कोशी

गृह प्रदेश कोशीमा पेलेर नजाने नीतिमा ओली

‘स्वस्थ प्रतिष्पर्धा गर्नु, हारजित भएपछि इगो नबनाउनु’

बाबुराम भण्डारी |
असोज १२, २०८० शुक्रबार १९:१६ बजे

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गृह प्रदेश कोशीको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै स्वस्थ प्रतिष्पर्धा गर्न आकांक्षीहरूलाई बाटो खोलिदिएका छन् । एमाले विरोधीहरूले नेता कार्यकर्ता भड्काउनका लागि आफ्नो नाम जोडेर प्रचार गर्ने गरेको प्रति उनले असन्तुष्टि समेत जनाए ।

ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि कुइनो ठोकाठोक नगरी स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गरेका हुन् । उनले प्रतिष्पर्धामा हारजित हुने कुरालाई गम्भीरताका लिनुपर्ने भन्दै हारजितपछि इगो नबनाउन समेत नेतृत्वका आकांक्षीहरूलाई आग्रह गरेका हुन् । पार्टीभित्र आजकल अस्वस्थ प्रतिष्पर्धा पनि चल्ने गरेको उनले बताए ।


सहमतिका नाममा टिके प्रथा हुर्किएको भन्दै एमालेभित्र नेता कार्यकर्ताहरूबीच असन्तुष्टि उत्पन्न हुने गरेको प्रति सजग देखिएका ओलीले पार्टीलाई अहित हुने गरी विरोधीहरूले प्रचार गरेको आरोप लगाए ।

‘आजकल अस्वस्थ प्रतिष्पर्धा पनि चल्ने गरेको छ, मेरो चैं के त भन्छन् साथीहरू, अलिक वर्ष अगाडिसम्म आन्दोलनका कुरा हुन्थ्ये, आजकल आचनाका कुरा हुने गरेका छन्,’ ओलीले भने, ‘हाम्रो पार्टी एकताबद्ध भएर जान्छ, तर एकताबद्ध हुनका लागि सर्वसम्मत भएर जान पनि सक्छ त्यो झन राम्रो हो, यदि सर्वसम्मति भएन भने बिनाबैमश्यता, बिनाकुइनो ठोकाठोक, एक अर्कालाई अल्झाउने कुरा छोडेर स्वस्थ प्रतिष्पर्धा गर्नुस्, अधिवेशन सकिएपछि हारजित भइसकेपछि त्यसलाई इगो नबनाउनुस्, विषय नबनाउनुस् र चित्त दुखाउने काम पनि नबनाउनुस् ।’

ओलीले एमालेमा चुनाव पनि हुँदैन र लोकतन्त्र छैन भनेर विरोधीहरूले हल्ला फिजाउने गरेको दाबी गरे । उनले कतिपय कुरा नेतृत्वले पनि मूल्यांकन गरेको हुने र कहीं कमीकमजोरी छन् भने सच्याउने आग्रह र सच्याउने समय दिएको हुने बताए । त्यसप्रति नेता कार्यकर्ताहरूले असहिष्णु हुनु जरुरी नभएको बताए ।

ओलीले मिसन २०८४ मा हरेक वडा र टोलमा कम्तीमा ५१ प्रतिशत एमालेको संगठन निर्माण गर्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले एमाले बाहेकका जनताको समस्या अरु कुनै पनि पार्टीले नबुझेको बताए ।

ओलीले देउवा ५ पटक र प्रचण्ड ३ पटक प्रधानमन्त्री भएर पनि देशका लागि केही काम गर्न नसकेको आरोप लगाए । आफूले तीन वर्ष सरकार चलाउँदा देशमा कायाकल्प हुने अवस्था बनेको दाबी गरे । तर, प्रचण्ड र माधव नेपालले कम्यूनिष्टका नाममा पार्टीलाई ध्वस्त पार्ने काम गरेको बताए ।

‘हामीले पार्टी जोगाउन कोसिस गर्यौं, उनीहरूलाई हदैसम्म पार्टी फुटाउने काम गरे,’ ओलीको भनाई थियो, ‘अहिले नेकपा ब्यूँताउने हावादारी कुरा गरेका हिँडेका छन्, नेता कार्यकर्ताहरू अलमल्याएका छन्, यो अधिवेशनपछि सबैलाई एमालेमा ल्याउनका लागि कुराकानी गर्नुस् ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमण पिकनिक गएजस्तो रमाइलोको लागि मात्रै भएको टिप्पणी गरे । राष्ट्रपति रामचन्द्र पौडेलले अपराधमा संलग्न कांग्रेसका कार्यकर्ताहरूलाई हतार हतार कैद माफी गर्ने काम गरेर पीडितहरूमाथि थप पीडा दिएको आरोप लगाए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x