राजनीति

झापाका पालिकामा शीर्ष नेताबीच प्रतिष्ठाको लडाईँ

उपेन्द्र अर्याल |
बैशाख ३, २०७९ शनिबार १४:३४ बजे

काठमाडौं– प्रभावशाली नेताका गृह जिल्ला रहेको झापाको स्थानीय तहमा ‘बर्चश्व’ स्थापित गर्ने क्रम तातेको छ । झापा एमाले अध्यक्ष केपी शर्मा ओली,  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृह जिल्ला हो ।

नेताहरूले झापाको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय पनि बनाउने गरेका छन् । २०७४ को निर्वाचनमा झापाका १५ पालिकामध्ये ७ एमाले, ५ कांग्रेस र ३ पालिका राप्रपाले जितेका थिए ।


१५ मध्ये ७ वटा स्थानीय तहमा जितेको एमालेलाई यसपालि विभाजनको चोटले थल्याएको छ । विभाजनपछि आन्तरिक एकता बलियो छ भन्दै हिँडेको एमालेमा कार्यकर्तामा मतभेद चलिरहेकै छ ।

मेचीनगर नगरपालिकामा मेयरमा आफ्नो नाम सिफारिस नभएपछि डिल्ली घिमिरेले रुँदै पार्टी छोडेको घोषणै गरे । जसले गर्दा एमालेलाई आफ्नो पुरानो दबदबा कायम राख्न मुस्किल पर्ने देखिएको छ ।

एमाले झापा अध्यक्ष दीपक कार्की २०७४ को निर्वाचनमा जितेको भन्दा थप ४ पालिकामा जित हासिल गर्ने दाबी गर्छन् । अघिल्लो चुनावमा जितेका पालिकासहित मेचीनगर नगरपालिका, गौरादह नगरपालिका, बुद्धशान्ति र हल्दिबारी गाउँपालिका जित्ने पार्टीको आन्तरिक आँकलन रहेको उनले बताए । 

मेचीनगर नगरपालिका कांग्रेस महामन्त्री शर्माको क्षेत्रमा पर्छ । अघिल्लो चुनावमा कांग्रेसले जितेका मेचीनगरमा जित हासिल गर्ने मुख्य योजना रहेको एमाले जिल्ला अध्यक्ष कार्कीको भनाइ छ । २०७४ को निर्वाचनमा मेचीनगर नगरपालिकामा विमल आचार्यले २० हजार ७ सय ७६ मत ल्याएर विजयी भएका थिए ।
आचार्यका निकटम प्रतिद्वन्द्वी एमालेका बिष्णुप्रसाद प्रसाईले १९ हजार  १ सय ९२ मत ल्याएका थिए । महामन्त्री शर्मालाई आफ्नो पालिका जोगाउन प्रतिष्ठाकै लडाइ जस्तो बनेको छ ।

यस्तै एमाले अध्यक्ष ओलीको क्षेत्रको दमक नगरपालिकामा भने अघिल्लो निर्वाचनमा रामनाथ ओलीले राप्रपाका रामकुमार थापालाई करिब ३ हजारको मतान्तरले जितेका थिए । माओवादी र कांग्रेस भने तेस्रो र चौथो भएका थिए । यहाँ पनि गठबन्धन दल मिलेमा एमाले एक्लैले जित्न मुस्किल हुने देखिन्छ । 

तर, गठबन्धनले कसरी उम्मेदवारको बाँडफाँड गर्ने भन्ने कुरामा निर्णय नगरेकाले अन्योल देखिन्छ । गठबन्धनमा भएका दलहरू सिट बाँडफाँडका लागि निरन्तर छलफलमा छन् । १५ स्थानीय तहमध्ये १४ मा प्रमुखमा कांग्रेसले आफ्नो मतभार अनुसार दाबी गरिरहेको छ ।

कांग्रेसले उपप्रमुख र उपाध्यक्ष पद गठबन्धनका अन्य दललाई बाँडफाँड गर्नुपर्ने भनाइ राख्दै आएको छ । एकीकृत समाजवादीले पनि एमालेले जितेका पालिकाहरूमा आफ्नो दाबी गरिरहेको छ । माओवादीको पनि आफ्नै माग छन् । 

तर, गठबन्धनले पदको बाँडफाँड गर्न नसक्दा उम्मेदवारीको टुङ्गो लगाउन ढिलाइ भएको छ । एमालेले कसैसँग पनि तालमेलको निर्णय नगरेको हुनाले उसले आफ्ना उम्मेदवारहरूको टुंगो धमाधम लगाइरहेको छ ।

एमालेको १५ वटा पालिकाको तल्लो कमिटीले उम्मेदवारको सिफरिस गरिसकेको अध्यक्ष कार्कीले बताए । ‘तल्लो कमिटीबाट सिफारिस भइसकेको छ,’ उनले भने, ‘अब प्रदेश कमिटीमा गएपछि उम्मेदवारको टुङ्गो लाग्छ ।’ उनले गठबन्धन कमजोर मनोबलबाट बनेको हुँदा एमालेलाई हराउन नसक्ने दाबी गरे । 
कांग्रेसका जिल्ला सभापति देउमान थेवेले गठबन्धनका दलको कहाँ–कहाँ भाग पर्छ भनी निर्णय भइनसकेको बताए । दलहरूबीच छलफल गरेर मात्रै निर्णय हुने उनको भनाइ छ । ‘हामीलाई माथिबाट अघिल्लो निर्वाचनको मतभारको आधारमा बाँडफाँड गर्ने भन्ने निर्देशन आएको छ,’ उनले भने, ‘सोही अनुसार छलफल गरेर अगाडि बढ्छौँ ।’ 

२०७४ को निर्वाचनमा कस्तो थियो मत परिणाम ?

अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरिकुमार १३ हजार ८ सय ७९ मत पाएर विजयी भएका थिए । कांग्रेसबाट हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१, माओवादीका भूपेन्द्र नेउपानेले २५ सय ६ मत ल्याएका थिए । यस्तै संघीय समाजवादी फोरम नेपालले श्रीजलाल चौधरी ८७ मत मात्रै पाएका थिए । 

कचनकवल गाउँपालिका अध्यक्षमा राप्रपाका अन्जरा आलमले ५ हजार ८ सय १६ पाएर विजयी भएकाले थिए । नेपाली कांग्रेसबाट कालेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार, ३ सय ५३ मत ल्याएका थिए । एमालेका शेरबहादुर खत्रीले ३ हजार ९ सय ७२ ल्याएका थिए । माओवादी केन्द्रका हसनारायण राजवंशीले १२ सय ५० ल्याएका थिए ।  फोरमका मञ्जुरा राइले ५७ मत ल्याएकी थिइन् ।  

कन्काई नगरपालिकामा प्रमुखमा एमालेका राजेन्द्र पोख्रेलले ८ हजार ४ सय १६ मत ल्याएर जितेका थिए । यस्तै, नेपाली कांग्रेसका एकराज उप्रेतीले ६ हजार १ सय ९७, माओवादी केन्द्रका गोपालप्रसाद चुडालले ६ सय ३६ ल्याएका थिए । 

कमल गाउँपालिको अध्यक्ष पदमा एमालेकी मेनुका काफ्ले ८ हजार २ सय ७५ मत ल्याएर विजयी भएकी थिइन् । यस्तै, कांगेसका हुकुमसिंह राईले ८ हजार २ सय ७५ नै प्राप्त गरेका थिए भने माओवादी केन्द्रका विमलकुमार संग्रौलाले १९ सय २ मत पाएका थिए ।
 

गौराहदहमा नगरपालिकाको मेयर पदमा कांग्रेसका रोहितकुमार शाहले  १० हजार ३ सय ८ मतसहित विजयी भएका थिए ।  एमालेका  मदनप्रसाद अधिकारीले ९ हजार ८ सय ५४ मत, माओवादी केन्द्रका  पुष्पलाल ढकालले ३ हजार ४ सय २८ मत पाएका थिए । राप्रपाले  ६१४ मत ल्याएको थियो । 
 

गौरीगञ्ज गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठले ३ हजार ७ सय ४० विजयी भएका थिए । कांग्रेसका फुलवती राजवंशीले ३ हजार ४ सय ५३ पाएकी थिइन् । यस्तै माओवादीबाट विद्यानन्दसिंह राजवंशीले ३ हजार ३ सय ५३  मत ल्याएका थिए । एमालेका श्यामकुमार ढकालले २ हजार ७ सय ५७ मत पाएका थिए । 

झापा गाउँपालिकामा कांग्रेसका जयनारायण शाहले ४ हजार ३ सय ९३ मत ल्याएर विजयी भएका थिए । एमालेबाट गजेन्द्र ताम्लीले ३ हजार ७ सय ८९,  माओवादीका रुद्र बजगाईले ३ हजार ४ सय ९९ मत ल्याएका थिए । 

दमक नगरपालिकाको प्रमुखमा एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याएर विजयी भएका थिए । यस्तै, कांग्रेसका ढुण्डिराज भण्डारीले ५ हजार ५ सय ३९, माओवादी केन्द्रका रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याएका थिए भने राप्रपाका रामकुमार थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । 

बाह्रदशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खड्गप्रसाद राजवंशीले ५ हजार ५ सय ३९ मत ल्याएर विजयी भएका थिए । एमालेका लक्ष्मण पाठकले ५ हजार १ सय ११, माओवादी केन्द्रका देवीप्रसाद ओझाले १ हजार ७ सय ९, राप्रपाका भिमबहादुर राईले  १ हजार ४ सय १४ मत पाएका थिए । 

बुद्धशान्ति गाउँपालिकाको प्रमुखमा कांग्रेसका रमेशकुमार भुजेलले ७ हजार ९ सय ९६ ल्याएर विजयी भएका थिए । एमालेका तिलचन पाठकले ७ हजार ३ सय ५३, माओवादीका खड्गबहादुर तिम्सिनाले २ हजार ६६ मत ल्याएका थिए ।

भद्रपुर नगरपालिकाको मेयरमा एमालेका जीवनकुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५, माओवादीका शिव कुमार राजभण्डारीले ४ हजार १ सय ३४ ल्याएका थिए ।

मेचीनगर नगरपालिकाको नगरपालिकामा विमल आचार्यले २० हजार ७ सय ७६ मत ल्याएर विजयी भएका थिए । एमालेका विष्णुप्रसाद प्रसाईंले १९ हाजरा १ सय ९२ मत ल्याएका थिए भने माओवादीका हसलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याएका थिए ।

शिवसताक्षी नगरपालिकामा एमालेका चन्द्रकुमार शेर्माले १३ हजार ४ सय ३९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका पर्शुराम ढुंगानाले ८ हजार ९ सय ८४, माओवादीका महेन्द्र भट्टराईले ३ हजार २ सय ४१  ल्याएका थिए । 
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x