बागमती

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको संकट बढ्यो

एकीकृत समाजवादीले सातै प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मत नदिने

हाम्रो नेपाली पार्टी सरकारमा सामेल भए पनि पार्टीले निर्णय नगरेको भन्दै विवाद

इकागज |
चैत १८, २०८० आइतबार १७:५८ बजे

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन् ।

यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सातै प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको पक्षमा नउभिने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरू उभिन बाध्य भएको बताएका छन् ।


हाम्रो नेपाली पार्टी सरकारमा सामेल भए पनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीको २ मत छ ।

एकीकृत समाजवादीले विश्वासको मत नदिएमा जम्कट्टेलले विश्वास मत गुमाउने छन् ।

प्रदेशमा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । तीनै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

यसैबीच नयाँ सत्ता समीकरणमा रहेका दलका शीर्ष नेताहरूबीच बागमती प्रदेशको विषयमा छलफल गर्न बैठक बसे पनि अनिर्णित भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशमा नेतृत्व पाउनुपर्ने, सबै प्रदेशमा सम्मानजनक सहभागिता पाउनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भाग पाउनुपर्ने माग राखेको बताइएको छ ।

उनले भागबण्डा स्पष्ट नभए बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादी बाध्य नहुने चेतावनी समेत दिएका छन् ।


Author

थप समाचार
x