समाज

छोराको चिता राम्रोसँग जल्न नपाउँदै बुवासहित १३ मलामी बेपत्ता

पहिरो खस्‍ने क्रम नरोकिएका कारण उद्धारमा समस्या

लक्ष्मी भण्डारी |
असोज २४, २०७९ सोमबार १४:३९ बजे

सुर्खेत - तीन दिनअघि कालिकोट तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको मृत्यु भयो । आइतबार दिउँसो शव अन्त्यष्टि गर्न बुबासहित ६० बढी मलामी घरबाट निस्किए । 

तिलागुफा–४ राचुलीस्थित तीला र कर्णाली मिसिएको दोभानमा चिता तयार गरिसकेपछि मृतक हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाहीले दागवत्ती दिए । चिता जल्दै थियो । 


बुवा कालीबहादुरसहित अन्य मलामीहरू नदीको किनारतिर फर्कँदै थिए । एक्कासि माथिबाट आएको पहिरोमा परेर मृतकका बुवासहित १३ जना मलामी बेपत्ता भए । ‘छोराको चिता राम्रोसँग जल्न नपाउँदै बुवा पनि बेपत्ता भए’ तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने ‘बेपत्ता भएका मलामीहरू अझै भेटिएको छैन ।’ 

शाहीका अनुसार वडा नम्बर चार वडाका अध्यक्ष प्रसिद्ध शाही, कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सदस्य, अनेरास्ववीयुका विद्यार्थी नेताहरु सहित १३ जनालाई पहिरोले पुरेछ । पहिरोमा पुरीएर बेपत्ता हुनेहरू मृतकका नजिकका आफन्त र नातागोताका बढी रहेका छन् । 

बेपत्ता भएकाहरूको खोजी कार्य जारी भएता पनि भेटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्रर रिमालले जानकारी दिए । 

बेपत्ता हुनेहरूमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनील शाही, मानबहादुर शाही र खगेन्द्र शाही छन् । पहिरो खस्ने क्रम नरोकिएका कारण उद्धारमा समस्या भएको डिएसपी रिजालले बताए । 


Author

थप समाचार
x