मधेश

जसपामा विवाद छताछुल्ल,  प्रदेश प्रशिक्षणकै क्रममा सामानान्तर कमिटी गठन

सुभाष कर्ण |
कात्तिक २२, २०८० बुधबार १९:५२ बजे

जनकपुरधाम -  जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश कमिटीको प्रशिक्षणमा बेला सप्तरी जिल्लामा विवाद भएको छ । जिल्ला वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद यादवको संयोजकत्वमा छुट्टै जिल्ला समानान्तर कमिटी गठन गरिएको छ । 

जसपाका कार्यकारिणी समिति सदस्य रेणु यादव र शैलेन्द्र साहको अगुवाइमा बुधबार भएको जिल्ला भेलाबाट यादवको संयोजकत्वमा ५७ सदस्यीय समानान्तर कमिटी गठन भएको जसपाका प्रदेश उपाध्यक्ष शम्भु झाले जानकारी दिए । 


सिराहाको लहानमा जारी प्रशिक्षण कार्यक्रममा रेणु यादव, विमल चौधरी र शैलेन्द्रसाह लगायतका केन्द्रीय नेताहरू सप्तरी भेलामा सहभागी रहेको कारण अनुपस्थित रहेका थिए । 

जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा १ बजे सम्पन्न भेलाले गठित सामानान्तरको कार्य विभाजन आगामी बैठकबाट गरिने उनले बताए । उनले भने, ‘पार्टीमा अध्यक्ष मात्र हुँदैन, उपाध्यक्ष, सचिवलगायत अन्य पदाधिकारीहरू पनि हुन्छन्, कुनैपनि निर्णय गर्दा सबैसँग समन्वय गरी गर्नुपर्दछ । तर त्यस्तो नगरी अध्यक्षले एकल निर्णयबाट गर्दै आएको कारण असन्तुष्ट पक्षहरुले समानान्तर कमिटी गठन गरेको हो ।’

पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका लागि छुट्टै भेला बोलाएको बताउँदै उनले यसमा जिल्ला समितिका बहुमत सदस्यको निर्णय रहेको बताए । पार्टीभित्र केही असन्तुष्टिहरू छन्, त्यसलाई सम्बोधन नगरी हैकमवादी रुपले अघि बढ्नु गलत रहेकाले बहुमतले भेलाबाट समानान्तर कमिटी गठन गरिएको झाले बताए । 

उनले समानान्तर कमिटी गठन पार्टी विभाजनका लागि नभइ पार्टीलाई दिशानिर्देश र सुदृढीकरणका लागि गरिएको स्पष्ट पारे । पार्टीलाई थप बलियो र अनुशासित बनाउनका लागि भेला बोलाइएको उनको भनाइ छ । 

उता, जसपा सप्तरी जिल्लाका अध्यक्ष केदार यादवले भने पार्टीको कुनै पनि भेला नडाकिएको बताएका थिए । उनले एक विज्ञप्ति जारी गरी पार्टीले कुनै भेला नडाकेको बताउँदै छुट्टै भेलामा कोही पनि सहभागी नहुन र कसैलाई सहभागी नगराउन भनेका थिए । 

विज्ञप्तिमा भनिएको छ– ‘विभिन्न सामाजिक सञ्जालमा कात्तिक २२ गते राजविराजको जिल्ला समन्वय समितिको हलमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलाको सूचना प्रकाशित भएको हुँदा सो दिन पार्टीको कुनै किसिमको जिल्लास्तरीय कार्यकर्ता भेला नरहेको जानकारी गराउँछु ।’

२०७९ को स्थानीय चुनावदेखि नै सप्तरीमा जसपाभित्र विवाद रहेको छ । चुनावमा टिकट वितरणदेखि एक अर्कालाई हराउनेसम्मको चलखेल भएको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेका थिए । उनको हारलाई पनि पार्टीभित्रको आन्तरिक विवादको परिणामको रुप लिइँदै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x