कोशी

एमाले कोशी अधिवेशन: तीन वटा मतपत्र, सात ठाउँमा मत खसाल्ने व्यवस्था

एक जनालाई मतदान गर्न १५ मिनेट लाग्ने अनुमान

बाबुराम भण्डारी |
असोज १४, २०८० आइतबार २२:४ बजे

विराटनगर - नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदानको तयारी पूरा भएको छ । मतदानका लागि प्रतिनिधिहरु लाइनमा लागेका छन् ।
आइतबार बिहान ११ बजे तय गरिएको मतदान प्रक्रिया ढिलाई हुँदा अहिले सुरु हुने तयारी भइरहेको छ ।

मतदानका लागि तीन वटा मतपत्र व्यवस्था गरिएको छ । अध्यक्षसहित पदाधिकारीको एउटा मतपत्र रहेको छ । त्यसैगरी खुल्ला सदस्य र समावेशी सदस्यको अलग(अलग मतपत्र व्यवस्था गरिएको निर्वाचन कमिटीले जनाएको छ ।  मतदान गरिसकेपछि  सात स्थानमा मत खसाल्ने व्यवस्था गरिएको छ ।


निर्वाचन कमिटीका निर्वाचन अधिकृत खिला निरौलाका अनुसार एक जना प्रतिनिधिलाई मतदान गर्न अधिकतम १५ मिनेटसम्म लाग्न सक्ने जानकारी दिए ।

निरौलाले हरेक प्रतिनिधिलाई एकै पटक तीन वटा मतपत्र प्रदान गरिने र खुल्ला सदस्यतर्फको मतपत्र आठ पेज लामो भएकोले समेत मतदानका समय लाग्ने बताए ।

मतदान राति भएका कारण पनि कतिपय प्रतिनिधिहरूले मतपत्र राम्ररी पढ्न नसक्ने समस्या उत्पन्न हुनेतर्फ ध्यान दिइएको जनाइएको छ । त्यसका आधारमा पनि मतदानमा समय लाग्न सक्ने निर्वाचन कमिटीको भनाई छ ।

प्रदेश अधिवेशनमा ९९७ प्रतिनिधि रहेका छन् । उनीहरूले पदाधिकारी तर्फ एक अध्यक्ष, एक सचिव र दुई उपसचिव चयन गर्नेछन् । 

सदस्यतर्फ झापा, मोरङ, सुनसरी, संखुवासभा, ओखलढुंगा, भोजपुर, धनकुटा र उदयपुर जिल्लाको सदस्यमा चुनाव हुँदैछ ।

चुनाव हुन लागेका जिल्लामा कुल ११६ पदका लागि २५४ जना भिड्दैछन् । 

त्यसैगरी समावेशीतर्फ एक अपाङ्ग कोटामा २, दुई मुस्लिम कोटामा ६, दुई आदिवासी खुल्लामा ४ र दुई जनजाति खुल्ला सदस्यमा ९ जना प्रतिष्पर्धामा उत्रिएका हुन् ।

उम्मेदवारहरूको अन्तिम नामावली अनुसार समावेशीतर्फ अल्पसंख्यक र आदिवासी महिलातर्फ भने सर्वसम्मत भएका छन् ।

कोशी प्रदेशका १४ वटा जिल्लाहरु मध्ये भुगोलतर्फ इलाम, पाँचथर, खोटाङ, ताप्लेजुङ र सोलुखुम्बुमा भने सबै पदमा सर्वसम्मत भएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x