सुदूरपश्चिम

मेडिकल हब बन्दै सुदूरपश्चिम

दीपक उपाध्याय |
कात्तिक २४, २०८० शुक्रबार १०:३२ बजे

कैलाली- सुदूरपश्चिमको प्रमुख सहर धनगढी स्वास्थ्य क्षेत्रको केन्द्र बन्दै छ । कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने सुदूरपश्चिमवासीको बाध्यतालाई यहाँ खुलेका अस्पतालहरूले अन्त्य गरेको छ ।

धनगढीमा खुलेका सुविधा-सम्पन्‍न अस्पतालले एकातर्फ ठूलो धनराशि बाहिरिनबाट रोकिएका छन् भने अर्कोतर्फ स्थानीयवासीले घर नजिकै सेवा प्राप्त गर्न पाउँदा दंग छन् ।


आँखा उपचारमा पाएको सफलताले अहिले धनगढीमा लाखौं भारतीय नागरिकहरूको गन्तव्य पनि बनिरहेको छ । गेटा आँखा अस्पताल नेपालीहरूका लागि मात्रै नभएर सिमावर्तीदेखि टाढा-टाढासम्मका भारतीयहरूको रोजाई बनेको छ ।

धनगढीमा पछिल्लोसमय निजी लगानीमा थपिएका निसर्ग, माया मेट्रो, नोभा, कैलाली, सिपी, ओम आशा, सारथि, नवजीवन, स्वस्तिक, शौभाग्य जस्ता सुविधा सम्पन्‍न अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन् । यसबाट पहिले उस्तै सेवा लिन नेपालगञ्ज, काठमाडौँ र भारतका विभिन्‍न सहरसम्म पुग्नुपर्ने बाध्यता अब हटेको भन्दै स्थानीयवासी पनि खुशी छन् ।

केही वर्ष अघि मात्रै सञ्चालनमा आएको निसर्ग अस्पतालले सुदूरपश्चिममै पहिलोपटक भेन्टिलेटर, आईसीयू, एनआईसीयूलगायत बालरोग, स्त्री रोग, सर्जरी, अर्थोपेडिक, फिजिसियन चिकित्सकहरूबाट विशेषज्ञ सेवा दिइरहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले बताए । उनी अस्पतालले नाफामुखी मात्रै नभई सामाजिक उत्तरदायित्वसमेत बहन गरिरहेको बताउँछन् । अस्पतालले भारतका सहरहरूभन्दा गुणस्तरीय सेवा सर्वसुलभ दरमा उपलब्ध गराइरहेको उनको दाबी छ ।

सुरूमा पाँच करोडको लागतमा सञ्चालनमा आएको अस्पतालमा अहिले लगानी २५ करोडभन्दा बढी पुगिसकेको छ ।

माया मेट्रो अस्पतालले १४ जना विशेषज्ञ चिकित्सकको सेवाका साथमा सिटी स्क्यान, आईसीयु र एनआईसीयु सेवा दिइरहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताए । अस्पताल स्थापना गर्न १५ करोड लगानी गरिएको बताउँदै अहिले सेवा सुविधा थप गर्दा लगानी पनि २० करोड नाघेको अध्यक्ष साउदले बताए । अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई छुट दिँदै आएको र एउटै टिकटले सबै चिकित्सकबाट सेवा लिन सक्ने व्यवस्था गरिएको अध्यक्ष साउदले बताए।

त्यस्तै चार जना उच्च विशेषज्ञ चिकित्सक सेवासहित १६ जना चिकित्सकहरू रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रा.लिले करिब २० करोड रुपैयाँ लगानी गरेर गत फागुनदेखि सेवा दिँदै आएको अस्पतालका अध्यक्ष महेशराज जोशीले बताए । उनले सुदूरपश्चिममै पहिलोपटक अत्याधुनिक अप्रेसन थिएटरसहितको सुविधा अस्पतालले दिँदै आएको बताए । 

अहिले अस्पतालले मुटुरोग, बालरोग, हाडजोर्नी, गाइनोलगायत निसन्तान दम्पतीका लागि समेत सेवा दिइरहेको बताउँदै अध्यक्ष जोशीले स्वस्तिक अस्पतालले विपन्‍न समुदायको निशुल्क बेडसहितको सुविधा दिँदै आएको बताए ।

पछिल्लो समय अस्पतालबाट दिने सेवा सुविधा बढ्दै जानु र विशेषज्ञ सेवा स्थानीयस्तरमै पाइँदा खुशी लागेको बिरामी र उनीहरूका आफन्तहरू बताउँछन् ।

त्यस्तै सिपी अस्पतालले सस्तो दरमा एपेन्डिसाइटिसको उपचार उपलब्ध गराएपछि बिरामीहरूले स्थानीयस्तरमै उपचार सेवा पाएको अस्पतालका सञ्चालक डा. चन्द्र प्रकाश पाण्डेयले बताए । यो अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री रोग आदिमा विशेषज्ञ सेवा पनि प्रदान गरिरहेको छ ।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिममा भएको एउटै मात्र ठूलो सरकारी अस्पताल हो । त्यहाँ दुई सय शय्या मात्रै छ र ८ शय्याको मात्रै आईसीयू सुविधा छ ।

धनगढीमा नयाँ खुलेका निजी अस्पतालहरूमा चार सय शय्या उपलब्ध छ र प्रायः सबै अस्पतालमा भेन्टिलेटरसहित आईसियु सुविधा छ ।

अहिले धनगढीमा मात्रै करिब ८० जना विशेषज्ञ डाक्टरहरू उपलब्ध रहेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले बताए ।

गेटा अस्पतालमा निर्माणाधीन मेडिकल कलेज पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने कात्तिक १ गतेदेखि १०० शय्याको गेटा अस्पताल संचालनमा रहेको छ ।

गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले सामान्य सुविधासहित जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालनमा रहेको बताए । 

हाललाई ११ जना विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरिएको भए पनि आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा थप गरिने निर्देशक जोशीले बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x