मधेश

शिक्षक, कर्मचारीको आन्दोलनमा शिक्षक संघ रौतहटको ऐक्यबद्धता, तलब माग गर्दै धर्ना

इकागज |
पुस २१, २०८० शनिबार २१:४७ बजे

रौतहट- नेपाल शिक्षक संघ रौतहटका पदाधिकारीहरू धर्नास्थल पुगेर शिक्षक कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । 

नेपाल शिक्षक संघ रौतहटको तेस्रो पूर्ण विस्तारित बैठक तथा शैक्षिक अन्तर्क्रिया कार्यक्रम मावि विजयपुरमा भव्य रूपमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक संघ मधेश प्रदेश कार्यसमितिको प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरू नेपाल शिक्षक संघ जिल्ला कार्य समिति रौतहटका पदाधिकारी तथा सदस्यहरू, १८ वटै पालिकाका अध्यक्ष तथा विभिन्न विद्यालयको प्रधानाध्यापक जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । फतुवा विजयपुरको शिक्षक तथा कर्मचारीले ७ महिनादेखि तलबभत्ताबाट वञ्चित रहेकोमा उक्त मुद्दामा केन्द्रित रही विभिन्न निर्णय गरेको छ ।   


रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै तेस्रो दिन पनि धर्नामा जारी राखेका छन् । जनप्रतिनिधिबीच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडि बुधबारदेखि धर्ना सुरु गरेका हुन् । 

नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट तीन जना, निमाविबाट दुई जना प्राविबाट एक जना गरी आजदेखि पालोपालो गरी धर्ना सुरु भएको हो । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ देखि ४ बजेसम्म धर्ना जारी रहने तथा दोस्रो चरणमा सम्पूर्ण विद्यालय बन्द गरी सडक आन्दोलनमा उत्रने सहभागी दुधिअवाका शिक्षक रञ्जन खरेलले चेतावनी दिए ।

तत्कालीन मेयर गोपाल राय यादव विशेष अदालतबाट दण्डित भएर निलम्बित भएसँगै कार्यबहाक मेयर खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको हो ।

मन्त्रालयको निर्देशनमा फतुवामा केही समय अघि प्रशासकीय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरूसँगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरू विभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन् ।

असार १० गतेभित्र हुनुपर्ने नगर परिषद् जनप्रतिनिधिबीच आपसी तालमेल नमिलेको कारण हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि शून्य भएको छ ।

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक कांग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरू पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्योल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन् ।

कांग्रेस पार्टीका एक जना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर खातुन एकोहोरो गरेको र उनी पनि कांग्रेस पार्टीकै भएकाले पहिले पार्टीभित्र आएर आत्मालोचना गरेपछि मात्र बैठकमा सहभागी हुने अडान राखेका छन् । कांग्रेस समर्थित जनप्रतिनिधिको कारण नगरपालिकाको कामकाज प्रभावित बनाइरहेको कार्यवहाक मेयर अम्बेया खातुनले बताएकी छन् ।

यसअघि मेयर खातुन एमालेका ३ जना र जसपाका १ गरी ४ जना वडा अध्यक्षहरूले शिक्षक कर्मचारीको धर्नामा ऐक्यबद्धता जनाएका थिए ।


Author

थप समाचार
x