कर्णाली

कर्णालीमा दलहरूलाई उम्मेदवार छान्नै सकस

लक्ष्मी भण्डारी |
चैत २२, २०७८ मंगलबार १८:४७ बजे

सुर्खेत– आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेभएपछि दलहरु यतिबेला उम्मेदवार छान्न सुरु गरेका छन् । कतिपय वडाहरुमा उम्मेदवारको टुंगो लागिसकेको छ भने अधिकाशंमा उम्मेदवार छान्न कसरत गरिरहेका छन् । 

वैशाख ११ र १२ गते उम्मेदवारले मनोनयपत्र दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । सोहीअनुरुप दलहरु विभिन्न तहमा छलफल गरी उम्मेदवार टुंग्याउने प्रक्रिया थालेका छन् । दलहरूले उम्मेदवार छनोटका लागि पालिकास्तरमा बैठक तथा छलफल गरिरहेका हुन् । एटटै पदमा पाँचदेखि सात जनासम्म आकाक्षीं हुँदा दलका शीर्ष नेताहरुलाई मिलाउन हम्मेहम्मे परेको छ ।


विगतको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक धेरै आकाक्षीं देखिएका छन् । वडामै पदको दाबी गर्ने धेरै देखिएपछि सबै दलमा उम्मेदवार सिफारिसमा भने सकस भएको काँग्रेसका प्रदेश अध्यक्ष ललितजंग शाहले बताए । ‘हामी अहिले चुनावको तयारीमा छौ’ उनले भने, ‘उम्मेदवार छनौटको लागि विभिन्न छलफलहरु गरिरहेका छौ ।’

कांग्रेसले चैत २० गते वडा कार्यसमितिको बैठक राखेर २१ गतेभित्र वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको थियो । वडामा उम्मेदवारको दाबी गर्ने धेरै भएपछि अधिकांशले पार्टीको निर्देशनअनुसार तोकिएको समयमा नाम सिफारिस गर्न नसकेको हो । टोल र वडा समितिका भेला तथा छलफल निरन्तर भइरहे पनि सहमति जुट्न नसकेको कांग्रेसका नेताहरुको भनाई छ ।  

नेकपा एमाले पनि चुनावी प्रचारसँगै उम्मेदवार छनौटको लागि बैठकहरु सुरु गर्न थालेको छ । यसपटक चुनावमा आकाक्षीं धेरै भएकाले व्यवस्थापन गर्न समस्या भएको एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । ‘स्थानीय निकायको चुनावमा आकाक्षीं धेरै हुनु स्वाभाविकै हो’ उनले भने, ‘हामी चाँहि विधि र पद्धति अनुसार अघि बढ्नुपर्छ । र यसको व्यवस्थापन पनि यसरी  नै गरिनु उचित हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि नेकपा ‍माओवादी केन्द्र पनि जुटेको छ । नेकपा माओवादीका प्रदेश अध्यक्ष विमला केसीले उम्मेदवारी छनोटको तयारीमा रहेको बताइन् । गठबन्धनको विषयमा छलफलमा रहेको बताइन् । गठबन्धनमा जाँदा कुन् क्षेत्रमा कसलाई उम्मेदवार बनाउने लगायतका विषयमा छलफलहरु भइरहेका उनले बताइन् । ‘अहिले आकाक्षीं धेरै हुनु स्वाभाविक पनि हो’ केसीले भनिन् ‘हामी गठबन्धनमा जाने भएकाले पनि  जित सुनिश्चत हुने भएकाले अझ बढी आकाक्षीं पनि भएका हुन् ।’ त्यसैगरी नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि आन्तरिक तयारीमा जुटेका छन्। यी दलहरूमा पनि उम्मेदवार छनोटको चटारो सुरु भएको हो ।
 


Author

थप समाचार
x