मधेश

मधेश प्रदेश सभामा जनमतको अवरोध

इकागज |
बैशाख ४, २०८१ मंगलबार १४:३६ बजे

जनकपुरधाम - सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकको सुरुमै जनमतका प्रमुख सचेतक चन्दन सिंहले जवाफ माग गर्दै बैठक चल्न नदिने बताए । उनले यसअघि विश्वासको मत लिने क्रममा फागुन ६ गते उक्त घटनाको अनुसन्धान गर्ने विषयमा सहमति भएपनि प्रदेश सरकारले गम्भीरता नदेखाइ पुन विश्वासको मत लिन खोजेको भन्दै आपत्ति जनाए । उनले एकलौटी र हैकमवादीले सदन चलाएको भन्दै आक्रोश व्यक्त गरे । 


लगतै एमाले सांसदहरूले व्यक्तिगत कुरा उठाएर सदन अवरोध गर्न खोजिएको भन्दै आपत्ति जनाएपछि जनमतका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । बैठकमा सभामुख रामचन्द्र मण्डलले पटक पटक बस्न आग्रह गर्दापनि विरोध कायमै रहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रीसहित सांसदमाथि भएको घटना छानबिन हुनुपर्ने माग जनमतले राखेको छ । मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा भएको झडपमा महेश यादव लगायत ३ सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।


Author

थप समाचार
x