समाज

'विद्यालय तहदेखि नैतिक र योग शिक्षा लागू गर्नुपर्छ'

इकागज |
भदौ ८, २०८० शुक्रबार २०:२७ बजे

काठमाडौँ- विद्यालय तहमै नैतिक र योग शिक्षा लागू गर्नुपर्ने सरोकारवालाले बताएका छन् । विज्ञ र सरोकारवालाले सरकारले हटाएको नैतिक शिक्षा विद्यालय तहदेखि लागू गर्नुपर्ने बताउन थालेका छन् । माओवादीले चलाएको १० वर्षे द्वन्द्वकै समयमा विद्यालय तहमा पढाइ हुने नैतिक शिक्षा हट्यो । अहिले फेरि नैतिक शिक्षा पढाउनुपर्ने निष्कर्षतिर सरकार पुग्न थालेको छ ।

सरकार यतिबेला १६ औँ आवधिक योजना तर्जुमाको तयारीमा छ । १६ औं योजनामै शिक्षासम्बन्धी रणनीतिमा नैतिक शिक्षा समेटिने सम्भावना देखिएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा लुनिभा बाल सरोकार समूह र शिक्षा वाच समूहले आयोजना गरेको १६ औं योजनामा शिक्षाका सवाल विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक डा. लोकनाथ भुसालले अब नैतिक शिक्षा पनि पढाउनुपर्ने देखिएको बताए ।


उनले शिक्षित व्यक्ति पनि नैतिकवान हुनुपर्ने भन्दै शिक्षामा एक्सिलेन्ट व्यक्ति अर्को ‘अनैतिक’ मा पनि एक नम्बर हुन सक्ने बताए । उनले अब विद्यालय तहमै नैतिक शिक्षा र योग शिक्षा राख्ने अवधारणा आएको बताए । योजना आयोगले शिक्षासम्बन्धी १६ औँ योजनाका लागि अवधारणा तयार गरेको छ ।

खोज, अनुसन्धान र विकासमा आधारित नवीनतम्, व्यावहारिक, प्रयोगात्मक, सीपयुक्त र जीवनउपयोगी शिक्षाको प्रवर्द्धन, उच्च शिक्षामा समयनिष्ठताको पालना तथा शैक्षिक सुशासन प्रवर्द्धन, सबै तहको शिक्षामा डिजिटल प्रविधि, प्रयोगशाला र बहुविद्यायुक्त पुस्तकालयको प्रयोग र माध्यमिक शिक्षालाई वृत्ति विकास र उच्च शिक्षालाई उद्यम तथा रोजगार केन्द्रित “पढ्दै कमाउँदै र कमाउँदै पढ्दै” अवधारणाको प्रभावकारी कार्यान्वयन गर्नेपुर्ने अवधारणा ल्याइएको छ ।

यस्तै विपन्न तथा जेहनदार विद्यार्थी लक्षित छात्रवृत्तिको अनिवार्य र एकद्वार प्रणालीमार्फत समन्यायिक वितरण, विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा योगदान पुर्याउन योग, ध्यान र सकारात्मक सोचमा आधारित शिक्षा प्रणाली र नैतिक शिक्षाको प्रवर्द्धन, युवा प्रतिभालाई स्वदेशमा काम गर्न प्रोत्साहन गर्नुपर्ने अवधारणा तयार पारिएको छ ।

 १५ औँ योजनाका लक्ष्य पूरा भएनन् शिक्षामा १५ औँ योजनाले लिएका लक्ष्य पूरा नहुने भएका छन् । चालु आर्थिक वर्ष १५ औँ योजनाको अन्तिम वर्ष हो । गत आर्थिक वर्षसम्म प्रगतिले १५ औँ आयोजनाले लिएका लक्ष्य पूरा हुने अवस्था देखिएको छैन ।

पाँच वर्षमाथिको साक्षरता दर ९६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएकोमा ७६.२ प्रतिशत मात्र पुगेको छ । यस्तै १५ वर्षमाथिको साक्षरता दर ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएकोमा ६०.५ प्रतिशत मात्र पुगेको छ ।

यसअनुसार अझै ४० प्रतिशत युवा साक्षर छैनन् । प्रारम्भिक बाल शिक्षा तथा विकास पूर्व प्राथमिक शिक्षामा कूल भर्ना दर शत प्रतिशत पुर्‍याउने लक्ष्य लिए पनि ९४.६ प्रतिशत मात्र पुगेको छ ।


Author

थप समाचार
x