कर्णाली

सुर्खेतका एकल महिला भन्छन्- स्थानीय निर्वाचनमा हामी पनि दाबेदार

लक्ष्मी भण्डारी |
चैत १८, २०७८ शुक्रबार १३:४ बजे

सुर्खेत- सुर्खेतका एकल महिलाहरूले स्थानीय निर्वाचनमा प्रतिनिधित्व गराइनुपर्ने माग गरेका छन् । एकल महिलाको सहभागिता भएमा आफुहरूका मुद्दाहरू उठान हुने भएकाले अनिवार्य रुपमा सहभागिता गराइनुपर्ने उनीहरूको भनाई छ ।

एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले आगामी निर्वाचनमा एकल महिलाहरूको प्रतिनिधित्व गराउनको लागि आफ्ना मागहरू उठाइरहेको बताइन् । ‘हाम्रा दिदीबहिनीहरू पनि जनप्रतिनिधिका दाबेदार हुनुहुन्छ’ उनी भन्छिन्, ‘हामी जनप्रतिनिधि हुन सकेमा हाम्रा सवालहरू र अधिकारका सुनिश्चित हुन्छन् ।’


पहिलो निर्वाचनमा केही वडा सदस्यहरू जनप्रतिनिधिमा निर्वाचित भएकाले एकल महिलाका सवालहरू उठान भएको भन्दै अब हरेक वडाहरूमा एकल महिलाका प्रतिनिधित्व गराउन जरुरी रहेको उनको भनाई थियो । यसको लागि सुर्खेतका सबै राजनीतिक दलहरूसँग समन्वय गरेर अघि बढ्ने उनको भनाई छ ।

एकल महिला समूहका कोषाध्यक्ष नन्दा गुरुङले एकल महिला जनप्रतिनिधि भएका वडामा एकल महिलाका कार्यक्रमका लागि बजेट छुट्याउन सफल भएको बताइन् । अब सुर्खेतका सबै पालिकामा एकल महिलाको प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ ।

वीरेन्द्रनगर वडा नम्बर ३ का वडासदस्य रामकुमारी थापाले जनप्रतिनिधि निर्वाचित भएपछि एकल महिलाका अधिकारका विषयमा आवाज उठाएको बताइन् । उनले आफ्नो पहलमा बजेट छुट्याएर एकल महिलाका सशक्तिकरणका विषयमा कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिइन् ।

यसैबीच  शुक्रबार आयोजना गरेको एकल महिला समूहले सञ्चालन गरेको नयाँ परियोजनाको विषयमा समेत जानकारी गराइएको थियो । जर्मन सरकारको सहयोगमा विरेन्द्रनगरका १६ वटै वडामा तीन वर्षका लागि शान्ति परियोजना सञ्चालन भएको कार्यक्रम संयोजक डिला आचार्यले बताइन् ।

सन् २०२२ जनवरीदेखि २०२४  डिसेम्बरसम्म परियोजना सञ्चालन गरिने उनले बताइन् । परियोजनामा एकल महिलालाई न्यायको पहुँच दिलाउनुका साथै आर्थिक रुपमा सशक्त बनाउने आचार्यले बताइन् । उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले एकल महिलाहरू आफ्ना हक अधिकार प्राप्तिका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए । सिमान्तकृत महिलाहरूका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले सिमान्तकृत वर्गहरू पछाडी रहेसम्म राज्यको अधिकार पूर्ण नहुने भन्दै यस्ता वर्गलाई अगाडी बढाउन सबै निकायले समन्वय गर्नुपर्नेमा जोड दिइन् ।


Author

थप समाचार
x