कर्णाली

मास्‍क नलगाए एक सय जरिवाना

लक्ष्मी भण्डारी |
साउन २५, २०७८ सोमबार १२:४८ बजे

सुर्खेत- कोरोना संक्रमित बढेसँगै सुर्खेतमा मास्‍क लगाउन अटेरी गर्नेलाई जरिवाना गर्न थालिएको  छ । अबदेखि मास्‍क नलगाएर हिँडेमा एक सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । एक सातासम्म मास्‍क लगाउनुपर्छ भन्दै अभियान नै थालेको सुर्खेत प्रहरीले मास्‍क लगाउन अटेर गर्नेलाई जरिवाना तिराउन थालेको छ ।

यस अघि प्रहरीले ‘मास्‍क खोई’ अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत जनचेतनासँगै मास्‍क नलगाएर हिँडेकाहरूलाई मास्‍क वितरण पनि गरेको थियो । कोरोनोको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा सय रुपैयाँ जरिवाना लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । आइतबारदेखि सुरुवात गरिएको अभियानमा ५० जनालाई कारबाही गरिएको घर्तीले बताए ।


‘सुरुवातमा त मास्‍क लगाउनुपर्छ भनेर एक सातासम्म सम्झाउने काम मात्र गरेका थियौँ’ घर्तीले भने, ‘त्यतिबेला मास्‍क नलगाएकालाई मास्‍क वितरण पनि गर्‍यौँ ।’ सम्झाउँदा पनि अटेर गरेर मास्‍क नलगाउनेलाई जरिवाना गर्न थालेका छौँ । जरिवानाबाट पाँच हजार रकमसमेत संकलन भएको घर्तीले जानकारी दिए ।

सुर्खेतमा कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरूले कोरोनाबाट बच्‍नका लागि मास्क अनिवार्य लगाउन आग्रह गर्दै प्रचारत्मक कार्यक्रम गर्दै आएका छन् । यति गर्दा पनि सर्वसाधारणहरू मास्क लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x