समाज

सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

इकागज |
बैशाख ५, २०८१ बुधबार १९:१५ बजे

राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पालिकाभित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सूचना जारी गर्दै ३५ दिनभित्र जग्गा खाली गर्न अनुरोध गरेका छन् ।

‘अतिक्रमण गरिएका सार्वजनिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरू र गाउँ टोलहरूमा कब्जा गरिएका बाटो घाटोहरू खाली गराउने गाउँ सभा तथा कार्यपालिकाको निर्णय भएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्न/गराउन आग्रह गरेका छौँ,’ पालिका अध्यक्ष चौधरीले भने ।


‘२०८० साल फाल्गुन ९ गते नेपाल सरकार गृह मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिले कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, संधिसर्पण, गौचरण घाट आदि जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनको लागी कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेका वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरू बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्यविपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत् सरकारी, सार्वजनिक, संधिसर्पण ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनको लागि सो सम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालय पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित स्थानीय तह सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको हुँदा सो को समेत कार्यान्वयन गराउने गरी जग्गा खाली गराउने भएकोले यो सूचनाको ३५ (पैतीस) दिनभित्र खाली गरी सहयोग गरिदिनुहुन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

तोकिएको समयभित्र अतिक्रमण गरिएका जग्गाहरू खाली नगरिए कानुन बमोजिम कारबाही गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।


Author

थप समाचार
x