलले अनुहार ढाकेर हिँड्दा पसिना आउँथ्यो । त्यो पसिनाले दाग भएको ठाउँ चिलाउँथ्यो । फोका उठेर घाउ बन्थ्यो, पाक्थ्यो । एकै दिनमा दुईतीन वटा सल फेर्ने गर्थिन् उनी ।

एकपटक त्यस्तै भयो । दागमा बिस्तारै ट्युमर पलाउन थाल्यो । अनुहार ढाक्न प्रयोग गर्ने सस्तो सलले त्यसलाई मलजल गर्ने काम गर्‍यो । ट्युमर पाकेर रगत आउन थाल्यो । यसले मुनाको ज्वरो नै फुटायो ।

एकजना आफन्तको सल्लाहमा उपचारको लागि उनी सुष्मा कोइराला अस्पाताल गइन् । त्यति बेला उनी १७ वर्षकी थिइन् । सुष्मा कोइराला अस्पतालभित्र छिरेपछि उनमा जुन आत्मबल आयो त्यो शव्दमा वर्णन गर्न सक्दिनन् । ‘त्यहाँ पुगेपछि मैले कोही आँखा नभएको, कोही नाक नभएको, कोही ओठ नै नभएका मानिस देखेँ,’ उनले भनिन्, ‘उनीहरूका अगाडि मेरो घाउ मलाई घाउ नै लागेन । त्यो दिनदेखि म आँटिली भएँ ।’

वीरमानसँगको भेट

दागमा ट्युमर बढेपछि उनले अप्रेसन गराइन् । अप्रेसन गरेर ट्युमर निकालियो । ट्युमर निकालेपछि खाली ठाउँ पुर्न पेटको मासु लगेर ‘रिकन्स्ट्रक्टिभ सर्जरी’ गरियो । उनको अनुहार बेग्लै भयो । ‘सर्जरी गरेपछि मलाई छुट्टै किसिमको आत्मबल मिल्यो,’ उनले भनिन्, ‘सर्जरीले मेरो अनुहार मात्रै फेरिएन जीवनप्रतिको दृष्टिकोण पनि फेरियो ।’

अस्पतालबाट जुटेको आँट उनले आफ्ना जीवनमा उपयोग गरिन् । होटलको भाडा माझ्न छाडेर आफूसँग भएको १२ सयमा एउटा स्टोभ, एउटा ताप्के र दुईतीन ओटा सिसाका गिलास किनिन्  । र ललितपुर, टंगालस्थित ढुङ्गेधारा नजिकै चिया बेच्न थालिन् ।

त्यहाँ उनको भेट भयो ललितपुर, भट्टेडाँडाका वीरमान तामाङसँग । चिया खान आउँदा वीरमानले चिया मात्र खाएनन् मुनाको मन पनि खाए । मुनालाई सानोमा साथी तथा आफन्तले ‘तेरो बिहे पनि हुँदैन’ भनेर वचन लाएका थिए । तर, २०६४ सालमा उनीहरूको भविष्यवाणी वीरमान र मुनाले फेल ख्वाए । पात्रोमा लगन जुराए वा माथीबाटै जुरेर आएको थियो । त्यो दिन उनीहरूले धुमधामसित बिहे गरे । अहिले उनीहरूका दुई सन्तान छन्, साजन र सन्ध्या ।

१४ वर्षे पारिवारिक जीवनमा उनीहरूको कहिल्यै झगडा परेन । एकअर्कासँग उँचो स्वर गर्नुपरेन । मुनाको अनुहार र शरीरको दाग न उनीहरूको प्रेमको बीचमा आयो न पारिवारिक जीवनमा । मुनाको घाउमा वीरमानले सधैँ मल्हम लगाउने काम गरे ।

वीरमान प्राइभेट गाडी चलाउँछन् । मुना त्यहीँ चिया पसल चलाइरहेकी छिन् । यसमा मुनालाई वीरमानले भरपुर साथ दिएका छन् । सुरुमा दिनको दुईतीन सय व्यापार हुने उनको पसलमा अहिले दिनमै हजार–बाह्र सय कमाइ हुन्छ । मुना र वीरमान हरेक दिन बिहान तीन बजेबाट काममा खट्छन् । 

केही समयअघि डाक्टरले भारत गएर दुईतीन लाख खर्च गरे, मुनाको जन्मजात चिनो मेटिन्छ भनेका थिए । तर, मुनाले उतिसारो चासो देखाइनन् । जन्मजात लिएर आएको चिनो यत्रो वर्ष बेहोरेपछि बाँकी समय बेहोर्न के गाह्रो ? किनकि मुनालाई यो चिनोसँग अहिले उनलाई कुनै गुनासो छैन ।

सुन्दर हुनुभन्दा पनि घाउ नहुनु र त्यसले दुख नदिनु नै अहिले उनका लागि लाख हो । त्यो बाहेक आजकी हिम्मतिली मुना बनाउन यो दागको पनि कम्ता योगदान छ जस्तो लाग्दैन उनलाई ।  ‘यो दाग नभएको भए मेरो जीवन अपुरो हुन्थ्यो होला,’ उनले भनिन्, ‘म आँटिली भएर आफ्नो खुट्टामा उभिने कोशिस सायदै गर्थेँ ।’

अन्तिममा मुनाले मुस्कुराउँदै भनिन्,‘अब आधा उमेर गइहाल्यो, बिस्तारै चाउरिँदै जाने छाला अब के तन्काउनु । छाला चाउरियोस् मन पो चाउरिनु भएन ।’

के भन्छन् उपचारमा संलग्न डाक्टर ?

डा.जसवन शाक्य, प्लास्टिक सर्जन

मुनाको उपचारमा म पनि संलग्न थिएँ । उनलाई भास्कुलर मालफर्मेसन भएको थियो । यो एक प्रकारको हेमान्जियोमा हो । उमेर बढ्दै गएपछि उनको तल्लो ओठ र च्युँडोमा पुरै ट्युमर देखिन थाल्यो । त्यसलाई हामीले ‘रिकन्स्ट्रक्टिभ सर्जरी’ गरेका थियौँ । उनको अनुहारमा भएको ट्युमर निकालेर खाली भएको ठाउँ पुर्न पेटको छाला प्रयोग गर्‍यौँ । फरक ठाउँको छाला लगेर राख्दा केही जटिलता देखिन सक्छ तर, उनको केसमा खासै केही समस्या देखिएन ।

मुना जतिको आत्मविश्वासी महिला मैले कमै देखेको छु । मैले ‘बर्न सर्भाइभर’देखि यस्ता धेरै बिरामीको उपचार गरेको छु । केहीले आफ्नो अवस्थालाई भजाएर सहयोग बटुल्दै जिन्दगी बिताएको पनि देखेको छु । तर, मुना त्यसमा पर्दिनन् । उनी आत्मविश्वासीसँगै आत्मनिर्भर पनि छिन् ।

प्लास्टिक सर्जरी भन्ने बित्तिकै धेरैले राम्रो मान्छेलाई झन् राम्रो बनाउन भनेर बुझ्छन् । तर, कतिपय सर्जरीे मान्छेको छाला सुन्दर बनाउन होइन, जीवन सुन्दर बनाउन गरिन्छ । 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x