समाज

राज्यका तीनवटै अंगले संविधान मिचे : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

इकागज |
असोज १९, २०८० शुक्रबार १९:५१ बजे

काठमाडौँ- पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले सरकारको तीनवटै अंगबाट संविधान मिचिएको बताएका छन् ।

शुक्रबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानुन व्यवसायी मञ्चको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरे ।


उनले संविधानभित्र भएका छिद्रहरूलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताए ।

पूर्व राष्ट्रपतिले त सार्वजनिक रूपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उनले सभामुखले समेत संविधानविपरीतका कानुनहरू बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेहरूले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरूले नै संविधान मिचेको उल्लेख गरे ।

नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानुन व्यवसायीहरू स्वतन्त्र हुन नसकेका बताए । उनले कानुन व्यवसायीहरू राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताए । उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरू कानुनी प्रबन्ध अनुसार नै भएका बताए ।

उनले कानुनी प्रबन्ध अनुसार न्यायाधीशहरू नियुक्त भएको भए पनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताए ।


Author

थप समाचार
x