समाज

पाशुपतमा 'भगवान् बनाउने'हरू..

'राज्यले कलाकारलाई पहिचान र संरक्षण गर्न सकेन'

अतिन आचार्य |
फागुन १५, २०७८ आइतबार ८:१० बजे

काठमाडौँ- गौशालास्थित चक्रपथको उत्तरपट्टि पशुपतिनाथ मन्दिर छिर्ने मूल गेट छ । गेटको पाँच सय मिटरअगाडि पशुपति किरिया घरको पश्चिम भागमा सेतो भित्ता छ ।

हिजोआज भित्ताको स्वरूप बदलिएको छ । सेतो पोतिएको वाल सफा र सुन्दर छ । वालमा शिव-पार्वतीका चित्र छन् । शिव लिंग, साना-साना घण्टा, बसिरहेको साँढे र पशुपतिनाथको मन्दिरसमेत अंकित चित्र छन् ।


लाग्छ! यो कुनै ग्यालरी हो । जहाँ-जहाँ विभिन्‍न रंगले वाललाई पेन्ट गरिएको छ । दुई सातादेखि कलाकार मन्दिर वरिपरिका भागमा भगवानका चित्रसहित आफ्नो कलाकारितालाई उजागर गर्न व्यस्त छन् ।

'नेपालमै बसेर ठूलो प्रोजेक्टको चित्र बनाउने काम यसपालि पाएका छौ,' हातमा ब्रस लिएर कलसमा पहेलो रंग लगाउँदै गरेका रुद्रराज बस्नेतले भने। दुई साताअघि नवलपरासीबाट उनी काठमाडौँ आएका थिए । यसअघि उनले निजी घर वा कार्यालयमा मात्र चित्र बनाउथेँ। पाशुपतजस्तो पवित्र भूमिमा आएर चित्र बनाउन पाउँदा धेरै खुसी भएको उनले बताए ।

यसवर्षको महाशिवरात्री आगामी मंगलबार १७ गते परेको छ । यतिखेर मन्दिर वरपर मुलुकका विभिन्‍न स्थान र भारतबाट आएका बाबाहरू देख्‍न सकिन्छ । मन्दिरलाई र वरिपरिको वातारण, साना-साना बत्तिले सजावट गर्ने काम भइरहेका छन् ।

बस्‍नेत शिवरात्रीको अवसरमा कलाकारिता देखाउन पाएकोमा दंग छन् । निजी घरको भित्ता चल्ने हात पशुपति क्षेत्रमा चल्न थालेका छन् । उनी विश्व सम्पदा क्षेत्रमा आफ्नो हातले बनाएका चित्र कोर्न पाउँदा पुलकित बनेका छन् । विभिन्‍न आकृतिका चित्र बनाउन पाँच प्रकारका रंग प्रयोग गरिरहेका छन् । उनले घाम-पानीबाट सुरक्षित रहन एक्स्टेरियर कोड प्रयोग गर्ने गरेका छन् ।

साथीहरूले उनलाई काठमाडौँमा चित्र बनाउने काम पाएकाले बोलाएका थिए । पाशुपत क्षेत्रमा चित्र बनाउने निधो भएपछि उनी झन खुसी बने । 'हामीले चित्र बनाएको मन्त्रीले अवलोकन गरिसक्नु भएको छ,' उत्साहित हुँदै बस्नेत सुनाउँछन्,' चित्र हेरेर मन्त्री ज्यूले हाम्रो कामको प्रंशसा गर्नुभएको छ । हाम्रो चित्रमा दर्शनार्थीहरूले सेल्फी खिच्नुहुन्छ त्यो देखेर खुसी लागेको छ ।'

नवलपरासी बर्दघाटका ५० वर्षीय बस्‍नेतले यसअघि विदेशमा आफ्नो हातको सीप देखाएका छन् । 'आर्टिस्ट'को काम गर्न उनी साउदी र कतारमा पनि पुगे । साउदीमा १५ र कतारमा १ वर्ष बसेको उनी बताउँछन् ।

उनले खाडीमा बस्दा बालबच्चालाई पढाउन र घर बनाउने पैसा कमाए । उनको मासिक एकदेखि डेढ लाख कमाइ हुन्थ्यो । 'विदेशमा पैसा धेरै भए पनि नेपालमा आफ्नो कलाकारीता देखाउन नपाएको उनलाई पछुतो लाग्थ्यो,' विगत सम्झदै भन्छन्,' विदेशमा पैसा कमाएँ तर, अहिले नेपालमा आनन्द पाइरहेको छु । यहाँ काम गर्दा दैनिक पाँच हजार रुपैयाँ कमाइ हुन्छ ।'

राज्यले कलाकारको शक्तिलाई पहिचान गरेन 

स्कुले जीवनदेखि उनलाई चित्रकलामा रुची थियो । कक्षा दशसम्म अध्ययन गरेका बस्नेतले भारतमा चित्रकला सिकेका थिए । सन् १९९४ मा भारततर्फ लागेका उनले कामकै सिलसिलामा गुरुको संगत पाए । कानपुरका गुरु सत्यप्रकाश चौधरी र नेपालकै मनोजगोल्डीको सिकाइले रंगसँग खेल्न सफल भएको उनी बताउँछन् । ब्रसले बट्टामा भएका रंग लगाउँदै उनले गुरुहरूको प्रेरणा पाएकले पाशुपत क्षेत्रमा चित्र बनाउन सकेको सुनाए ।

बस्‍नेतले चित्र बनाएर दुई छोरालाई पढाइरहेका छन् । उनीसँग दुवै छोरालाई विदेश पठाउने योजना छ । राम्रो  पढाएर नेपालमा अवसर नपाइने चिन्ताले उनलाई सताउन थालेको छ । उनलाई रंगसँग खेल्ने बानी परेकाले सन्तानलाई भने पढनमा उत्प्रेणा जगाइरहे । हातमा रंग पर्दा फरक-फरक 'कलर' ले जीवन बनेको लाग्‍ने र आनन्‍द  प्राप्‍त हुने गरेको उनले सुनाए ।

उनका दुवै छोरा होटल म्यानेजमेन्ट पढिरहेका छन् । कान्छो छोरालाई बेलायत पठाउने तयारीमा छन् । हातमा भएको सीपप्रति गर्व गर्दै सन्तानलाई राम्रो शिक्षा दिन सकेको उनले सुनाए ।

राज्यले कलाकारलाई संरक्षण गर्न नसकेकोमा उनी गुनासो पोख्छन् । मरुभूमीले सामर्थ्यलाई पहिचान गर्‍यो तर, अहिलेसम्म स्वदेशले आफ्नो कलाकारीतालाई पहिचान गर्न नसकेको राज्यले कलाकारलाई हेर्ने नीति बदल्नु पर्ने उनको भनाइ छ ।

श्रद्धालुले चित्रलाई पछाडि पारेर सेल्फी लिँदा खुसी

बस्नेतको छेउमा उभिएर त्रिशुलमा रंग लगाइरहेका नेपालगञ्जका कमलराज श्रेष्ठको पनि गुनासो छ,' राज्यले कलाकारलाई काम गर्ने अवसर दिनुपर्छ । कलालाई संरक्षण र सम्मान गर्न सकेमा आफ्नो क्षेत्रबाट पलायन हुँदैनन् ।'

हाल कोटेश्वरमा बसिरहेका श्रेष्‍ठ रंगसँग खेल्न थालेको ३५ वर्ष पुग्‍यो । उनीसँग पशुपति क्षेत्रजस्तो ठूलो सरकारी निकायमा काम गरेको अनुभव छैन । स्थानीय स्तरमा भएका कलाकारलाई अवसर दिएर उनीहरूको पहिचान गर्नुपर्ने उनको भनाइ छ । पशुपति क्षेत्रमा बस्नेत र श्रेष्‍ठ मिलेर २० वटा भित्ते चित्र सम्पन्‍न गरिसकेका छन् । उनीहरू आइतबारसम्ममा बनाइसकेर आफ्नो जिम्मवारी पूरा गर्ने तयारीमा छन् ।

'चित्र देखेर पर्यटन मन्त्री ज्यू खुसी हुनु भयो। हाम्रो कलाकारीतालाई प्रशंसा गर्नुभएको र यसअघि सरकारका कुनै पनि उच्च पदस्थ व्यक्तिले भेटघाट गर्नुभएको छैन,' पशुपति क्षेत्रमा चित्र बनाउँदै गर्दाको क्षण सम्झदै उनी भन्छन्,' श्रद्धालुले हामीले बनाएका पेन्टीङलाई पछाडि पारेर सेल्फी लिँदा खुसी लाग्छ ।'

उनी पनि साथीहरूको खबर पाएर काठमाडौँ आएका हुन् । शिवरात्रीको अवसरमा चित्र बनाउन पाउनु आफ्नो जीवनमा अविस्मरणीय क्षण रहेको उनी बताउँछन् । सरकारले कला क्षेत्रमा लागेकालाई बेग्लै स्थान दिनुपर्ने उनको माग छ । काम गर्ने अवसर पाइरहेमा कलाकारले सहजै जीवनयापन गर्न सक्ने उनको विश्‍वास छ ।

डिजिटाइलजले व्यवसाय धराशाय बन्दै

५७ वर्षीय श्रेष्‍ठले यसअघि कतारमा दुई वर्ष काम गरिसकेका छन् । उनी दुई वर्ष कतारको बसाइलाई बिट मार्दै आफ्नो कामलाई नेपालमा निरन्तरता दिने सोचाइमा स्वदेश फर्के । 'कतारको आर्ट ग्यालरीमा काम गर्दा सोचेजस्तो आम्दानी गर्न सकिएन,' विगत सम्झदै श्रेष्‍ठले सुनाए ।

आइएसम्मको अध्ययन गर्दा श्रेष्‍ठले कला विषयमा छात्रवृत्तिसमेत पाएका थिए । स्कुले जीवनमा उनले चित्र बनाउन सिकेनन् । वि.स २०४१ सालदेखि चित्र बनाउन सुरु गरेको एक वर्ष पछाडि उनले व्यवसायिक रुपमा चित्र बनाउन थालेका थिए । उनले गुरु आशाराम महुरिया र आलोक गुरुङबाट चित्र बनाउन सिकेका थिए ।

श्रेष्‍ठका दुई छोरामध्ये कान्छाले फाइन आर्ट पढिरहेका छन् । आफूले गरिरहेको काम कान्छा छोराले गर्न लागेकोमा खुसी व्यक्त गरे । जेठा छोरा भने आइटी पढिरहेका छन् ।

हिजोआज कामको खासै माग नआउने उनले बताए । उनलाई पहिले-पहिले सवारीसाधनको नम्बर प्लेटको काम आइरहन्थ्यो । डिजिटलाइजको समय भएकाले कामको चाप घटेको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x