कोशी

काेशी संकट : पूर्वमुख्यमन्त्रीद्वय शेरधन र राजेन्द्रबीच दुई घण्टा लामाे संवादमा के भयाे ?

सत्ता संकटले एमाले र एसबीचको संवादविहीनतामा ‘ब्रेक थ्रु’, के काेशीमा छेकिएला मध्यावधि ?

बाबुराम भण्डारी |
असोज १, २०८० सोमबार २१:३३ बजे

विराटनगर । कोशी प्रदेशको सत्ता संकटले नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच संवादविहीनतामा ‘ब्रेक थ्रु’ भएको छ । नेकपा एमालेबाट विभाजित भएपछि एउटै भूगोलका दुई फरक पार्टीका नेता बनेका पूर्वमुख्यमन्त्रीहरु शेरधन राई र राजेन्द्र राईबीच दुई घण्टा सम्वाद भएको हो ।

उनीहरुले आइतबार बेलुका सुनसरीको धरानमा लामो समयपछि सम्वाद भएको स्वीकार गरेका छन् । संवादको प्रयास भने एमाले स्थायी कमिटी सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री शेरधनले गरेका हुन् । नेकपा र त्यसपछिको एमाले विभाजनयता दुई नेताबीचको सम्वादविहिनताको अवस्था बनेको थियो ।
संवाद शुन्यता तोड्दै उनीहरुबीच कोशी प्रदेशको सत्ता समीकरणको संकटबारे कुराकानीको थालनी भएको हो ।


शेरधनले कोशी प्रदेशमा देखिएको मध्यावधिको संकटलाई टार्नका लागि आलोपालोमा मुख्यमन्त्री बन्ने गरी सहमति खोज्न राजेन्द्र राईलाई आग्रह गरेका हुन् । उनले आफूहरुबीच भेटबारे जानकारी दिंदै सरकार सञ्चालनका विभिन्न मोडलबारे केन्द्रीत भएर छलफल भएको बताए । केन्द्रीय सत्ता गठबन्धनको परिस्थितिले कोशी प्रदेशमा मध्यावधिको संकट गहिरिएका कारण त्यसको गाँठो फुकाउने प्रयासस्वरुप पहिलो चरणको कुराकानी भएको उनले जानकारी दिए ।

‘यो प्रदेशमा सरकारहरु अस्थिरतातर्फ अगाडि बढेका छन्, जसका कारण प्रदेशमाथि मात्रै नभई संघीयतामाथि नै प्रश्न उठेको छ, यी प्रश्नहरुको गतिलो जवाफ सवै राजनीतिक दलहरुले नै मिलेर दिनुपर्छ’ शेरधनले भने, ‘उठेका प्रश्नहरूलाई गलत साबित गर्न हामीहरुले सवै दलहरुबीच सहकार्य गर्नैपर्ने आवश्यकता छ, त्यसैका लागि गहिरो ढंगले कुराकानी गरेका छौं ।’ उनले पहिलो चरणको कुराकानी भएकोले राजनीतिक परिस्थितिको आंकलनमाथि बढी कुराकानी भएको बताए । 

गठबन्धनको सरकारले संविधान विपरीत विश्वासको मत लिने कार्य गर्दा संविधानको धारा १६८ को उपधारा (३) सम्म पुग्नु परेको बाध्यात्मक अवस्थाबारे उनले राजेन्द्रलाई प्रष्ट पार्न खोजेका थिए ।

आफैंले समर्थन गरेको नेपाली कांग्रेस नेतृत्वको सरकार दोस्रो पटक सर्वोच्च अदालतबाट बर्खास्त भएपछि कोशी प्रदेशको राजनीतिक परिस्थितिमा बदलाव देखिएको नेकपा एकीकृत समाजवादीभित्रै चर्चा हुने गरेको छ । चर्चाकै परिस्थितिमा आफुहरुबीच प्रदेशको विकसित राजनीतिक घटनाहरुलाई केन्द्रमा राखेर दुई घण्टासम्म कुराकानी भएको नेकपा एसका सचिव एवं अर्का मुख्यमन्त्री राजेन्द्र राईले बताए । उनले भेटघाटका क्रममा शेरधन राईको तर्फबाट आलोपालोमा सरकारको नेतृत्व गरेर जान सकिने विकल्पहरु प्रस्तुत भएको जानकारी दिए । 

‘मुख्यरुपमा सवै दलहरु मिलेर सरकार बनाउनु पर्यो भनेर वहाँले कुरा राख्नु भयो, अहिले सरकारलाई समर्थन गरेर जानका लागि स्पष्ट प्रस्ताव नै राख्नुभयो’ राजेन्द्रले भने, ‘दुई घण्टाको गफ महत्वपूर्ण नै भयो, तर ठोस निश्कर्षमै पुग्ने गरीको कुनै कुराकानी भने भएन ।’ 

उनले प्रदेशको राजनीतिक अवस्थालाई ध्यानमा राखेर भेट हुनु सकारात्मक भएपनि ठोस निश्कर्ष आउने गरी भने कुनै सहमति नभएको दाबी गरे । अहिलेसम्मको अवस्थामा नेकपा एकीकृत समाजवादी केन्द्रीय गठबन्धनमै रहेका कारण अहिलेको सरकारलाई समर्थन गरेर जान नसकिने अवस्था विद्यमान रहेकोले केन्द्रीय तहमा पनि सम्वादको सुरुवात हुनुपर्ने सुझाव दिएको जानकारी दिए । 

कोशी प्रदेशमा अहिले नै आलोपालो गर्नेभन्दा पनि १६८ को उपधारा (५) बमोजिमको सरकार गठनसम्म पुगेपछि त्यस्तो सहकार्य हुनसक्नेबारे आफूले धारणा राखेको राजेन्द्र राईले बताए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संविधानविपरित विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतबाट बर्खास्तीमा परेपछि सर्वोच्चकै परामादेशले एमालेका हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका छन् । कार्कीको मन्त्रिमण्डलमा तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

९३ सदस्यीय कोशी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न कम्तिमा ४७ मत चाहिन्छ । तर ४७ पनि सुविधाजनक बहुमत संख्या नहुने अवस्थाले सरकारलाई त्यो संख्यामाथिको बहुमत आवश्यक पर्नेछ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x