कर्णाली

यस्तो छ कर्णालीमा चुनावको तयारी

लक्ष्मी भण्डारी |
चैत ११, २०७८ शुक्रबार ८:३४ बजे

सुर्खेत- स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको छ । जिल्लास्थित निर्वाचन कार्यालहरू चुनावपूर्वका काममा जुटेका छन् भने राजनीतिक दलहरु मतदाता आफ्नो पक्षमा पार्न प्रयास थालेका छन् ।  निर्वाचन कार्यालयहरूले जनशक्ति व्यवस्थापनलगायतका काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

हाल मतदाता नामावलीको आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय भइरहेको हो । कर्णालीका सबै जिल्लामा सुरक्षा समितिमार्फत निर्वाचन केन्द्रको अवस्थाबारे स्थलगत अवलोकन गरिसकिएको निर्वाचन कार्यालयहरूले जनाएका छन् ।


प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दलहरूले चुनाव चिन्हका लागि दिएका निवेदन अहिले आयोगमा छानबिनका क्रममा रहेको जनाएको छ । ‘दलका पदाधिकारीको संख्यासहित आवेदन आयोगमा पठाएका छौं,’ प्रदेश निर्वाचन अधिकारी चालिसेले इकागजसँग भने, ‘त्यो अहिले छानबिनका क्रममै छ ।’

आसन्‍न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयहरूले चुनाव पूर्वका व्यवस्थापकीय कामहरू तीव्रताका साथ अघि बढाएको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालयले सुर्खेत र कर्णालीका अन्य जिल्लाका हकमा सम्बन्धित निर्वाचन कार्यालयहरूले व्यवस्थापनका काम अघि बढाएका हुन् । आयोगको निर्देशन बमोजिम आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर निर्वाचन कार्यालयहरू तयारीमा होमिएका छन् ।

दश वटै जिल्लास्थित निर्वाचन कार्यालयले मतदाता नामावलीको संशोधन, सरोकारवाला निकायसँग छलफल, चुनावका लागि जनशक्ति तथा स्रोत–साधनको व्यवस्थापनका काम गरिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार आयोगले चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । मतदाता नामावली आयोगको वेबसाइटमा राख्ने तयारी भइरहेको प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए ।

सुर्खेतमा दुई लाख ४० हजार मतदाता
प्रारम्भिक विवरणअनुसार सुर्खेतमा दुई लाख ४० हजार आठ सय एक जना मतदाता रहेका छन् । उक्त संख्यामा त्रुटि सच्याउँदा केही घट्न सक्ने आकलन गरिएको छ । दोहोरिएका र मृत्यु भएकाहरूको नाम हटेपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने क्रममा छ । निर्वाचन अधिकृतको नियुक्ति चैत १३ गतेसम्म हुनेछ । वीरेन्द्रनगर नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचनमा खटिने अन्य कर्मचारीको विवरण लिने काम भइरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनाए । 

मतदान अधिकृतहरूले निर्वाचन गराउने, मतपेटीका संकलन गर्ने र मतपरिणाम घोषणासम्मको काम गर्नेछन् । अहिले प्रदेश निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालय स्थापनका लागि स्थानीय तहसँग छलफल थालेको छ । त्यस्तै, जिल्ला–जिल्लामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ । सुर्खेत जिल्लाभर एक हजार दुई सय म्यादी परिचालन गर्नेगरी भर्नाको प्रक्रिया अघि बढाइएको छ ।

२९ मतदान केन्द्र थप्ने तयारी
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा मतदान कार्य व्यवस्थित गर्न एक सय ३८ मतदान स्थल निर्धारण गरिएको छ भने दुई सय ९२ मतदान केन्द्रहरू प्रस्ताव गरिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा यो पटक सुर्खेतमा २९ वटा मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा दुई सय ६३ वटा मतदान केन्द्र थिए । मतदान स्थल भने फेरबदल नहुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । २९ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिले अतिसंवेदनशील स्थानका रूपमा राखिएको छ । सडक सञ्जाल, सञ्चार र विगतमा भएका झडपको आंकलन गरी सुरक्षा समितिले संवेदनशील स्थानका रूपमा हेरेको हो ।

सुर्खेतमा यसअघिका निर्वाचनमा २० वटा मतदानस्थल संवेदनशील मानिएकोमा यसपटक थप नौ वटा स्थललाई पनि जोखिममा राखिएको छ । स् प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारीहरूले जिल्लाभरका मतदान स्थल तथा केन्द्रहरूको स्थलगत अनुगमन तथा सरोकारवालासँग आवश्यक समन्वय गरिरहेका छन् । अनुगमनका क्रममा संवेदनशील ठानिएका मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्थाको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।


Author

थप समाचार
x