समाज

बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे

इकागज |
बैशाख १३, २०८१ बिहीबार १६:२४ बजे

फाइल तस्बिर

नेपालगञ्ज - बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् । 

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शम्शेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । तर कति सङ्ख्यामा मरे भन्ने विषयमा विवरण संकलन भइरहेको उनको भनाइ छ ।


उनले डढेलोबाट हरिण र बँदेलजस्ता जनावर विस्थापित भएको पाइएको बताए । जिल्लाको २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा ठूलो मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र संकटमा रहेको बताइएको छ । 

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं २, ८, ५ र ६ का समुदायिक वन डुडूवा गाउँपालिका–५ स्थित गोकुल साुमदायिक वन, वैजनाथ गाउँपालिका–२ को सुनगाभा सामुदायिक वन र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको थियो । जिल्लाको २५ वटा सामुदायिक वनको दुई सय ५० हेक्टर क्षेत्रफल र चक्ला वनको पाँच सय हेक्टरमा डढेलो लागेको थियो ।

“हामीलाई दिउँसो डढेलो निभाउन सहज छैन, त्यसैले राति परेपछि धेरै सामुदायिक वनमा काम गरेका थियौँ”, उनले भने । गत वर्षभन्दा यस वर्ष धेरै सुक्खा भएकाले डढेलो झन् फैलिएको बताइएको छ । वन अधिकृत सुवेदीले डढेलो अहिले नियन्त्रणमा आएको उल्लेख गर्दै फाटफुट केही स्थानमा डढेलो रहेको बताए ।  

डढेलो लागेको वनमा सात सय लिटर ट्यांकी भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै उनले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गरे । “फायरलाइन निर्माण गर्ने र त्यसलाई सफा गर्ने, समुदाय रूपमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ”, उनले भने । 

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले गाउँघरबाट भएको बदमासीका कारण निकुञ्जमा डढेलो लागेको उल्लेख गर्दै डढेलोका कारण विभिन्न प्रजातिका चरा र केही प्रजातिका बच्चा र अण्डा नष्ट भएको जानकारी दिए । 

“बासस्थान नष्ट भएको छ, त्यसैले केही जनावर विस्थापित पनि भएका छन्”, उनले भने । संरक्षण अधिकृत शाहले डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै पहिले केही दिनअघि अहिले डढेलो कम हुँदै गएको बताए । रासस


Author

थप समाचार
x