राजनीति

टिप्पणी

प्रतिक्रियात्मक भएर थाकेपछि क्रियात्मक रणनीति बुन्दै नेपाल-खनाल समूह

ओलीलाई २०५३ सालको देउवाको नियतिमा पुर्‍याउने लक्षण देखिँदै छ

चन्द्रशेखर अधिकारी |
चैत १, २०७७ आइतबार २०:२१ बजे

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओली यता जनता समाजवादी पार्टी टुक्र्‍याउन खोज्दैछन् । उता उनकै पार्टी एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूह चाहिँ ‘ओली-दम्भ’ अन्त्य गर्न जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने रणनीति बुन्दैछन् ।

‘तपाई यत्ति बुझ्‍नुस् कि ओलीले जसरी जसपा टुक्र्याएर साथ लिएपछि ठ्याक्कै संख्या पुर्‍याउँछु भन्‍ने ठानेका छन् भने त्यो चाहना कुनै पनि हालतमा पूरा हुन दिँदैनौँ’ नेपाल-खनाल समूहका एक नेताले इकागजसँग भने, ‘जसपा फुटाउँदै संख्या पुर्‍याउने दाउ रचिन्छ भने दुई-चार मत नपुर्‍याउने खेल यताबाट हुन्छ । उता ओलीले जसपासँग मिलेर मत पुर्‍याउन खोज्छन्, यता हामी उनलाई मत नपुग्ने अवस्था बनाउँछौं । हामी ओलीको दम्भ तोड्न जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ ।’


सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा पुर्‍याउँदै एमाले बिउँताएपछि नेपाल-खनाल समूह राजनीतिक हिसाबले संकटमा परेको छ । उनीहरू एमालेमै छन् । तर उनीहरूसँग कुनै सोधपुछ नगरीकन प्रदेश इन्चार्ज तोक्नेदेखि केन्द्रीय सदस्य मनोनित गरेपछि ओलीको एकल निर्णयमा सरकार टिकाउने योजना बुनिँदै छ ।

नेपाल-खनाल समूह पनि बदलाको धूनमा छ । यतिखेर उनीहरूले रणनीतिक हिसाबले मौन नीति अपनाइरहेका छन् ।

ओलीले त्यो समूहका नेताहरूसँग सम्पर्क गरेका छैनन्, संवाद त टाढाकै सवाल रह्यो । त्यतिमात्र होइन, ओली सार्वजनिक रूपमै त्यो समूहको तीखो आलोचना गर्दैछन् । त्यहीकारण नेपाल-खनाल समूह पनि बदलाको धूनमा छ । यतिखेर उनीहरूले रणनीतिक हिसाबले मौन नीति अपनाइरहेका छन् । त्यतिमात्र होइन, सरकारकै पक्षमा उभिएको सार्वजनिक मत देखाउँदै छन् । तर ओली-पेलान र दम्भबाट आजित त्यो समूहले जसरी पनि उनलाई सत्ताबाट किनारा लगाउने भित्री दाउमा छ ।

उनीहरू संसद्को लडाइँ संसद्‍भित्रै लड्ने र पार्टीको लडाइँ पार्टीभित्रै लड्ने योजना छन् । तिनकै भनाइमा, ‘पार्टीतिर राजनीतिक लडाइँ हुन्छ, संसद्‍भित्र गणितीय लडाइँ ।’ अर्थात्, नेपाल-खनाल समूह पनि ओली जसरी तह लगाउने दाउमा छन् । यद्यपि उनीहरू अविश्‍वास प्रस्ताव राख्‍ने पक्षमा देखिँदैनन् ।

‘म पानीमा भिज्‍न सक्छु भन्‍ने घमण्डसहित किन अनावश्यक रूपले रुझेर बस्‍ने ? नयाँ सरकारलाई अन्तैबाट मत पुग्छ भने किन हामी रुझ्‍न जाने ?'

कुनै दलले अविश्‍वास प्रस्ताव राखेको र कुनै हिसाबले मत नपुगेको खण्डमा त्यो पनि पुर्‍याउने योजनामा त्यो समूह देखिन्छ । ‘कांग्रेस, माओवादी र जसपाकै समीकरणले मत पुग्छ भने किन सिँगौरी खेल्न जाने ?’ ती नेताले भने, ‘तीन दलले ओली तह लगाउन मत पुर्‍याएनन् भने मात्रै हाम्रो दाउ प्रयोग हुन्छ । हाम्रो योजना संसद्‍भित्र रहँदै संघर्ष गर्ने हो । ओली जालझेल-कपटपूर्ण राजनीति गर्छन् भने हामीले पनि किन त्यसो नगर्ने ?’ 

एमालेले पुनर्जीवन पाएपछि त्यो दलसँग यतिखेर १२० सांसद छन् । ओलीले दुई निलम्बितसहित ३४ सांसद भएको जसपालाई विभाजित गरी सत्ता टिकाउन खोज्दैछन् । सत्ता समीकरणका निम्ति जसपा यतिखेर निर्णायक शक्ति बनेको छ । उसले जसपाका सांसदहरूलाई मन्त्रिपरिषद्‍मा ठूलो भाग दिँदै फकाउँदैछन् । त्यसो त, सत्ता टिकाउन ओलीले कुनै पनि प्रपञ्‍च बाँकी राखेका छैनन् ।

‘तीन दलले ओली तह लगाउन मत पुर्‍याएनन् भने मात्रै हाम्रो दाउ प्रयोग हुन्छ । हाम्रो योजना संसद्‍भित्र रहँदै संघर्ष गर्ने हो । ओली जालझेल-कपटपूर्ण राजनीति गर्छन् भने हामीले पनि किन त्यसो नगर्ने ?’ 

उनले माओवादीका नेतालाई आकर्षक पद दिलाउँदै, खुसी पार्दै र अरु पनि संख्या तान्‍ने खेलमा छन् । ओली समूहमा प्रवेश गर्ने पूर्वमाओवादी नेताहरूलाई मन्त्री मात्र होइन कि प्रदेश इन्‍चार्ज पनि सजिलै दिए । त्यसो त, ओलीको प्रयोग रणनीतिअनुरूप तिनले आकर्षक पद पाएका हुन् । तर, चुनावका बेला तिनलाई ठेगानमा पुर्‍याइदिन्छन् भन्ने अनुमान सजिलै गर्न सकिन्छ ।

अरु दल मिल्दै सरकार बनाउँछन् भने नेपाल-खनाल मौन नै रहनेछन् । अरु दल मिल्दा गणितीय अंक पुगेन भने मात्रै संख्या पुर्‍याउने योजना छ । तीन दल मिल्दै नयाँ सरकार बनाए भने नेपाल-खनालले त्यो बिन्दुमा पुग्नै पर्दैन ।

‘म पानीमा भिज्‍न सक्छु भन्‍ने घमण्डसहित किन अनावश्यक रूपले रुझेर बस्‍ने ?’ ती नेताले भने, ‘नयाँ सरकारलाई अन्तैबाट मत पुग्छ भने किन हामी रुझ्‍न जाने ? नयाँ सरकारलाई आवश्यक मत पुगेन भने हामी मत दिन्छौं । जहाँ आवश्यक पर्छ, त्यहीँ प्रयोग गर्दा मात्रै मूल्य बढी हुन्छ र अर्थ पनि हुन्छ ।’ तर, ती एमाले नेताले भने जसरी ‘ह्वीप’ उल्लंघन गरी अर्काे दललाई मत दिन सजिलो छैन । त्यस निम्ति सांसद पद धरापमा पर्नेछ ।

दल त्याग ऐनअनुरूप संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले सङ्घीय संसद्को कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन (ह्वीप) जारी गर्न सक्छ । ह्वीप जारी भएपछि ‘सरकारको विश्वास वा अविश्वासको प्रस्ताव’मा दलको निर्णयअनुरूप चल्नुपर्छ ।

दल त्यागपछि स्वतः सांसद पद रिक्त हुन पुग्छ । यसमा सभामुखले दल त्यागसम्बन्धी सूचना घर्रामै अल्झाउन पनि सक्छन् कि भन्‍ने आँकलन छ ।

‘ह्वीप उल्लंघन’कर्तालाई संसदीय दलले सभामुख र सचिवालयलाई सूचना दिएको पन्ध्र दिनसम्म सदन चलेको बखत संसद्‍भित्रै र अरु बेला सूचना टाँस्दै दल त्यागेको जानकारी गराउन सक्छ । दल त्यागपछि स्वतः सांसद पद रिक्त हुन पुग्छ । यसमा सभामुखले दल त्यागसम्बन्धी सूचना घर्रामै अल्झाउन पनि सक्छन् कि भन्‍ने आँकलन छ । दल त्याग सूचना प्रकाशित नगरेसम्म त्यो कार्यान्वयन हुँदैन । तर त्यसरी सभामुखले सूचना रोक्न सक्ने अवस्था विवादित बन्‍न सक्छ ।

२०५३ फागुन २३ मा शेरबहादुर देउवा सरकारले विश्‍वासको मत लिँदा कांग्रेसकै दुई सांसदको अनुपस्थितिमा सरकार ढलेको इतिहास हामीसँग छ । विश्‍वासको मतका निम्ति १०३ मत चाहिन्थ्यो । तर कांग्रेसका सांसदद्वय चक्रबहादुर शाही र दीपकजंग शाहको अनुपस्थितिका कारण असफल देउवाको पक्षमा १ सय १ पुगेपछि देउवा राजीनामा गर्न बाध्य भएका थिए ।

प्रतिनिधि सभा पुनःस्थापना भएको एक महिना छुन लाग्दा पनि नयाँ सरकार बन्ने छाँटकाँट छैन । अझसम्म कांग्रेस-माओवादी र जसपा समीकरण बन्‍ने लक्षण देखापरेको छैन । कांग्रेसले पनि जसपासँग प्रारम्भिक चरणको वार्ता गर्‍यो । तर उनीहरूसँगको वार्ताबाट कांग्रेस उत्साहित छैन । 

जुन तयारीले ओलीलाई २०५३ सालको देउवाको नियतिमा पुर्‍याउने लक्षण देखिँदै छ । 

त्यहीकरण कांग्रेसले सत्ता-समीकरणका सवालमा सुस्त रणनीति अपनाएको छ । ‘सक्रिय रूपले सरकार निर्माणको बाटोमा लाग्दा अंक गणितले साथ नदिँदा हामीबीच बाटोमै रोकिनुपर्‍यो भने राम्रो हुन्‍न’ देउवा निकट कांग्रेसका एक नेताले इकागजसँग भने, ‘भित्र राम्रोसँग कुनै चिज पाकेको छैन । सरकार बन्‍ने सुनिश्‍चितता नभइकन कांग्रेस अघि नबढ्ने रणनीतिमा छ ।’

कता कति जसपाको एक खेमा र माओवादी केन्द्रबीच एकता हुनसक्ने अवस्था पनि छ । समाजवादी भन्‍ने कुरा माओवादीको नाममा परे त्यो पनि हुन सक्ने एक नेताले बताए । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर माओवादी केन्द्रको नाम परिवर्तसँगै सहकार्य हुने र त्यसरी सहकार्य हुँदा जसपाको अर्को पक्ष ओलीसँग मिल्दा पनि बहुमत नपुग्‍ने गरी यताको तयारी छ । जुन तयारीले ओलीलाई २०५३ सालको देउवाको नियतिमा पुर्‍याउने लक्षण देखिँदै छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x