कोशी

कोशीमा एमालेको प्रदेश अधिवेशन तयारी

१४ जिल्लाबाटै छानिए ९९७ प्रतिनिधि

बाबुराम भण्डारी |
असोज ७, २०८० आइतबार २१:१२ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो प्रदेश अधिवेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट ९९७ प्रतिनिधि छानिएका छन् । ३३४ महिला र ७१३ पुरुष प्रतिनिधिहरू छनौट भएको प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिए ।

छनौट भएका प्रतिनिधिहरू मध्ये दलितबाट ५३ र मजदुरबाट ३२ जना रहेका छन् । अधिवेशनमा सबैभन्दा धेरै प्रतिनिधि झापा जिल्लाबाट हुन् । पार्टी सदस्य संख्याको आधारमा प्रत्येक स्थानीय तहलाई एक भुगोल मानेर प्रतिनिधिहरू छनौट भएका हुन् । 


जस अनुसार झापाबाट १८१ जना प्रतिनिधि छनौट भएको जनाइएको छ । मोरङबाट १७८, सुनसरीबाट ९६ इलामबाट ७७, धनकुटाबाट ७२, खोटाङबाट ५६, ताप्लेजुङबाट ४८, तेह्रथुम ४३, ओखलढुंगा ४२, संखुवासभा ३९, उदयपुर ३६, पाँचथर ३०, भोजपुर २७ र सोलुखुम्बु १६ जना प्रतिनिधि चयन भएको सचिव पाठकले बताए । त्यसैगरी एमालेको विभिन्न २३ वटा जनसंगठनहरूबाट थप ५६ जना प्रतिनिधि चयन भएका हुन् ।

भुगोलबाट आएका प्रतिनिधि संख्याको पाँच प्रतिशत हुन आउने थप ५० जना प्रतिनिधि भने मनोनीत गर्ने जनाएको छ । ५० जना प्रतिनिधिहरू मनोनीत गर्दा प्रदेश अधिवेशनमा प्रतिनिधिको संख्या १ हजार ४७ जना पुग्ने छ । 

केही स्थानीय तहबाहेक अधिकांशमा सर्वसम्मत प्रतिनिधि चयन भएको सचिव पाठकले बताए । कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये प्रदेश अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि सुनसरीको इटहरी उपमहानगरपालिकाबाट २७ जना चयन भएका छन् । इटहरीले आइतबार मात्रै प्रतिनिधिको नाम टुंगो लगाएको हो ।

प्रदेश कमिटीले अधिवेशनका लागि असोज ५ गते प्रतिनिधिको चयन गर्ने अन्तिम समय तालिका तोकेको थियो । इटहरीपछि धेरै प्रतिनिधिहरू विराटनगर महानगरपालिकाबाट २५ जना छानिएका छन् । 

एमालेको पहिलो प्रदेश अधिवेशन सुनसरीको इटहरीमा गर्ने तय भए पनि अन्तिम समयमा विराटनगरमै आयोजना गर्न लागिएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x