समाज

हिन्दु र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार

इकागज |
फागुन ३, २०८० बिहीबार १५:१ बजे

​​बाँके- बाँकेको खजुरा गाउँपालिका-४ स्थित मुसबेटवा बाबा मजार हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ ।

प्रत्येक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबा मजारमा लाग्दै आएको मेलामा हिन्दु र मुस्लिम दुवै समुदायका सर्वसाधारणले च्यादर ओढाएर श्रद्धा व्यक्त गर्ने गर्दछन् ।


'यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ,' स्थानीय अगुवा झकबहादुर पौडेलले भने, ‘मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् ।’

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले मुसबेटवा बाबा मजार मेला धार्मिक सद्भावको नमुनाका रूपमा रहेको बताए । यहाँ भारतका विभिन्न स्थानबाट समेत मनोकामना पूरा हुने भन्दै भक्तजन आउने गरेका छन् ।

हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले मुसबेटवा बाबाको मजार दुवै समुदायको आस्थाको केन्द्र बन्दै गएको गाउँपालिका अध्यक्ष विकको भनाइ छ । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म मुसबेटवा बाबाको मजारमा मेला लाग्ने गर्दछ ।

हजरथ मुसा सा रामतुल्ला अलय र मुसबेटवा बाबाको नामले चिनिने उक्त मजारमा वर्षौँदेखि दुवै धर्मावलम्बीले पूजा गर्दै आएका छन् । मजारमा हुने सामूहिक पूजाले दुवै धर्मावलम्बीबीच सद्भाव बढाएको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिए ।

उनका अनुसार दैनिक पूजा हुने मजारमा बिहीबार र शुक्रबार भक्तजनको भीड लाग्ने गर्छ । मजारमा श्रीपञ्चमीका दिन वार्षिक रूपमा ठूलो मेला लाग्ने र विभिन्न धर्मावलम्बीले मेला भर्ने गरेका छन् ।

आस्था र विश्वासको धरोहर भएकाले पनि मजारमा सन्तान नभएकाले छोराछोरी प्राप्तिका लागि वर माग्ने गरेका छन् । विश्वासले पूजाका लागि फरक धर्मका भक्तजन मजारमा आउने र धार्मिक-सामाजिक सद्भावको सन्देश प्रवाह गरेको उनले उल्लेख गरे ।

हिन्दु र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको यस मजारमा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण दुवै समुदायका भक्तजन दर्शन गर्न आउने गरेका छन् ।

दुवै समुदायमा मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दु र मुस्लिम दुवै धर्मावलम्बीको भीड लाग्छ ।

‘यहाँ २०२३ सालदेखि नै हिन्दु र मुस्लिम समुदायले पूजाआजा गर्दै आएको किंवदन्ती रहेको छ,' खजुरा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष टेकबहादुर रोकायाले भने, ‘दुवै धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा धार्मिक र ऐतिहासिक महत्व बोकेको मजारको ऐतिहासिक महत्त्व दर्साउन संरक्षण जरुरी रहेको छ ।’

मुसबेटवा बाबालाई च्यादर चढाएमा मागेको कुरा पूरा हुने दुवै धर्मावलम्बीको विश्वास छ । चाहे हिन्दु होस् या मुस्लिम, दुवै समुदायलाई धार्मिक रूपमा मुसबेटवा बाबाले एकतामा बाँधेर आपसी सद्भावलाई बलियो बनाएको वडाध्यक्ष रोकायको भनाइ छ ।

वडाध्यक्ष रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । रासस


Author

थप समाचार
x