समाज

सुदूरपश्चिममा बाढी र पहिरोमा परि १३ जनाको मृत्यु

दीपक उपाध्याय |
कात्तिक २, २०७८ मंगलबार २१:३० बजे

कैलाली - आइतबारदेखि परेको अविरल बर्षाको कारण सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा ८  जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ । 

डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीका अनुसार जोरायल गाउँपालिका – ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन, १३ वर्षीया पवित्रा र १६ वर्षीय रविनको मृत्यु भएको हो । उनीहरुको घर पहिरोमा पुरिएपछि च्यापिएर मृत्यु भएको हो ।


यस्तै डोटीकै सायल गाउँपालिका –६ खातिवाडाको घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर स्थानीय दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय छोरा आशिषको मृत्यु भएको छ ।

डोटीकै शिखर नगरपालिका–११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गाले टाउकोमा लागेर मृत्यु भएको छ । यस्तै पहिरोमा परेर जोरायल गाउँपालिका–३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ ।

डडेल्धुराको गन्यापधुरा गाँउपालिका– १ का ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमाथिबाट पहिरो खस्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

मृत्तकका श्रीमती र छोराछोरीको भने स्थानीयले उद्धार गरेका छन् । डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्कीको मृत्यु भएको हो ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x