समाज

उनले पोहोर साल खिचेको यो फुलेको कमल

कलेजबाट फर्किंदा २२ वर्षीय पारस सधैँ कमलपोखरी छिर्थे

सुनीता साखकर्मी |
माघ १५, २०७७ बिहीबार ८:२६ बजे

काठमाडौँ : ‘तैरिरहेको कमलको फूल, बीचमा नीलो आकाशको छायाँ ।’ ताजै छ डिल्लीबजारका पारसराज वज्राचार्यको मानसपटलमा । तर केही वर्षदेखि उनी त्यो सुन्दर पोखरीमा पहेँलो स्काभेटर यताउता गरेर भित्तामा सिङाउरी खेलेझैँ देख्छन् ।

अनि घर पुगेर पुराना तस्बिर नियाल्छन् । घरीघरी त्यो पोखरीमा किन यो पहेँलो मानव निर्मित साँढे पसेर सिङाउरी खेल्छ ? उनलाई लाग्छ, विकास भनेको यही हो ? उनलाई त्यस्तो लागे पनि अधिकांशलाई भने कमल पोखरीमा साँढे रूपको स्काभेटर चलेको विषय नयाँझैँ लाग्छ ।


त्यस्तै भयो, माघ ५ गते काठमाडौँ महानगरपालिकाले कमलपोखरीमा स्काभेटर चलायो । माटो निकालेर बुढानिलकण्ठ पुर्‍यायो । कमलपोखरीमा स्काभेटर चलेको देखेर अभियन्ताहरू रुष्ट बने । किन स्काभेटर चल्यो भन्दै सामाजिक सञ्जालमा तर्क-वितर्क भए ।

किनकि सबैलाई यो विषय नयाँ थियो । तर डिल्लीबजारका भर्खरै टीन एजलाई पार लगाएका बज्राचार्यलाई भने यो विषय नयाँ लागेन । किनकि उनले पहिले पनि कमलपोखरीमा स्काभेटर चलेको प्रत्यक्ष देखेका थिए, २६ सेप्टेम्बर २०१९ मा ।

यो तारिख अझै उनको मनासपटलमा ताजै छ । यही दिन उनले कमलपोखरीमा स्काभेटर चलेको देखेका थिए । कमलपोखरीको केही पर रहेको किस्ट कलेजमा बीआइटी पढ्छन्, उनी । बोर्ड परीक्षा नजिकिँदै थियो । त्यसैले उनी कलेजमा प्रवेश पत्र लिन कलेज गएका थिए । कलेजबाट फर्किएर उनी कमलपोखरीमा छिरे । कमलपोखरीमा त्यही बेला स्काभेटर चलिरहेको थियो ।

अनि उनले एक महिना अघिसम्म त्यहाँ फुलेका कमल याद गरेका थिए, उतिबेलै । पारसले अन्तिमपटक कमलपोखरीमा २०१९ अगस्ट २५ मा कमल फुलेको देखे । जसलाई उनले आफ्नो क्यामेरामा कैदसमेत गरेका छन् । उनको फोटो हेर्नेलाई लाग्छ, अझै कमलपोखरीमा हरियाली छ । त्यहाँ निलो आकाश छचल्किरहेर मानव जातिलाई सहरको मध्यभागमा प्रकृतिसँग भुलाएको छ ।

अहिले होइन, त्यति बेलै त्यो सौन्दर्यलाई मानव निर्मित स्काभेटरले गुमनाम बनाएको थियो । हुन पनि, २०१९ कै सेप्टेम्बर २६ मा कमलपोखरी पुग्दा त्यहाँ उनले कमलपोखरी पहिले जस्तो देखेनन् । पोखरीमा निर्बाध स्काभेटर चलिरहेको थियो । पोखरी वरिपरि जथाभावी काला तार फालिएको थियो । पोखरीको पानीलाई त्यतिकै राखेर धमाधम स्काभेटर चलाइँदै थियो । स्काभेटरले पोखरीलाई कोतरेर झनै कुरूप पारिरहेको देखेर उनलाई नमज्जा लाग्यो । पोखरीमा के भइरहेछ ? मनमा जिज्ञासा पलायो ।

‘यहाँ के भइरहेछ, किन खनेको ?’ कमलपोखरीको डिलमा उभिएर रमिता हेरिरहेकाहरूलाई उनले सोधे । ‘पोखरीमा जाने सिँढी बनाउने रे’ हेरिरहेकामध्ये एक जना बोले । पोखरीमा जान सिँढी ? किन चाहियो सिँढी ? उनका मनमा अनेक प्रश्न उब्जिए । अनेक चोट सहेर राम्रो बन्दै गएको कमलपोखरीमा स्काभेटरले कोतरेको उनलाई फिटिक्कै मन परेको थिएन ।

पारस ‘पार्ट टाइमर फोटोग्राफर’ पनि हुन् ।  सानैदेखि फोटो खिच्‍न रुचाउँछन्, उनी । जहाँ पुग्छन्, त्यहाँको फोटो खिच्‍ने रहर छ, उनलाई । त्यसैले कमलपोखरीको डिलमा उभिएर केही फोटो खिचिहाले । ती फोटो उनले आफूसम्म मात्रै सीमित राखेनन् । देशभर मात्रै नभई दुनियाँले देखोस् भनेर ‘गुगल म्याप्स’मा सेयर गरे ।

गुगल म्याप्सले आफ्ना प्रयोगकर्ताहरूले समेत योगदान गर्न मिलोस् भनेर ‘गुगल लोकल गाइड प्रोग्राम’ राखेको छ । जसमा मानिसहरूले आफूले देखेको, गएको ठाउँहरूका फोटो पनि पोस्ट गर्न सक्छ । पारसले पनि यही फिचरको फाइदा उठाउँदै कमलपोखरीमा स्काभेटर चलिरहेको एउटा फोटो सेप्टेम्बर २६ गते गुगल म्याप्समा अप्लोड गरेका थिए ।

गुगल म्याप्समा राखेको उनको फोटोमा न कसैले लाइक गर्‍यो वा न कमेन्ट । यदि गरेको भए उनलाई गुगलले मेल पठाउँथ्यो । तर उनले राखेका कमलपोखरीका फोटोमा कसैले रियाक्ट गरेन । त्यसपछि उनी कयौँ पटक कमलपोखरी पुगे । त्यहाँ उनले देखे, स्काभेटर एक ठाउँमा मात्रै सीमित भएन । पोखरी वरिपरि नै स्काभेटरले कोतरेको दागहरू थियो ।

त्यसपछि उनी परीक्षामा व्यस्त भए । केही समयपछि देशमा लकडाउन पनि भयो । उनी बाहिर निस्कन पाएनन् । पछिल्लोपटक उनी छठको बेलामा कमलपोखरी पुगेका थिए । उनले सोचेका थिए, पोखरी बनिसक्यो होला, पोखरीको सिँढीमा उभिएर छठ मनाउनेहरूको भिडिओ गज्जब आउँछ ।

तर जब कमलपोखरी पुगे, उनी खिन्‍न भए । किनकि पोखरीमा पानी थिएन । छिपछिपे हिलो मात्रै थियो । त्यही हिलोमा उभिएरै भए पनि मानिसहरू छठको पूजा गरिरहेका थिए । पोखरी पानी सुकेर कुरूप बन्दै गइरहेको बेला छठका व्रतालुहरूले यसलाई सजाउन खोजिरहेका थिए । दियो बालेर, फूल नैवद्य चढाएर, पोखरीलाई जीवन्त बनाउन खोजिरहेका थिए ।

उनीहरूको हरेक क्रियाकलाप पारस आफ्ना क्यामेरामा कैद गर्दै थिए । जसका लागि उनी आफैँ पनि हिलोमा जान पर्‍यो । ‘पोखरीको पानी सुकाएर पनि पूरै सुकिसकेको थिएन, थोरै पानी थियो, त्यहाँ पनि कुल्चिँदा कुल्चिँदा हिलो भइसकेको थियो,’ उनी भन्‍छन्, ‘भिडिओ खिच्दाखिच्दै मेरो खुट्टा पनि हिलोमा गाडिएको थियो । तैपनि मैले खिचेर भिडिओ बनाएँ ।’

पोखरीको हालत उनलाई चित्त बुझेको थिएन । उनको मनमा प्रश्नै-प्रश्न जन्मिसकेका थिए । पोखरीको पानी कहिले सुकाइयो ? पोखरी किन अहिलेसम्म बनेन ? पोखरीको पानी किन सुकाइयो ? कहिले भरिन्‍छ पोखरीमा पानी ? यस्तै प्रश्नहरूको भूमरीमा फसिरहेका बेला उनको जिज्ञासा मेटाइदिए स्पोर्टस् क्लबका अध्यक्ष राजेन्द्र सिंहले ।

डिल्लीबजारका २२ वर्षीय पारसले अन्तिमपटक कमलपोखरीमा २०१९ अगस्ट २५ मा कमल फुलेको देखे । जसलाई उनले आफ्नो क्यामेरामा कैदसमेत गरेका छन् । 

काठमाडौँ महानगरले छठको केही दिनअघि मात्रै पानी सुकाइएको कुरा खड्गीले पारसलाई सुनाए । खड्गीले नै पारसलाई पोखरी पुनःनिर्माण भइरहेको कुरा बताएका थिए । र, यसलाई बचाउन पनि ठूलै मुभमेन्ट हुने समेत सुनाएका थिए ।

उनी ढुक्क थिए, पोखरी बच्‍नेछ भन्‍नेमा । तर दिनानुदिन पोखरीको अवस्था नाजुक हुँदै गयो । छिपछिपे हिलो पनि सुकेर छियाछिया भइसकेको छ, कमलपोखरी । पोखरीको साइज घटाएर वाल लगाइँदै छ । पारसले सानैमा देखेको पोखरी र अहिलेको पोखरीमा कुनै भिन्‍नता छैन । किनकि सानोमा घरबाट कमलपोखरी नजिकै रहेको कृष्ण पाउरोटी पुग्दा पोखरी लेउ र घाँसले भरिएको थियो । उनी भन्‍छन्, ‘अहिले स्काभेटरले कुरूप बनाएको छ, पहिले लेउ र घाँसले पोखरीलाई कुरूप बनाएको थियो । सानोमा यसलाई देख्दा पोखरी नै हो भन्‍ने लाग्दैनथ्यो ।’

पोखरीको यो दुर्दशा देखेर त्यतिबेला पनि उनको मन नराम्रोसँग कुँडिन्थ्यो । तर पछि संरक्षणको पहल भयो । त्यहाँ सफाइ भयो । बार हाल्ने काम भयो । पहिलेभन्दा केही सफा भयो । मानिसहरूलाई पोखरीमा पुग्‍न सजिलो भयो । पोखरी ठूलो भएकाले थुप्रै मानिस यहाँ अटाउँथे ।

बिहान र बेलुकीको समयमा यहाँ सय/डेढ सय जनाभन्दा बढी मानिस हुन्थे । उनी पनि खाली समयमा पोखरीमा पुगिहाल्थे । साइकल लिएर पोखरी वरिपरि राउन्ड लाउँथे । २०१७ देखि त किस्ट कलेजमा पढ्न थालेपछि बाटो नै त्यही भयो । त्यसपछि त हरेक दिन उनले कमलपोखरी देखे । कलेजबाट फर्किंदा त कमलपोखरी नछिरी मन थामिँदैन थियो ।

गर्मी मौसममा त झनै उनलाई पोखरी छेउछाउ जान मन पथ्र्याे । गर्मी मौसममा पोखरीको महत्व पनि धेरै हुने उनको तर्क छ । उनी भन्‍छन्, ‘किनकि काठमाडौंमा गर्मी मौसममा शीतल खोज्दै मानिस यहाँ आइपुग्छन् । पानीको छेउमा बस्दा चिसोले शीतल दिन्‍छ ।’ गर्मी महिनामा साँझको समयमा पोखरी वरिपरि चमेरोहरू उड्छन् । त्यसलाई समेत उनले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

वातावरणीय हिसाबले महत्वपूर्ण यो पोखरीको अवस्था भने एकनास नरहेको पारस सुनाउँछन् । उनले सानैदेखि कमलपोखरी देख्दै आए, तर कमलपोखरी कहिल्यै पनि उस्तै रहेन । स्थिर रहेन । कमलपोखरीमा केही न केही भइराख्यो । जस्तो सिद्धपोखरी पहिले पनि उस्तै थियो, अहिले पनि उस्तै छ, तर कमलपोखरीको अवस्था यस्तो रहेन ।

उनले २०१८ जनवरी १३ को साँझ खिचेको फोटोमा कमलपोखरीमा टनाटन पानी थियो । वरिपरिका भवनमा बलिरहेको बत्तीको छायाँ कमलपोखरीको पानीमा परेर पानी पनि झिलिमिली देखिएको छ । तर २०१८ को डिसेम्बरमा फेरि यहाँ काम हुँदै थियो । हिँड्ने बाटो उप्काएर नयाँ बनाइँदै थियो । त्यतिबेला पनि माछा जथाभावी मारिएको थियो । मरेका माछा पोखरी किनारमा थुपारिएको थियो  । त्यसको पनि उनले फोटो खिच्‍न भ्याएका छन् ।

‘यो पोखरी बन्‍ने र बिग्रने धेरै भयो,’ उनी भन्‍छन्, ‘कहिले पार्क राख्‍ने भनियो भने कहिले त्यही पार्क भत्काइयो । कहिले भर्‍याङ राखियो, कहिले भर्‍याङ हटाइयो । कहिले माछा पालियो, कहिले तिनै माछा जथाभावी मारियो । कहिले बोटबिरुवा रोपेर हराभरा बनाइयो, कहिले तिनै बोट बिरुवा निमोठियो । अहिले त झनै कमलपोखरीको अवस्था दयनीय बनेको छ ।’

उनी त ‘कमलपोखरीमा कंक्रिट पनि पहिलो पटक प्रयोग भएको होइन’ भन्‍छन् । यहाँ कंक्रिट प्रयोग भएको लामो समय भइसकेको छ । कंक्रिटको गेट त पहिले नै बनेको हो । कमलपोखरीलाई वरिपरिबाट सिमेन्टेड नै गरिएको छ । यहाँ बस्न बनाइएको बेञ्चहरू पनि सिमेन्टकै छन् । अहिले पुनःनिर्माणको नाममा त पोखरी झनै दयनीय बनेको छ ।

‘विकासको नाममा विनाश भइरहेछ,’ उनी भन्‍छन्, ‘स्काभेटरले कमलपोखरीलाई मात्र कोतरेको छैन, हाम्रो मनमा पनि कोतरेको छ । राम्रो बनाउने नाममा बिजोग बनाउन हुन्‍न ।’ तस्बिरहरूमा पोखरी सम्पदाको इतिहास जोगाउन पारस प्रयास गरिरहेका छन् । कमलपोखरी मात्रै नभई काठमाडौंकै नागपोखरी, ललितपुरको पिम्बाहा पोखरी, लगायत थुप्रै पोखरीहरूको फोटो खिचेर राखेका छन् । त्यस्तै विभिन्‍न सांस्कृतिक एवं पर्यटकीय स्थानहरूको समेत उनले फोटो खिचेर राखेका छन् ।

उनी भन्‍छन्, ‘पोखरीहरू हाम्रा गहना हुन् । यसलाई जोगाउन पहल गर्नुपर्छ । म फोटोहरूमार्फत जोगाउने कोसिस गरिरहेको छु । र, यो कार्यलाई निरन्तरता दिन चाहन्‍छु ।’ पारसले एक्लैले पोखरीहरूको अभिलेखीकरणको काम गरेकामा सम्पदा बचाउ अभियन्ता आलोकसिद्धि तुलाधर पनि खुसी छन् ।

‘हामी सम्पदा बचाउन लागेका छौँ । तर कुनै पनि सम्पदा बचाउन अभियान गर्दा सबैभन्दा पहिले सूचना चाहिए, लिच्छवीकालको अभिलेख, ताम्रपत्र, थ्यासफु(पुस्तक)हरू खोज्छौँ, त्यो अभिलेख हो । त्यसले मुस्किल समाधान गरिदिन्‍छ,’ उनी भन्‍छन्, ‘उहाँले गरिरहनुभएको अभिलेखीकरण नै हो । कमलपोखरीले विभिन्‍न कालखण्ड पार गरिरहेको छ, र त्यो एउटै ठाउँको विभिन्‍न कोणबाट तस्बिर उनले खिचेका छन् । अहिलेको समयमा त्यो महत्वपूर्ण छ ।’

आलोक त पारसलाई प्रोफेसनल्ली नै यस्तो काममा लाग्‍न सुझाव दिन्‍छन् । उनी भन्‍छन्, ‘यो काम ठूलो र भास्ट पनि भएकाले यसलाई संस्थागत गरेर प्रोफेसनल्ली लाग्‍नुभए हुन्‍छ । भविष्यमा पानी सम्पदा जोगाउन यस्ता कामले धेरै ठूलो काम गर्छ ।’

 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x