गण्डकी

कोरला नाका खुलेपछि हौसिए मुस्ताङी

धनबहादुर गुरुङ |
मंसिर १, २०८० शुक्रबार १०:२ बजे

पोखरा- नेपाल र चीनको सिमाना कोरला नाकामा वर्षको २ पटक हुने व्यापार मेला २०७६ सालको भदौदेखि भएन् । सुरक्षा तथा विविध कारण देखाउँदै दोस्रो अन्तरदेशीय व्यापार मेला स्थगित भएको थियो । प्रत्येक वर्षको असार र भदौमा हुने मेला असारमा भएपछि सकियो । 

मुस्ताङका स्थानीयले त्यो मेलामा आफूलाई आवश्यक लत्ताकपडा, नुनसँगै खाद्यान्न लिएर आउँथे भने मुस्ताङबासीले स्थानीय उत्पादन र जडिबुटी निर्यात गर्थें । बन्द भएपछि लगभग साढे ४ वर्ष मेला भएन् ।


मेला बन्द हुँदा चिनियाँ पक्षलाई भन्दा मुस्ताङबासीलाई निकै समस्या भयो । त्योबीचमा मुस्ताङका जनताले व्यापार मेला खुलाउन सरकारसँग निकै आग्रह गरेका थिए । यसका लागि सरकारी पक्षबाट पनि प्रयास भएका थिए । सोही समयमा कोरोना महामारी फैलिएपछि मेला खोल्ने विषय ओझेलमा पर्‍यो । 

कोरोनाको दर घट्दै गएपछि पुनः मेलासँगै कोरला नाका नै खुलाउने प्रयास सुरु भयो । अन्ततः साढे ४ वर्षपछि कोरला नाका मुस्ताङीका लागि खुला भएको छ । नाका उद्घाटन समारोहमा नेपालका तर्फबाट गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेश सभा सदस्य नम्डु गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

उनीहरूसँगै सयौंको संख्यामा मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय उपस्थित थिए । त्यहाँ उपस्थित जनताहरूले पास बनाएर त्यहाँ पुगेका हुन् । उनीहरू नाका खुलेपछि निकै खुसी भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले बताए । पास भएका स्थानीयहरू वर्षौंपछि कोरला नाकाबाट चीनतर्फ प्रवेश गरेर त्यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी भएको उनले बताए ।

‘मुस्ताङमा रहेको नेपाल चीन कोरला नाका औपचारिक रुपमा दोहोरो सञ्चालनमा आएको छ,’ गुरुङले इकागजसँग भने, ‘यस अघि वर्षमा दुई पटक व्यापार मेलाका रुपमा नाका अब १२ महिना नै खुल्ने भएको छ ।’

लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीहरूलाई खाद्यान्न, लत्ता कपडा पनि सहयोग गरेको अध्यक्ष गुरुङले बताए । १५ वटा ट्रकमा रहेका खाद्यान्न उच्च हिमाली भेगका स्थानीयको विशेष प्रकारको खाद्यान्न सांस्कृतिक आदानप्रदानको रुपमा सांकेतिक सहयोग प्राप्त भएको उनले सुनाए । 

अब मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको सीमा क्षेत्रमा आवतजावत गर्न पाउने भएका छन् । पहिले चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । 

दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच सहमति भएपछि मुस्ताङका सबै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न सक्ने प्रदेश सभा सदस्य नम्डु गुरुङले इकागजलाई जानकारी दिए । यसका लागि पास भने आवश्यक रहेको उनको भनाई थियो । ‘पहिला दुई पालिकाका जनताहरूलाई मात्र पास बनाइएको थियो । तर, मुस्ताङबासीहरू नाका खुल्ने खबरले निकै उत्साही थिए । अन्य पालिकाका नागरिकले पनि पाउनुपर्छ भन्ने चाहना राखे,’ उनले भने, ‘खुलकै दिन सहमति पनि भयो । अब सबै मुस्ताङीहरूले पास बनाएर जान पाउँछन् । 

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान पास बनाएका थिए । तिहारपछि अन्यलाई पनि पास बनाइदिएर नाका प्रवेश गर्ने वातावरण बन्ने सांसद गुरुङले जानकारी दिए । 

कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङबासीलाई आवत जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । अब मुस्ताङबासीले खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री नाका पार गरी लिन पाउनेछन् । नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले ‘प्रिफेव कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो । 

चीनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन निर्माण गरिसकेको अवस्थामा नेपालले पनि निर्माण गर्न ढिला गर्न नहुने सांसद नम्डु गुरुङको भनाई छ । नाकाभन्दा केही तल नेचुङमा शसस्त्र प्रहरी बलको (बिओपी)को भवन निर्माण भएको छ ।

जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ । ‘अहिले चीनतिर भव्य संरचना बनिसकेको छ । हाम्रो नेपालपट्टी संरचना शून्य छ,’ उनले भने, ‘मुस्ताङी जनताका लागि खुसीको कुरा त भयो अब सम्पूर्ण गण्डकीबासी अनि नेपालीहरूको हितका लागि नाका पूर्ण रुपमा खुलाउन प्रयास थाल्नुपर्छ ।’


Author

थप समाचार
x