कोशी

उर्लाबारी आगलागी : घाइतेहरूमध्ये गम्भीर अवस्थाका १४ जनालाई काठमाडौँ लगियो

बाबुराम भण्डारी |
कात्तिक २७, २०८० सोमबार २१:४९ बजे

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आइतबार राति भएको आगलागी नियन्त्रणका क्रममा खटिएका नेपाली प्रहरीसहित २८ जना घाइते भएका छन् । 

सटरभित्र आगलागी भइरहेको अवस्थामा नियन्त्रणका लागि सटर खोल्ने क्रममा त्यहाँभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङ, प्रहरी जवान दिल कुमार आचार्य र ऋदिकिरण राईसहित २८ जना घाइते भएको जनाइएको छ । 


घाइते प्रहरीहरू मध्ये गम्भीर अवस्थाका प्रहरी सहायक निरीक्षक प्रधान, प्रहरी जवान आचार्य र राईसहित १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको हो ।

कोशी प्रदेश सरकारको समन्वयमा उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जनाइएको छ । 

उक्त सुन पसलमा सोमबार बिहानसम्म आगलागी भएको थियो । आगलागी नियन्त्रणका क्रममा खटिएका प्रहरीसहित स्थानीय सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । सटरभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोको लप्काले उनीहरू जलेका हुन् ।

घाइतेहरूलाई तत्कालै झापाको दमक र मोरङको विराटनगरस्थित विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको थियो । गम्भीर अवस्थाका घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको र बाँकीको विराटनगरका अस्पतालहरूमा अहिले पनि उपचार जारी रहेको जनाइएको छ ।

गम्भीर घाइते भएकाहरू मध्ये प्रहरीबाहेक कुमार तामाङ, सलिम मन्सुरी, दिनेश शर्मा, शिवकुमार बिक, दिपेन्द्र कार्की, रामेश्वर मरिच, विशाल बस्नेत, कौशल गुरुङ, नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बूलाई काठमाडौँ लगिएको हो ।

रातको समयमा भएको आगलागी नियन्त्रणका क्रममा खटिएका प्रहरी नै लागोले जलेर घाइते भएको जानकारी आएपछि उनीहरूको उपचारका लागि कोशी प्रदेश सरकारले समन्वय गरेर नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पुर्याइएको मुख्यमन्त्री केदार कार्कीले बताए ।

‘१४ जनालाई काठमाडौँ पुर्‍याएका छौं, केहीको विराटनगरकै अस्पतालहरूसँग समन्वय गरेर उपचार भइरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘चिकित्सकको सल्लाह अनुसार कसलाई काठमाडौँ पठाउने र कसलाई विराटनगरमै उपचार हुने भन्ने कुरा तय भएको जानकारी आएको छ, सबैको सहज उपचार होस् भन्नेमा प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ ।’  

घाइतेहरूको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि सम्बन्धित अस्पतालहरूमा संयोजन गरी प्रदेश सरकारको तर्फबाट आवश्यकता जानकारी लिने काम भइरहेको मुख्यमन्त्री कार्कीले बताए । 

आगलागी नियन्त्रणका क्रममा घाइते भएकाहरूको झापाको बि एण्ड सी अस्पताल र लाइफलाइन अस्पताल, विराटनगरको न्युरो आर्या अस्पताल, विराट नर्सिङ होम, रेड प्लस अस्पताल तथा उर्लाबारीकै गोदावरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उक्त आगलागीबाट बागमती प्रदेश ०१– ०२५ च ६८४६ नम्बरको कार र मे ८ प ६५०६ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको जनाइएको छ । 

आगलागी नियन्त्रणमा खटिएका प्रहरी र सर्वसाधारणसमेत ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि झापाको दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको कानेपोखरीको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x