समाज

इजरायल आक्रमण : आफन्तको पिरले परिवारमा पीडा

धनबहादुर गुरुङ |
असोज २२, २०८० सोमबार २१:३२ बजे

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका-२ का नीलकण्ठ भण्डारी बेलाबेलामा मोबाइलतिर नजर लगाइरहन्छन् । शनिबार रातिदेखि उनको दिनचर्या मोबाइल स्क्रोल गरेरै बितेको छ । उनको मनमा रत्ति भर चैन छैन । अनेक कुरा खेलिरहन्छन् । कारण हो–प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा इजरायल आक्रमण ।

आक्रमणमा नेपालीहरू पनि परेका छन् । विशेष गरी कृषि सिक्न र कमाउन गएका विद्यार्थी यसको मारमा परेका हुन् । इजरायल पुगेकाहरूको आफन्त यो बेला झनै पीडामा छन् । सोही छटपटाहट बढेको हो ४५ वर्षीय नीलकण्ठलाई पनि । उनका छोरा सुजन यतिखेर इजरायल छन् । आक्रमण चपेटामा सुजन अनि अरु नेपाली नपरुन् भनी सुजनका हजुरबुवा, आमा र बहिनीले पनि प्रार्थना गरिरहेका छन् । सुजन आफैँले पनि ‘हामी सुरक्षित छौं, नआत्तिनुस्’ भनी थमथमराइरहेका छन् ।  


तर, आक्रमणको खबर यत्रतत्र भइरहँदा परिवारमा चैन छैन । सुजन एक महिनाअघि मात्र कृषिमा इन्टर्नका लागि इजरायल पुगेका थिए । कृषि वन विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरुन्चौरमा चार वर्षे अध्ययन सकेर उनीसँगै अरु विद्यार्थी त्यहाँ पुगेका हुन् । उनीहरू यतिखेर युद्धको चपेटामा परेपछि तिनका परिवारजन, आफन्त र शुभचिन्तकको मन आत्तिनु स्वाभाविक हो ।

सोमबार दिउँसोतिर फेसबुकमा छोराको अपडेट आयो । जसमा सुजनले सरकारलाई लेखेको पत्र थियो । पत्रमा सुजनले सरकारलाई छिटो उद्धारका लागि आह्वान गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन अनुनय विनय गरेका हुन् ।

उनले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमा नै रमाउने छौं ।’ सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको ‘सास रोकिएको’ उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् । 

छोराका यो पत्र देखेपछि उनी झनै आत्तिए । फोन गरेर नआत्तिन आग्रह गरे पनि छोराले आफूहरूलाई सान्त्वना दिन त्यसो भनेको नीलकण्ठले बुझेका छन् । ‘जति बेला पनि फोन गर्न नपाइने भएर हो या गाह्रो भएर हो, थाहा भएन । घरिघरि फोन गर्छ,’ उनले भने ।

उद्धारमा नेपाल सरकारको ढिलासुस्तीप्रति आक्रोश पोखे । अरु देशले आफ्नो देशका नागरिक फिर्ता लगिसक्दा पनि नेपाल सरकारले ढिला गरेकोमा उनको दुखेसो थियो । ‘छोरा उता आत्तिएको होला हामी यता परिवार नै त्रसित छौं । हामीले कहाँ गएर कसलाई भन्ने ठाउँ पनि भेटिएको छैन । त्यही पालिका अनि वडा कार्यालय र मिडियालाई छिटो ल्याउन भनेको मात्र हो,’ उनले भने, ‘यस्तो कुरामा सरकार नै तातिनुपर्ने हो । अरु देशले आफ्ना नागरिक लगिसक्यो भन्ने सुनेका छौं ।’

अन्नपूर्ण २ का वडाध्यक्ष पिताम्बर भण्डारीले सुजनका परिवारले वडा कार्यालयमा गुनासो गरिरहेकाले सरकारसँग युद्धको चपेटामा परेका नेपालीलाई नेपाल फर्काउन आग्रह गरिएको बताए । ‘सुजनको परिवार हाम्रो सम्पर्कमा हुनुहुन्छ । अनि सुजनसँग पनि फोन र म्यासेज भएको थियो,’ वडाध्यक्षले भण्डारीले भने, ‘सुजन लगायत युद्धको चपेटामा परेकाहरूको उद्धारमा हामीले सरकारलाई भनिरहेका छौं । यसमा मिडियाले पनि साथ दिनुपर्छ ।’

इजरायलमा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।


Author

थप समाचार
x