मधेश

प्रदेश २ : समायोजनअघि नै सरकार परिवर्तन होला ?

सुवास कर्ण |
कात्तिक १, २०७७ शनिबार १६:३० बजे

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनबारे चर्चा–परिचर्चा भइरहेको बेला सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समायोजनपछि मात्र परिवर्तन हुने बताएका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा जसपा केन्द्रिय अध्यक्ष यादवसँग संसदीय दलको बिहीबारको बैठकमा सत्तारुढ दलकै प्रदेश सांसदहरुले मुख्यमन्त्रीसहित सरकारमा सहभागी मन्त्रीबारे आलोचना गरे पनि तत्कालका लागि सरकार परिवर्तन नहुने बताएका थिए ।


संसदीय दलको बैठकमा प्रदेश सांसदहरुले सरकार नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको क्रियाकलाप जनताको चाहनाअनुसार नभएको भनी आलोचना गरेका थिए ।

बैठकमा सहभागी २४ सांसद मध्ये १९ जना प्रदेश सांसदले मुख्यमन्त्री राउत र सरकारका अन्य मन्त्रीको कार्य जनताप्रति उत्तरदायी नभई व्यक्तिगत स्वार्थमा पदीय दुरुपयोग गर्दै आएको आरोप लगाए । तीन जना सांसदले सरकारको क्रियाकलापको बचाउ गरेका थिए भने अन्य दुई सांसद तटस्थ बसे ।

बैठकमा आफूमाथि प्रदेश सांसदहरुले लगाएका विभिन्न आरोपको मुख्यमन्त्री राउतले अस्वीकार गरे । ‘ मिडियामा आएको जस्तो केही कुरा छैन,’ उनले इकागजसँग भने, ‘सरकारको कामकारवाही बारे समीक्षा मात्र गरिएको थियो तर त्यसलाई तोडमरोड गरेर केही मिडियाले भ्रम सिर्जना गरे ।’

सांसद मनिष सुमनले बैठकमा सहभागी सांसदहरुले समाजिक विकास मन्त्री बनेका नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायको कार्यशैलीप्रति आलोचना गर्दै तिनीहरुको छोरा मन्त्रालय चलाउंदै आएको आरोप लगाएको बताए । उनले मन्त्रालयमा परिवारवाद हावी भएको पनि आरोप लगाए ।
सुमनका अनुसार बैठकबाट जनता समाजवादी पार्टी नेपाल, प्रदेश २ को संसदीय दलको विधान तयारीका लागि समिति समेत गठन गरिएको छ । विधान तयारीका जिम्मेवारी सांसद रामआशिस यादव, मनिषकुमार सुमन, परमेश्वर साह, उपेन्द्र महतो, रानीकुमारी शर्मा तिवारीलाई दिइएको छ ।

विधान तयारी समितिले सात दिनभित्र विधानको मस्यौदा तयार गरेपछि समायोजन र निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ ।  विधान तयारी नहुँदै संसदीय दलको नेताका लागि उपेन्द्र महतो, मनिष सुमन, जितेन्द्र सोनल, लालबाबु राउत लगायतका आधा दर्जन सांसदहरु तयारीमा जुटिसकेका छन ।
प्रदेश सरकार परिवर्तनबारे जसपा नेपालका केन्द्रिय सदस्य महेन्द्र राय यादवले केन्द्रीय कमिटिमा प्रदेश सरकार परिवर्तनबारे अहिलेसम्म कुनै छलफल नै नभएको बताए । ‘समायोजन प्रक्रिया सम्पन्न भएपछि मात्रै सरकार परिवर्तन हुनेछ,’ उनले इकागजसँग भने ।

उनले भने ‘पार्टी एकीकरण भएपनि अहिले केन्द्रमै समायोजन प्रक्रिया सम्पन्न भएको छैन, केन्द्रपछि प्रदेशमा समेत समायोजन प्रक्रिया सम्पन्न भएपछि मात्र संसदीय निर्वाचन प्रक्रियामा जानेछ त्यसपछि मात्रै सरकारको परिवर्तन बारे छलफल हुनेछ ।’

सरकार परिवर्तन गर्न सत्तारुढ दलका सांसदहरुले आन्तरिक रुपमा पटक–पटक आवाज उठाउंदै आए पनि पार्टी नेतृत्व वर्तमान समयमा सरकार परिवर्तन गर्न नसकिने बताउँदै आएका छन् । पछिल्लो पटक सांसद उपेन्द्र महतोको नेतृत्वमा आधा दर्जनभन्दा बढी सांसदहरुले सरकार नेतृत्वकर्ता जनताप्रति उत्तरदायी नभई परिवारवाद र जातिवादमा लागेको भनी सरकार परिवर्तनको मांग गर्दै पार्टी नेतृत्वकर्तालाई ज्ञापन पत्र नै बुझाएका थिए ।

तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच गत बैशाख १० मा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो । पार्टी एकीकरणपश्चात् वैधानिकता पाएको तीन महिना बितिसके पनि हालसम्म पार्टीले समायोजन प्रक्रिया सम्पन्न गर्न सकेको छैन । पार्टी समायोजन हुन नसकेको कारण केन्द्रीय र प्रादेशिक समितिमा समेत संसदीय दलका निर्वाचन हुन सकेको छैन । यसले गर्दा प्रमुख सचेतक संसदीय दलका नेताहरुले दोहरो सुविधा लिदै आइरहेका छन् ।  


Author

थप समाचार
x