समाज

(फोटो फिचर)

मर्दीको किनारमा 'हनी हन्टिङ'

धनबहादुर गुरुङ |
जेठ २९, २०८० सोमबार १९:४८ बजे

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम भएको छ । माछापुच्छ्रे गाउँपालिकाको सहयोगमा सिदिङ युनाइटेड क्लबको संयोजनमा भीर मौरीको मह काढिएको हो ।


माछापुच्छ्रे गाउँपालिका-९ स्थित मर्दी खोलाको किनार कोप्रे भीरमा दुई दिनसम्म ‘हनी हन्टिङ’ चलेको हो । पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयको सहयोगमा मह काढिएको कार्यक्रम संयोजक अमृत तामाङले बताए । उक्त भीरबाट मह निकाल्न थालिएको लामो इतिहास रहेको स्थानीय बताउँछन् । अघिल्ला वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडा कार्यालयले अगुवाइ गरेको हो ।

मर्दी खोलाको किनारमा रहेको कोप्रे भीरमा ‘हनि हन्टिङ’ आयोजना गर्दा पर्यटकको आकर्षण बढ्ने माछापुच्छ्रे गाउँपालिका-९ वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए । ‘यसभन्दा अघि गाउँलेहरूले भीर मौरी काट्ने गर्थे । यो वर्षदेखि वडाले यसमा सहयोग गरेको हो,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘अर्को वर्षदेखि यसलाई अझ वृहत् बनाउने लक्ष्य छ ।’ 

मह निकाल्ने काम ६६ वर्षीय स्थानीय उमानाथ गौतमले गरेका थिए । गौतमले करिब ३५ वर्षदेखि मह निकाल्ने काम गर्दै आएका छन् । अहिले उनलाई ३६ वर्षीय उनकै छोरा चिमलाल गौतम लगायत ५ जनाले साथ दिएका थिए । 

एक वर्षमा दुई पटक भीर मौरीको सिकार गर्न सकिने मह सिकारी उमानाथ गौतमले जानकारी दिए । जेठ/असार र असोज/कात्तिकमा दुवै मौसममा भीर मौरीको सिकार गरी पर्यटकलाई देखाउन पाए पर्यटन क्षेत्र उकासिने उनको भनाई थियो ।

 

‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको गौतमले बताए । ‘भीर मौरीको सिकार गर्नु अलि बढी खतरा मानिन्छ,’ गौतमले भने, ‘सुरक्षा चुनौतीको विषयमा सरकारले हेर्दिए । सिजनको बेला भीरमा चढेर मह काटेर पर्यटकलाई देखाउन तयार छु ।’

‘हनि हन्टिङ’ हुने भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको संगम स्थल हो । पोखरादेखि करिब २५ किलोमिटर दूरी पार गरी भीर मौरीको मह काढेको हेर्न पाइने भएकाले पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले अभियान सुरु गरेको वडाध्यक्ष क्षेत्रीले बताए ।


Author

थप समाचार
x