समाज

भूकम्पपीडितलाई रेडक्रसको अस्थायी आवास

इकागज |
बैशाख ६, २०८१ बिहीबार १४:५९ बजे

महेन्द्रनगर- नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ ।

गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।


रेडक्रसले भूकम्पबाट क्षति भएको बाजुरामा एक सय २५ अस्थायी आवास र बझाङका प्रभावितलाई एक सय २४ गरी कूल दुई सय ४९ आवास, शौचालय र हात धुने स्टेशन निर्माण गरिएको रेडक्रस सोसाइटी आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

'भूकम्पपीडितका लागि बाजुरा र बझाङमा शौचालयसहितको अस्थायी आभास निर्माण गरिएको छ', उनले भने, 'त्यसबाहेक पीडितहरुलाई त्रिपाल, कम्बल, म्याट्रेसलगायतका सामग्री पनि उपलब्ध गराइएको छ ।' त्यसैगरी उनले सोही दुई जिल्लाका छ सय ६० पीडित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने बताए ।

'बहुउद्देश्यीय सहायता भन्दै प्रतिपरिवारलाई रु १५ हजारसमेत वितरण गरिएको छ', उनले भने, 'पीडितहरुले सो रकम आवश्यकताअनुसार खर्च गर्न पाउँछन् ।'

सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रस सोसाइटीले गत असोजदेखि नै बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको थियो ।

भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पुर्‍याएको थियो भने बाजुरामा खप्तडछेडेदह गाउँपालिका, त्रिवेणी नरगपालिका र बढिगङ्गा नगरपालिकामा क्षति पुर्‍याएको थियो ।

रेडक्रसका अनुसार भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन् । सोमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको रेडक्रसको तथ्याङ्कमा छ ।

त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ परिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ ।

रेडक्रसले आवाससहितको सुविधाका साथै पीडितहरुलाई तीन हजार परिवारका लागि त्रिपाल, कम्बल, म्याट्रेस वितरण, एक जनालाई स्वास्थ्य तथा मनोसामाजिक सहयोग र करिब चार सय ५० जनालाई लैङ्गिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको जनाएको छ ।

रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले अघिल्लो वर्ष डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गरिएको जानकारी दिए ।

रासस


Author

थप समाचार
x